पार्टी एकता टुंगिँदै गर्दा किन दिए प्रभु साहले राजीनामा ?



जनकपुरधाम : गुटको पेलानले प्रभु साहले राजीनामा दिएको बताइरहँदा नेतृत्वसँग मन्त्री बार्गेनिङ्गको लागि पनि उनले राजीनामा दिएको हुनसक्ने आंकलन गरिएको छ । 

पछिल्लो समय प्रदेश २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गुटगत राजनीति यसरी मौलाएको छ कि एक गुटले अर्को गुटलाई निषेध नै गरिन्छ । पूर्वएमाले र पूर्वमाओवादीबीच एकिकरणसँगै प्रदेश २ मा गुटगत राजनीति मौलाएको हो । र, नेकपा भित्र मौलाएको गुटगत राजनीतिको पेलानले नै नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले राजीनामा दिएको अनुमान गरिए पनि केहीले मन्त्री बन्न नेतृत्वसमक्ष बार्गेनिङ्ग गर्न राजीनामा दिएको हुन सक्ने भनेर टिप्पणी गरेका छन् । गुटको राजनीति मौलाएसँगै विरोधी गुटले भित्रैमा पुर्याउने गरी पेल्न थालेपछि साहले बाध्य भएर राजनीति दिनु परेको बताउनेहरु धेरै छन् ।

पार्टी एकिकरणसँगै प्रदेश २ मा नेकपाको तीन गुट सक्रिय छ । अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल गुट । तीन गुटमध्ये प्रदेश २ मा ओली गुट कमजोर देखिन्छ भने दाहाल र नेपाल गुट बलियो छ । प्रदेश दुईलाई आधार क्षेत्र बनाएर राजनीति गरिरहेका नेपाल गुटलाई पछिल्लो समय दाहाल गुटले टक्कर दिइरहेको छ । तर, नेतृत्वमा ओली गुट हावी हुँदा दाहाल र नेपाल गुट कमजोर बन्दै गएका छन् । प्रभु साह प्रचण्ड गुटका नेता हुन् । 

प्रदेश दुईको इञ्चार्ज ओली गुटका सत्य नारायण मण्डल हुन् । इञ्चार्ज मण्डलले यसअघि आफू अनुकुलहरुलाई पार्टीको प्रदेश सदस्य बनाएको भन्दै दाहाल र नेपाल पक्षधर नेताहरु असन्तुष्ट बनेका थिए । पार्टीमा मण्डलले आफू निकटकाहरुलाई काखी च्याप्न थालेपछि असन्तुष्टि बढेको छ । गुटगत द्वन्द चुलिँदा प्रदेश २ मा पूर्णरुपले पार्टी एकताको काम अझै सकिएको छैन । जिल्ला तहमा पनि ओली गुट हावि बन्दै जाँदा साहले असन्तुष्ट जनाउँदै आएका थिए । अर्का माधव नेपाल गुटले पनि प्रभु साहलाई सम्मानजनक व्यवहार गरिरहेको थिएन ।

ओली गुटको निशानामा परेका प्रभु साह पछिल्लो पटक माधव नेपाल समूहको समेत निशानामा परेका थिए । निर्वाचन क्षेत्र नेता नेपाल र साहको रौतहट जिल्ला भएकाले पनि नेपाल समूह र साहबीच द्वन्द चर्किएको थियो । रौतहटमा माधव समूह हावी हुँदै जाँदा पार्टीको प्रदेश अध्यक्ष समेत रहेका साहको निर्णय लागू नहुनु राजीनामाको एक कारण हुन सक्ने अनुमान पनि गरिएको छ ।

गुटगत राजनीतिको पेलान मात्रै होइन्, साहको राजीनामालाई मन्त्री बन्ने बार्गेनिङ्गको अस्त्रको रुपमा पनि हेरिएको छ । विगतमा मन्त्री भइसकेका प्रतिनिधिसभा सदस्य साहले यसपटक पनि मन्त्रि बन्ने चाहना नेतृत्व समक्ष व्यक्त गरेका थिए । साहलाई मन्त्री बनाउने आश्वसन अध्यक्ष प्रचण्डले पुरा नगरेकाले पनि प्रचण्डसँग मन्त्री बार्गेनिङ्गका लागि पनि साहले राजीनामा दिएको हुन सक्छ । 

प्रतिक्रिया दिनुहोस्