नक्कली सुनलाई सक्कली भनी ४० लाख ठगी गर्ने पक्राउ



काठमाडौं : नक्कली सुनलाई सक्कली भनी प्रलोभनमा पारी १ किलोग्राम नक्कली सुन दिई नगद ४० लाख रूपैयाँ ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेहरुमा काठमाडौं टोखा नगरपालिका धापासी च्यासीडोल बस्ने सुनसरी धरान उपमहानगरपालिका-१७ का २५ वर्षीय पवन विक, काठमाडौं पेप्सीकोला-३५ बस्ने धनुषा जनकपुर नगरपालिका-९ का ३५ वर्षीय मनिष ढुङगाना, काठमाडौं काडाँघारी बस्ने सर्लाही हरिवन-९ का २५ वर्षीय विवेक भन्ने धनेश्वरकुमार दनुवार, काठमाडौं म्हैपी बस्ने सर्लाही लालबन्दी नगरपालिका-१९ का २६ वर्षीय रोहित मगर भन्ने पूर्णबहादुर पुलामी, काठमाडौं बौद्ध बस्ने धनकुटा राजारानी गाउँपालिका-६ का २५ वर्षीया सलिना शेर्पा भन्ने संगिता राई र काठमाडौं बौद्ध वेशीगाउँ बस्ने पर्सा विरुवागुठी-१ का २९ वर्षीय सन्तोषकुमार लामा छन् । 

 

गत कात्तिक १६ गते नक्कली सुनलाई सक्कली सुन हो भनी ठगी गरेको उजुरी केन्द्रीय अनुसन्धान ब्युराेमा प्राप्त भएपछि ठगी कार्यमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

 

पक्राउमध्ये पूर्णबहादुर पुलामीबाट १५ लाख रूपैयाँ र संगीता राईबाट ७ लाख रुपैयाँसमेत प्रहरीले बरामद गरेको छ । 

प्रतिक्रिया दिनुहोस्