नेकपामा नयाँ समीकरण



काठमाडौं : सत्तारूढ नेकपाभित्र पार्टीमा नयाँ धुव्रीकरण देखा परेको छ। पार्टीमा मुख्य तीन धार (केपी ओली, पुष्पकमल दाहाल र माधव नेपाल) भए पनि एजेन्डागत निर्णयमा दुई धार देखिँदै आएको छ। नेताहरूले आफ्नो ‘पोजिसन’ ख्याल गर्दै बेलाबेलामा दुई धारको समीकरण बनाउँदै आएका छन्। साउन ३१ र भदौ १ मा बसेको सचिवालय बैठकपछि नेकपाभित्र नयाँ समीकरण निर्माण भएको हो।

बैठकपछि अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेताहरू वामदेव गौतम, ईश्वर पोखरेल, महासचिव विष्णु पौडेललगायत नेताहरूको एउटा कित्ता र वरिष्ठ नेता माधव नेपालको एक्लो कित्ता देखा परेको छ।

सचिवालयकै नेता नारायणकाजी श्रेष्ठ कतै खुलेका छैनन्। अर्का नेता रामबहादुर थापाले ओली–दाहाल एकतामै जोड गरेका छन्। नौ सदस्यीय सचिवालयको पछिल्लो समीकरणले वरिष्ठ नेता नेपाल एक्लो परेका मात्र छैनन्, १५ महिनादेखि पार्टीमा रहँदै आएको तेस्रो मर्यादाक्रम पनि खोसिएको छ।

‘पार्टीभित्रको शक्ति केन्द्रमा तरलीकृत हुने क्रम विगतदेखि नै भइरहेकै छ। पछिल्लो सचिवालय बैठकबाट पार्टीमा नयाँ समीकरण देखापरेको छ,’ स्थायी समिति सदस्य देवेन्द्र पौडेलले अन्नपूर्णसँग भने, ‘सचिवालयको निर्णयबाट सिनियर नेताहरूले कोस“ग मिल्दा पार्टीभित्र आफूलाई सहज हुन्छ, उतैतिर मिलेर पोजिसन बनाउन खोजेजस्तो देखिएको छ।’

अध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता नेपालका अलगअलग तीन धार छन्। त्यसमध्ये पार्टी एकतायता नै ओली र नेपालका दुई धार अहिलेसम्म ‘परस्पर विरोधी’ देखिएका छन्। अध्यक्ष दाहालले भने कहिले ओलीसँग त कहिले नेपालसँगको गठजोड गर्दै आएका छन्। पछिल्लो सचिवालय बैठकपछि नेपाल एक्ला देखिएका छन् भने ओली–दाहाल मिलेका छन्। यो पटक नेकपाभित्रको समीकरण निर्माणमा नयाँ ढंगले धुव्रीकरणको विकास भएको छ। वरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतमकै नाफाघाटालाई लिएर धार बनाउने–भत्काउने क्रम चलेको छ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले पछिल्ला दिनमा पार्टी सचिवालयमा आफू अप्ठ्यारोमा परेको ठानिरहेका थिए। अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम सहितका नेताहरूको एउटा धुव्र बनिरहेको विषयमा ओली जानकार थिए।

आफू विदेशमा रहेका बेलासमेत आफूइतर नेताहरूको भेटघाट र छलफलका विषयमा उनी ‘अपडेट’ भइरहेकै थिए। यस्तो बेला उनलाई सचिवालयमा साथ दिनेमा नेता पोखरेल र महासचिव पौडेल मात्र थिए। गृहमन्त्री रामबहादुर थापा आफू र अर्का अध्यक्षबीच रहेर ‘तटस्थ’ को भूमिका खेलिरहेका थिए।

‘पार्टीभित्र आफू इतर शक्तिहरूको धु्रवीकरण भत्काउनु र आफ्ना लागि सहज वातावरण निर्माण गर्ने खोजीमा प्रधानमन्त्री ओली हुनुहुन्थ्यो। गौतमलाई उपाध्यक्ष दिने र खनालको वरीयता पुनर्बहाली गर्ने विषय उहाँले पछिल्लो सचिवालय बैठक प्रयोग गर्नुभयो,’ नेकपाका अर्का एक स्थायी समिति सदस्यले भने, ‘यसमा ओली सफल हुनुभयो, दाहालसम्मलाई एउटै धु्रवमा समेट्न सफल हुनुभयो।’

भित्री सहमति !

