‘पानीफोटो’ले पूरा गरेको खगेन्द्रको सपना



काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेकी मावली हजुरआमा उमेरले ९४ वर्ष पुगिन् । यो उमेरमा पनि सशस्त्र द्वन्द्वताका १६ वर्षको उमेरमा हराएको आफ्नो छोरो फर्कन्छ भन्ने आशा उनमा अझै जीवितै छ । त्यही आशाले उनी दिनरात छोरो फर्कने बाटो हेरिरहन्छिन् ।

खगेन्द्रले उनका मामालाई कहिल्यै देख्न पाएनन् । उनकी आमालाई पनि दाजुको धुमिल सम्झना मात्र छ । यिनै खगेन्द्रले मामालाई प्रतिनिधि पात्र बनाउँदै फिल्म ‘पानीफोटो’ बनाएका छन्, जुन फिल्मले उनकी हजुरआमाको जस्तै बेपत्ता भएका व्यक्तिका परिवारको कथा बोल्छ ।

‘पानीफोटो बेपत्ता भएकाको भन्दा पनि बेपत्ता भएका मान्छेको आफन्तको कथा हो । फिल्मको ट्रेलरमा पनि छोरो हराएपछि बाबुआमाले त्यसको खोजी जारी राखेको कुरा देखाइएको छ । यो अहिलेको कथा हो’, हालैको भेटमा खगेन्द्र भन्दै थिए, ‘युद्धको समयको प्रभाव समाजमा के छ र के पनि छ भन्ने कुरालाई फिल्ममा देखाएको छु । त्यतिबेला सानो घटना घटेपछि उसको परिवार र आफन्तले बेपत्ता व्यक्तिलाई कसरी खोजिरहेका छन् भन्ने कथा फिल्ममा छ ।’

… अनि जन्मियो ‘पानीफोटो’

खगेन्द्रका अनुसार उनी बाल्यकालदेखि नै मामा बेपत्ता भएको कुरा सुनिरहन्थे । यो सुनाइले उनमा गहिरो छाप छाड्यो । ‘म सानो हुँदादेखि नै मान्छे हराएको मात्र कुरा सुन्थेँ, जो व्यक्ति मरेको खबर कहिल्यै आएन । त्यस कारण पनि परिवार जहिल्यै उसको पर्खाइमा बस्यो’, उनले भने, ‘जब देशमा युद्ध भयो, धेरै मान्छे मरे, बेपत्ता भए । कति मान्छेको कथा सुनियो, पढियो । नजिकबाट महसुस गरियो । यी सबै कुरा देखे, भोगेपछि नाटक पानीफोटो लेखेँ ।’

खगेन्द्रले सन् २०१० मा गुरुकुलमा नाटक ‘पानीफोटो’ मञ्चन गरे । उनको बुझाइमा अधिकांश दर्शकलाई नाटकले छोएको थियो । खगेन्द्रलाई दर्शकले ‘हामीले यस्तो समय भोगेर आयौँ है ?’ भन्थे । कतिपय दर्शकले ‘यस्तो समय आउँदो सन्ततिले कहिल्यै भोग्नु नपरोस्’ भनेको सुन्थे । यो कथाले धेरै मान्छेलाई छुन्छ भन्ने उनको मनमा त्यतिखेरै गहिरो गरी लागेको थियो ।

‘बधशाला’ले खोल्यो बाटो

नाटक ‘पानीफोटो’बाट राम्रो प्रतिक्रिया पाएपछि खगेन्द्र हौसिए । उनमा यही कथालाई फिल्ममा उतार्न पाए हुन्थ्यो भन्ने हुटहुटी छँदै थियो । तर, उनले त्यो बाटो पहिल्याउन सकिरहेका थिएनन् । यही क्रममा उनले निर्देशक मनोज पण्डितको फिल्म ‘बधशाला’मा अभिनयको मौका पाए । यो फिल्मपछि आफैँले ‘टलकजङ्ग भर्सेस टुल्के’ बनाए । दुवै फिल्मको कथावस्तु सशस्त्र द्वन्द्व नै थियो ।

‘पहिलो फिल्ममा अभिनय र दोस्रो फिल्ममा निर्माणसँगै अभिनय गरेपछि धेरै मान्छेमा द्वन्द्वको कथाले छुन्छ भन्ने महसुस भयो । आफैँले फिल्म बनाएपछि द्वन्द्वकै कथामा फिल्म बनाउन सकिनेरहेछ भन्ने ज्ञान भयो’, उनले सम्झिए, ‘मैले तत्कालै फिल्म बनाउँछु भनेर सोचिनँ तर कुनै दिन बनाउँछु भन्ने सपना साँचेको थिएँ । आज त्यो सपना पूरा भएको छ ।’

बर्दियादेखि रोल्पा यात्रा

खगेन्द्रले फिल्म ‘पानीफोटो’ बनाउने निर्णय त लिए तर त्यो त्यति सहज थिएन किनकि फिल्मका लागि चाहिने थप कथावस्तु खोज्न बाँकी नै थियो । उनी फिल्मको कथावस्तु सङ्कलन गर्न बर्दियादेखि रोल्पासम्म पुगे । उनले त्यहाँ द्वन्द्वका क्रममा बेपत्ता भएका करिब १० जनाको परिवारलाई भेटे । उनीहरूका पीडालाई कथामा उतारे ।

विक्षिप्त खगेन्द्र

खगेन्द्रलाई बर्दियामा एउटा परिवारसँग कुराकानी गरेर अर्को परिवारमा पुग्न झन्डै अढाइदेखि ३ घन्टाको समय लाग्थ्यो । गाडीको अगाडिको सिटमा बसेर यात्रा गरिरहँदा उनलाई अर्को ठाउँ नआइदियोस् भन्ने लाग्थ्यो ।

‘एक ठाउँको परिवारसँग कुरा गरेर अर्को परिवारलाई भेट्न जाँदा त्यो ठाउँ कहिल्यै नआइदिए हुन्थ्यो जस्तो भयो । बेपत्ता व्यक्तिका परिवारका कुरा सुन्दा म धेरै विक्षिप्त भएँ । तर, मलाई कथा भन्नु थियो । त्यसैले आफूलाई सम्हालेँ’, खगेन्द्र गम्भीर बने, ‘मैले कहिल्यै पनि त्यति धेरै भारी महसुस गरेको थिइनँ । म सुन्ने मान्छेलाई त्यस्तो भयो भने भोग्ने मान्छेलाई कस्तो भयो होला । म विक्षिप्त भएँ भने त्यस्तै कथामा अर्को व्यक्तिले फिल्म बनाउँदा त्यो कथा त्यही रूपमा नभन्न सक्छ भन्ने लाग्यो ।’

… अनि बाबु बनेनन् खगेन्द्र

फिल्मले बेपत्ता छोरा खोजी गर्ने आमाबाबुको कथालाई देखाएको छ । फिल्ममा अनुप बराल र मेनुका प्रधान बाबु–आमाको भूमिकामा छन् । फिल्मको स्क्रिप्ट लेखिरहँदा खगेन्द्र आफैँ बाबुको भूमिका निर्वाह गर्न चाहन्थे । आफ्नो परिवारको पीडा, बेपत्ता व्यक्तिको परिवारसँगको भेटघाटले उनलाई त्यो चरित्र निर्वाह गर्ने हिम्मत दिएको थियो । तर, उमेर त्यसमा बाधक बन्यो।

‘म आफैँ पनि कलाकार भएकाले म यो तहसम्म अभिनय गर्न सक्छु भन्ने थाहा हुन्छ । तर, चुनौती के थियो भने, म जुन उमेरको छु र देखिन्छु, चरित्रमा वास्तविक उमेरको देखिँदैन थियो । त्यति बुढोको चरित्र कसरी गर्न सक्छु भन्ने तनाव थियो’, उनी भन्छन्, ‘त्यो चरित्र ५० वर्षभन्दा कम उमेरको हो । त्यस कारण मैले धेरै पटक मेकअप गरेर त्यो चरित्र टेस्ट गरेँ तर म कन्भिन्स नभएपछि त्यो चरित्र अनुप बराल सरलाई अफर गरेँ ।’

आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्ममा मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, रमेश अधिकारी, कमलमणि नेपाल, अनुज पाण्डे, राधा श्रेष्ठ, श्याम कुमारलगायत कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्