पदाधिकारी छान्न नारायणकाजी बाधक !



काठमाडौं । नेकपा (माओवादी केन्द्र)मा नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ प्रभावशाली देखिएका छन्। यतिसम्म कि उनकै कारण पदाधिकारी टुङ्गो लागेको छैन। पदाधिकारीमध्येमै पर्ने महासचिवमा दाबेदारमध्येका एक नेता जनार्दन शर्मा मात्र नभई ‘अरू पनि छन्’ भनेर श्रेष्ठले भनेपछि पदाधिकारी टुङ्गो लगाउने विषय पेचिलो बनेको हो।

१९ असारमा केन्द्रीय समिति बैठक बस्नुभन्दा अगाडि बसेको पूर्वस्थायी समिति सदस्यहरूको बैठकमा दाबेदारमध्येकै एक नेता वर्षमान पुनले महासचिवमा शर्माले छाड्ने बताएका थिए। महासचिवमा सर्वसम्मति नभएकै कारण पदाधिकारीले पूर्णता पाउने स्थिति नभएको र त्यसले पार्टीका नेता, कार्यकर्तादेखि जनतामा राम्रो सन्देश नगएको भन्दै शर्मालाई छाड्ने नेता पुनले बताएको बैठकमा सहभागी एक नेताले बताए ।

‘महासचिवमा मेरो दाबी छाड्छु । स्थानीय तह निर्वाचनको परिणाममा पनि पदाधिकारी नटुङ्गिएकै कारण असर गर्‍यो भन्ने आएको छ’, पुनको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘तपाईं (जनार्दन शर्मा) नै हुनुहोस् । पदाधिकारी नटुङ्गिँदा नेता, कार्यकर्तादेखि जनतामा राम्रो सन्देश गएन । र, पार्टीलाई अनिर्णित नबनाऔँ ।’

महासचिवका मुख्य दाबेदार पुन र शर्मा नै हुन् । अन्य दाबेदारमा नेता हरिबोल गजुरेल, प्रवक्ता कृष्णबहादुर महरा, देवप्रसाद गुरुङ र पम्फा भुसाल हुन् । तर, पुनले पार्टीलाई अनिर्णयको बन्दीमा नराख्ने भन्दै महासचिव त्याग्न तयार भएपछि नेता गजुरेलले सहमतिअनुसार शर्मा भए आफू दाबीबाट पछि हट्न तयार रहेको बताएका थिए ।

त्यसपछि नेताहरू महरा, भुसाल र गुरुङले पनि निर्वाचन प्रणालीमा नजाने र सर्वसम्मतिमा भए दाबी रहने बताएका थिए। यद्यपि, उनीहरूले पनि शर्माकै नाममा अन्य नेताहरूको सहमति भए महासचिवको दाबीबाट अलग हुने बताएका थिए।

ती नेताका अनुसार बैठकमा पार्टी अध्यक्ष प्रचण्डले महासचिवको विषयले आफू समस्यामा परेको बताएका थिए । प्रचण्डको चिन्तापूर्ण यो अभिव्यक्तिपछि नै शर्माबाहेकका नेताहरूले महासचिवको दाबीबाट हट्न तयार भएका हुन् । तर, वरिष्ठ उपाध्यक्ष श्रेष्ठले ‘कमरेड जनार्दन मात्र होइन, महासचिवमा अरू पनि छन्। गम्भीर ढङ्गले छलफल गरौँ । हतारमा निर्णय नगरौँ’ भनेका थिए ।

श्रेष्ठको यो भनाइपछि महासचिवको नाम टुङ्गो लागेन। केन्द्रीय समिति बैठकबाटै टुङ्ग्याऔँ भन्दै नेताहरू बैठकबाट उठे।केन्द्रीय समिति बैठकबाट भने केन्द्रीय समितिलाई मात्र पूर्णता दिने काम भएको छ। बैठकमा पोलिटब्युरो र स्थायी समिति सदस्यहरूको नाम प्रस्ताव भएको छ । अझै छलफल गरेर टुङ्ग्याउन भने बाँकी छ।

महासचिवसहितका पदाधिकारीबारे भने थप छलफल नै भएन । पदाधिकारी टुङ्गो लगाउने विषयमा प्रचण्डले केन्द्रीय समिति बैठकमा वरिष्ठ उपाध्यक्षको रूपमा श्रेष्ठ हुने मात्र बताए। त्यसमा दाबेदार नेता मात्रिकाप्रसाद यादवको सहमति रह्यो। यसपछि श्रेष्ठ नै वरिष्ठ उपाध्यक्ष हुने निश्चित भएको हो। तर, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सहसचिव र कोषाध्यक्ष पद भने केन्द्रीय समिति बैठकबाट टुङ्गो लागेन किनभने विवाद हुने सङ्केत भएपछि प्रचण्डले बैठकमा बाँकी पदाधिकारीमा नेताहरूको नाम नै प्रस्ताव गरेनन्।

उनलाई थप गृहकार्य गरेर बाँकी पदाधिकारीको नाम प्रस्ताव तयार गर्ने अधिकारी बैठकले दिएको छ। बैठक कहिले बस्छ भन्नेचाहिँ निश्चित छैन । अर्का एक पूर्वस्थायी समिति सदस्यले पनि नेता श्रेष्ठले शर्माको नाममा सहमति जनाएको भए असार दोस्रो साता बसेको बैठकबाट महासचिव टुङ्गो लाग्ने र बाँकी पदाधिकारी छान्न सहज हुने बताए।

‘बढी विवादित भएकै पद नै महासचिव हो । तर, यसमा कमरेड प्रकाशको विमति रह्यो । यदि सहमति जनाउनुभएको भए त केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डले पदाधिकारीहरूको नाम प्रस्ताव गर्नुहुन्थ्यो। अनुमोदन गरिन्थ्यो’, उनले भने ।

नेता श्रेष्ठ आफू निकट नेता गिरिराजमणि पोखरेललाई महासचिव बनाउन चाहन्छन् । पोखरेल यसअघि माओवादीमा सचिव भइसकेका छन् । उनलाई महासचिव बनाउन श्रेष्ठको जोड रहेको प्रचण्ड निकट नेताहरू बताउँछन् । सोही कारण महासचिव मात्र नभई अधिकांश पदाधिकारी नटुङ्गिएको हो ।

नेता इन्द्र आङ्बो ‘मौसम’ स्थानीय निर्वाचनअघि पदाधिकारी टुङ्ग्याउन सकेको भए माओवादीले कम्तीमा २५ वटा स्थानीय तह जित्ने दाबी गर्छन्। नटुङ्गिदा नेताहरू जिम्मेवारीविहीन भएको र त्यसको प्रभाव निर्वाचनमा परेको उनले बताए। पदाधिकारी नटुङ्गिँदा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा निर्वाचनमा गएको थियो। नेपाली कांग्रेससहितको ५ दलीय गठबन्धनमा रहेर तालमेल गर्दै निर्वाचनमा जाँदा १ स्वतन्त्रसहित गरी माओवादीले १२२ वटा स्थानीय तह जित्यो।

आगामी सङ्घ र प्रदेशको निर्वाचनमा पनि माओवादी पदाधिकारीबिनै जाने सङ्केत देखिएको छ, जबकि यसअघि केन्द्रीय समिति बैठकमा धेरै नेताहरूले बैठक लम्ब्याएर भए पनि पदाधिकारी टुङ्ग्याउनुपर्ने धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्