भाद्र १७ गतेसम्म कर नतिरे चलचित्र हलमाथि कारवाही हुने



काठमाडौं : काठमाडौं महानगरपालिकाको राजस्व विभागले भदौ १७ गतेसम्म चलचित्र हलहरूले कर नतिरे नियमानुसार कारबाही हुने चेतावनी दिएको छ। चलचित्र हलहरूले मनोरञ्जन शुल्कबापतको कर बुझाउन चासो नदेखाएपछि विभागले एक सूचना जारी गर्दै भदौ १७ गतेसम्म चलचित्र हलहरुलाई सम्पर्कमा आउन आग्रह गरेको हो।

महानगरभित्र ४२ वटा सिनेमा हल छन्। जसमध्ये गएको वर्ष (आर्थिक वर्ष २०७५/०७६) मा ४ वटा हलले मात्र कर तिरेको महानगरले जनाएको छ। जारी गरिएको सूचनामा  सूचनाको ख्यान नगरी  भदौ १७ गतेसम्म कर नबुझाए  चलचित्र हलहरूलाई नियमानुसार कारबाही हुने व्यहोरा उल्लेख गरिएको छ।  

                           चलचित्र घरहरुलाई मनोरञ्जन कर तिर्न आउने सम्बन्धी अत्यन्त जरुरी

प्रदेश नं. ३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम चलचित्र घरहरुले चलचित्र प्रदर्शन गर्दा प्रति टिकट बिक्रीमा मनोरञ्जन कर बापत लिएको ५५ ले हुन आउने रकम प्रत्येक महिना समाप्त भएको मितिले २५ दिनभित्र काठमाडौं महानगरपालिकामा बुझाउनु पर्दछ ।

यसै व्यवस्थाबमोजिम चलचित्र घरहरुलाई कर रकम बुझाउन पटक पटक पत्राचार गरि सकिएको छ । यति गर्दा पनि अहिलेसम्म पनि आर्थिक वर्ष २०७५÷०७६ मा मनोरञ्जन कर बापत दर्शकहरुबाट लिएको रकम स्थानीय सरकार (यस काठमाडौं महानगरपालिका) मा दाखिला हुन नआएकोले यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ । यसै सूचनासँगै सम्बन्धित चलचित्र घरहरुलाई आफूले चलचित्र प्रदर्शन गर्ने क्रममा बिक्री गरेको टिकटको विवरणसहित भाद्र १७ गते (भाद्र ३ गतेबाट १५ दिनभित्र) मंगलबारभित्र काठमाडौं महानगरपालिकाको राजस्व विभाग, बबरमहलमा सम्पर्क गरी मनोरञ्जन कर बुझाउनु हुन अनुरोध गरिन्छ । ऐनको दफा ४ (३) बमोजिम गत आर्थिक वर्षको बक्यौता रकमसमेत भुक्तानी गर्नुपर्नेछ ।

यो सूचनाको ख्याल नगर्ने तथा दर्शकहरुसँग मनोरञ्जन कर बापत असुल गरी सकेको कर रकम स्थानीय सरकारलाई नबुझाउने चलचित्र घरहरुलाई नियमानुसार कारबाही हुने व्यहोरा समेत यसै सूचनाबाट जानकारी गराईन्छ ।

काठमाडौ महानगरपालिका 

नगर कार्यपालिकाको कार्यालय

राजस्व विभाग

प्रतिक्रिया दिनुहोस्