अनलाइन कारोबार प्रणाली लगानीकर्ताको लागि टाउको दुखाइ बन्यो, परिसूचक घटेको घट्यै



काठमाडौं : लामो प्रतिक्षापछि आएको नेप्से अनलाइन कारोबार प्रणाली लगानीकर्ताको लागि टाउको दुखाइ बनेको छ । प्रणाली सुरु भएको एक साता बित्नै लाग्दा पनि विभिन्न प्राविधिक कठिनाइले ‘कागलाई बेल पाके झैं’ बनाएको हो ।

गत मंगलबार अनलाइन प्रणाली सुरु भएपनि सेयरको दोस्रो बजारका लगानीकर्ता सन्तुष्ट छैनन् । अनलाइन प्रणाली कार्यान्वयनमा आएपछि कहिले परिसूचक गायब हुने त कहिले मार्केट डेप्थ हेर्न पाएका छैनन् । 

यसले एकातिर आँखा चिम्लेर बजारमा पैसा लगानी गर्न सकिएको छैन भने अर्कातिर यो गडबडिले हालसम्म भएको प्रगति नै शून्य हुने डर पैदा गरेको हो ।

नेप्से अनलाइन प्रणालीमा भएको समस्याले गत मंगलबार लगानीकर्ताले कारोबारबारे जानकारी नै लिन पाएनन् । आइतबार पनि ढिलो गरेर कारोबार खुलेको थियो । उक्त समय मंगलबारको बजार ३ अंकले बढेको र ६ करोड रुपैयाँको मात्र कारोबार भएको देखिएको थियो । आइतबार भने केही समय नेप्से परिसूचक शून्य देखिएको थियो ।

यता पहिलो गासमै ढुंगा परेपछि लगानीकर्ताले भने आफूहरु निराश बनेको बताएका छन् । नयाँ प्रणालीले पहिलो दिन नै लगानीकर्ताको भावनालाई सम्बोधन गर्न नसकेको उनीहरुको गुनासो छ । यस्तो कामलाई नेपाल इन्भेस्टर्स फोरमले हुचुवाको काम भएको उल्लेख गरेको छ ।

तिहारपछिको पहिलो कारोबार सेयर लगानीकर्तालाई फलदायी बन्न सकेन भने दोस्रो दिन पनि कारोबारमा उत्साह देखिएन । अनलाइन प्रणालीमा तेस्रो दिन पनि समस्या आउनुको साथै परिसूचक पनि घटेको हो ।

प्रतिक्रिया दिनुहोस्