पछिल्लो समीकरण नेताहरूकै सहमतिअनुसार भएको हो। अध्यक्षद्वय ओली र दाहाल, नेता गौतम, खनालबीच भित्री सहमतिपछि नेकपाभित्र नयाँ समीकरण बनेको नेताहरू बताउँछन्।

ओलीलाई पाँच वर्षकै लागि सरकारको नेतृत्व, दाहाललाई पार्टीमा कार्यकारी अध्यक्ष, गौतमलाई विधान संशोधन गरेर उपाध्यक्ष पद सिर्जना गरी उपाध्यक्षसहित संगठन विभाग दिने र झलनाथ खनाललाई वरीयता तथा नीति अध्ययन प्रतिष्ठानको जिम्मेवारी दिने समझदारीपछि नेकपाभित्र नयाँ समीकरण सम्भव भएको हो।

यो समीकरणपछि प्रधानमन्त्री ओलीले आइतबार संसदमा सम्बोधन गर्दै अर्को चुनावसम्म आफू प्रधानमन्त्री रहिरहने बताएका थिए। नेकपा स्रोत भन्छ, ‘अब ओलीले दाहाललाई कार्यकारी अध्यक्षको जिम्मा दिनेछन्।’ सिंगापुरबाट उपचार गरेर फर्केपछि आफूलाई अध्यक्षको जिम्मेवारी दिनेमा दाहाल विश्वस्त छन्।

प्रधानमन्त्री ओलीलाई सोमबार बिहानै बालुवाटारमा भेटेका दाहालले ओलीबाट सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएका थिए।

नेताहरूको भित्री सहमतिअनुसारका पोजिसन कार्यान्वयनको चरण पनि नेकपाभित्र सुरु भइसकेको छ। खनालको वरियता आइतबारको सचिवालय बैठकले मिलाएको छ। सचिवालयले अब बस्ने स्थायी समिति बैठकमा नेता गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव लैजानेछ।

नेताहरूको नाफा घाटा

प्रतिनिधिसभा चुनावमा पराजित र पार्टी एकतापछि पनि खास जिम्मेवारीमा नरहेका नेता वामदेव गौतमलाई पछिल्लो समीकरणबाट सबैभन्दा बढी फाइदा भएको छ। कुनै जिम्मेवारी नहुँदा उनी पार्टी अध्यक्ष ओलीसँगै असन्तुष्ट थिए।

पछिल्लो सचिवालय बैठकपछि ओलीले गौतमलाई विधान संशोधन गरेर उपाध्यक्ष पदसहित संगठन विभागको प्रमुख दिने निर्णय गराएका छन्। ओलीपछि तत्कालीन एमालेभित्र आफ्नो समूहको संगठनात्मक उत्तराधिकारी गौतम बन्ने सन्देशसहित उनले गौतमलाई अगाडि सारेको नेकपा नेताहरू बताउन थालेका छन्।

‘एमालेभित्रको संगठनात्मक लिडरमा वामदेवलाई साथ लिने गरी ओलीले तयारी गरेको देखिन्छ,’ एक नेताले भने, ‘वामदेवको पुनरागमनभित्र ओलीले आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्दा गौतमले खेलेको भूमिका र उनलाई दिएको विगतको वचन कार्यान्वयनका रूपमा आएको जस्तो देखिन्छ।’

वरिष्ठ नेता खनाललई पनि पछिल्लो समीकरणले फाइदा भएको छ। विगत १५ महिनायता उनले पार्टीभित्र गुमाएको वरीयता फिर्ता पाएका छन्। पहिले छलफलसमेत गर्न नचाहने ओली–दाहाल दुवैको प्रस्तावमा उनलाई पार्टीमा तेस्रो वरीयता मिलेको छ। नीति अध्ययन प्रतिष्ठानको प्रमुख पनि उनैले पाएका छन्।

ओलीसँग भएको सहमति कार्यान्वयनमा आए अध्यक्ष दाहाललाई पनि पछिल्लो समीकरणले फाइदा पु-याउने देखिन्छ। पार्टी एकतापछि अध्यक्ष भए पनि व्यवहारतः ओलीका सहयोगी या सहअध्यक्षको भूमिकामा मात्र देखिएका दाहाललाई पार्टीको कार्यकारी भूमिका मात्र मिल्नेछैन, बैठकको अध्यक्षता नै गर्ने अवसर मिल्नेछ। नेताहरू ईश्वर पोखरेलले पनि रोजेकै विभागको नेतृत्व पाएका छन्।

समीकरणले सबैभन्दा घाटा नेता नेपाललाई भएको छ। उनको पार्टीभित्रको वरियता मात्र घटुवा भएको छ भने सचिवालयमा आफूसँग रहेको समीकरण भत्केको छ। पार्टी सचिवालयमा झन्डै उनी अहिले एक्ला देखिन पुगेका छन्।

उनले आइतबारको सचिवालय बैठकको कार्यविभाजनसँग सम्बन्धित निर्णयमा भने फरक मत राख्ने तयारी गरिरहेका छन्। यसअघि पनि उनले प्रदेश पदाधिकारी चयनमा फरक मत राखेका थिए। ओलीलाई भने आफूसँग असन्तुष्ट नेताहरूलाई कार्य विभाजनमा सहज व्यवस्थापन गर्न अवसर मिलेको छ। त्यस्तै पार्टीमा एकता गर्दाको आलोपालो सरकारको नेतृत्वका विषयमा आइपर्न सक्ने ‘टाउको दुखाइ’ को समस्या समाधान भएको नेकपा नेताहरू बताउँछन्। अन्नपूर्णपोष्ट दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस्