मन्त्री भन्छन् : उपचार गर्न विदेश जानुपर्दैन, सांसद सोध्छन् : प्रधानमन्त्रीकाे उपचार विदेशमा किन ?



काठमाडौं : उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले धेरै रोगको उपचारका लागि विदेश जानु नपर्ने बताएका छन् । प्रतिनिधिसभामा मंगलबार सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा उपप्रधानमन्त्री यादवले विश्वस्तरको उपचार सेवा नेपालमै भएकाले विदेश जानु नपर्ने बताए । साथै उनले नेपालका अस्पतालमा एसियामात्र  नभइ यु्रोपबाट समेत उपचारकालागि आउने गरेको बताए । क्यान्सरको उपचारमा पनि नेपालको उपचार राम्रो रहेको र धेरै विरामी विदेशबाट आउने गरेको उनको दाबी छ ।

उनले भने ‘मिर्गौला प्रत्यारोपण, न्युरो सर्जरीको उपचार विश्वस्तरको छ, सफल उपचार भइरहेको छ’ उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले भने ‘हामीकहाँ सम्भव नभएको केही केस पनि छन् । त्यसको उपचार बाहिर गर्नुपर्छ ।’ उनले  सरकारी अस्पताललाई निजी अस्पतालमा विरामी जाँच्ने रोक्ने गरी कानुनी व्यवस्था भएको बताए ।

आजको बैठकमा सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको उपचचार गर्ने क्षमता नेपाली अस्पतालमा नभएको हो भनी प्रश्न उठाएका छन् ।सांसद प्रेम सुवालले प्रधानमन्त्रीको उपचार गर्ने क्षमता नेपाली अस्पतालसँग नभएको हो भनी प्रश्न गरेका हुन् ।

उनले केही उपकरण किनेर सिंगापुरका डाक्टरलाई यहाँ बोलाएर उपचार गर्न सकिने मत पनि रहेको भन्दै मन्त्रीसँग जवाफ मागेका थिए । जवाफमा उपप्रधानमन्त्री यादवले प्रधानमन्त्रीलाई डाक्टरहरुले सिंगापुरमै उपचार गर्न सिफारिस गरेकाले सिंगापुर गएको बताएका छन् । उपप्रधानमन्त्री यादवले नेपालमा सबै उपचार सम्भव भएपछि र उपकरण भएपछि बाहिर गइरहनुनपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्