आज घण्टाकर्ण पर्व मनाइँदै



काठमाडौं । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठामंगल अर्थात् घण्टाकर्ण पर्व मंगलबार राजधानीमा मनाइँदैछ। चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामंगल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीमा नेवार समुदायले मनाउँछ।

परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्‌वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाइ दोबाटो र चौबाटोमा उभ्याइने चलन छ।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग छ्‌वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठामंगल बेलुकी खेतको बीचमा लगेर बाल्दा धानमा कीरा नलाग्ने विश्वास रहेको बताउँछन् । स्थान एवं कूल परम्पराअनुसार कतै भने गठामंगललाई खोला वा नदी किनारमा लगी जलाइन्छ।

यस दिन बिहानै स्नान, पूजापाठ गरी घर–आँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ। गोपाल वंशावलीअनुसार गठामंगललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ।

यस्तो परम्परा अहिले पनि काठमाडौं, ललितपुर र भक्तपुरका भित्री भागमा छ । यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाध्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुन्छ । आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई राजधानीको भित्री भागमा बस्नेले महत्वपूर्ण पर्वका रूपमा मान्छन् ।

प्रतिक्रिया दिनुहोस्