खस्न थाल्यो साततले दरबार, अस्तित्व नै मेटिने आशंका



नुवाकोट । देशको मुख्य ऐतिहासिक सम्पदाहरुको सूचीमा पर्छ नुवाकोटको साततले दरबार क्षेत्र । विदुर नगरपालिका २ मा पर्ने भूकम्पले भत्काएको यही सम्पदाको पुनःनिर्माणमा सरकारको चासो नपुग्दा यसको अस्तित्व नै मेटिने आशंका उब्जिएको छ । 

भूकम्पले भत्काएको ४१ महिनासम्म पनि सम्पदा पुनःनिर्माणमा सरकारको ध्यान नपुग्दा अलिअलि जोगिएको सम्पदाहरु पनि नाश हुन थालेको छ । भूकम्पले नुवाकोट दरबार क्षेत्रको मुख्य आकर्षण मानिएको साततले दरवारलाई चिराचिरा बनाएर चर्काएको छ भने रंगमहल, गारद घर, भैरवी मन्दिर, तुलजा भवानीको मन्दिर, नारायण मन्दिर लगायतको सम्पदाहरु भत्काएको थियो । 

भूकम्पले भत्काएको बेलामा खासै क्षति नभएको संरचना पनि भूकम्पपछिको चार बर्खामा स्याहार्न नसक्दा भत्किँदै गएको विदुर नपा २ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले बताए । “भूकम्पछि तत्काल नेपाल सरकारले चासो दिएर भएको सम्पदा जोगाउन मात्र ध्यान दिएको भए अहिलेको जति क्षति हुने थिएन,” वडाध्यक्ष शाहीले भने – “भूकम्पले जीर्ण बनेको सम्पदालाई जोगाउन चासो नदिँदा वर्षात्को पानीले भत्कायो ।” 

भूकम्पले माथिल्लो एक तला मात्र भत्किएको तुलजा भवानीको मन्दिर रहेको दरबार वर्षात्को पानीबाट जोगाउन नसक्दा भत्किएको छ । गत वर्ष साउनमा मन्दिरको उत्तरपट्टि पाखोको जगैसम्म भत्कियो । “तत्काल पुनःनिर्माण गर्न नसकेको भए पनि भूकम्पले भत्काएपछि मन्दिरभित्र वर्षात्को पानी मात्र रोक्न सकेको भए भत्किने थिएन,” नुवाकोट सम्पदा मञ्चका अध्यक्ष पुष्कर शर्मा रिमालले भने । 

नुवाकोट दरवार क्षेत्रको ऐतिहासिक सम्पदाहरु भूकम्पले कम सरकारको बेवास्ताका कारण बढी भत्किएको स्थानीय बासिन्दाको आरोप छ । भूकम्पले थोरै भत्काएका सम्पदाहरुलाई जोगाउन सरकारको बेलैमा ध्यान नपुग्दा बर्खाको पानीले भत्काउँदै माटोमै मिलाउन थालेको रिमालले बताए । भूकम्प गएको चार वर्ष पुग्न लाग्दा पनि नुवाकोटको पुरातात्विक महत्वको सम्पदा कहिले बन्छ भनेर कसैलाई थाहा छैन । वडाध्यक्ष शाहीले भने – “चीन बनाइदिन्छ भन्ने सुनेका छौं । पुरातत्व विभागका अधिकारीहरु आउँदा पनि चीनले बनाइदिन्छ भन्छन् । तर, कहिले बनाउन थाल्ने हो उनीहरुले नै थाहा नभएको बताउँछन् ।” 

नुवाकोटका प्रमुख पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको पुनःनिर्माणले गति लिन नसक्दा अस्तित्व नै समाप्त हुने हो कि भन्न भय सिर्जना भएको छ । भूकम्पपछिका चार बर्खा झेल्नुपर्दा सम्पदा संकटमा परेको हो । काष्ठकलामा अनुपम नमूना मानिएको दरबार र मन्दिरमा कुँदिएका कलात्मक टुँडालहरु कुहिसकेका छन् । सयौं वर्ष अघि कुँदिएका यी काष्ठकलालाई जोगाएर भावी पुस्तालाई हस्तान्तरण गर्न नसके आउँदो पुस्ताले पक्कै धिक्कार्ने छ भन्छन् स्थानीय ईन्द्रबहादुर पण्डित । 

भूकम्पले माथिल्लो तला मात्र भत्काएको तुलजा भवानीको मन्दिर भत्किइसकेको छ । यस्तै, साततले दरबारको प्राङ्गणमा रहेको गारद घर पनि भूकम्पले माथिल्लो तला मात्र भत्काएको थियो । बर्खामा जोगाउन नसक्दा गारद घरको अस्तित्व अब माटोमा मिल्न मात्र बाँकी छ । हाम्रा आफ्नो ऐतिहासिक सम्पदा हामी आफैंले पुनःनिर्माण गर्न नसक्ने भएमा विदेशीलाई दिने हो । विदेशीलाई दिने भनिए पनि बेलैमा सरकारले पहल गर्नुपथ्र्यो तर, त्यसो हुन सकेको छैन । 

भूकम्पले जीर्ण बनाएको साततले दरबार टेकोले धानेर अड्याइएको छ । लगातारको झरीका कारण दरबारको छानाका झिँगटी मात्र नभई माथिल्लो तलाका ईंटाहरुसमेत खस्न थालेका छन् । चीन सरकारले बनाइदिने भने पनि कहिलेदेखि यसको काम शुरु हुने हो भन्ने थाहा नभएको पुरातत्व विभागको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुयाँलले बताए । “चीनले दशैंपछि पुनःनिर्माण थाल्ने भनेको जानकारी आएको छ तर, दशैंपछि साँच्चै शुरुआत होला भन्ने यकिन जानकारी मलाई पनि छैन,” उनले भने – “यहाँको अवस्थाको बारेमा पटक पटक विभागमा जानकारी गराएको छु । मेरो काम नै जानकारी गराउने र यहाँको भत्किँदै गएको सम्पदाहरु टुलुटुलु हेरेर बस्ने मात्र भएको छ ।” 

प्रतिक्रिया दिनुहोस्