एभिसी सेन्ट्रल जोन भलिबलः किर्गिस्तानसँग नेपाल पराजित



काठमाडौं : एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाली टोली पराजित भएको छ।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा सोमबार भएको पहिलो खेलमा नेपाल किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो।

नेपाललाई किर्गिस्तानले २५–२३, २५–२२ र २५–२२ को सेटमा पराजित गर्यो। जितसँगै समूह ‘ए’ मा २ अंक जोडेको किर्गिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ। किर्गिस्तानले अब मंगलबार माल्दिभ्ससँग खेल्नेछ।

नेपाललाई भने सेमिफाइनलमा पुग्न अन्तिम खेल जित्नै पर्ने भएको छ। नेपालले बुधबार माल्दिभ्ससँग खेल्नेछ। प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा तुर्केमिनिस्तानले अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ।

प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्केमिनिस्तान र उज्वेकिस्तान गरि ७ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्