बार्सिलोनाका युवा स्टार डेम्बेले पाँच हप्ता मैदानबाहिर



काठमाडौं : स्पेनिस क्लब बार्सिलोनाका युवा स्टार ओस्माने डेम्बेले पाँच हप्ता मैदानबाहिर रहने भएका छन्। ला लिगा अन्तर्गत सिजनको पहिलो खेलमा खुट्टामा चोट बोकेका २२ वर्षे डेम्बेले पाँच हप्ता मैदान बाहिर रहने बार्सिलोनाले पुष्टि गरेको छ।

एथ्लेटिको बिल्बाओविरुद्धको खेलमा ९०औं मिनेटमा घाइते हुँदै उनी मैदानबाट बाहिरिएका थिए। उक्त खेल बार्सिलोनाले १–० ले गुमाएको थियो। डेम्बेलेको देब्रे खुट्टामा चोट लागेको बार्सिलोनाले जनाएको छ। डेम्बेले घाइते भएसँगै बार्सिलोनालाई अर्को संकट आइपरेको छ।

हालैमात्र अर्का स्ट्राइकर लुइस स्वारेज घाइते भएका थिए। एथ्लेटिको बिल्बाओसँगकै खेलमा घाइते भएका स्वारेज पनि ४ साता मैदानबाहिर रहनेछन्। यता, चोट बोकेका कप्तान लियोनल मेस्सी पनि टिम बाहिर रहेका छन्। साबिक विजेता बार्सिलोनाले २६ अगष्टमा रियल बेटिसविरुद्ध दोस्रो खेल खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्