तिहारपछि दशैं बोनस माग्दै कामदार आन्दोलनमा, फोहोर नउठ्दा नगर दुर्गन्धित



मोरङ : दशैं बोनस माग गर्दै कामदार आन्दोलनमा उत्रिएपछि विराटनगर महानगरपालिकामा फोहोर व्यवस्थापन रोकिएको छ ।

फोहोर व्यवस्थापनको जिम्मा पाएको ठेकेदार कम्पनी वेष्ट म्यानेजमेन्ट गु्रपका कामदार काम छाडेर आन्दोलनमा उत्रिएका छन् । २ सय ५० मजदुर आन्दोलनमा उत्रिएपछि आइतबारदेखि फोहोर नउठेको वेष्ट म्यानेजमेन्ट ग्रुपका सञ्चालक देवी आचार्य बताउँछन् ।

घाटामा काम गरिरहेकाले कामदारलाई दशैं बोनस दिन सक्ने अवस्था नरहेको बताए । ‘कम्पनी दशैं बोनस दिन सक्ने अवस्थामा छैन’ उनले भने ‘मासिक तलब नियमित उपलब्ध गराएकै छौं ।’

ठेकेदारमार्फत काम गरिरहेका मजदुर मध्ये आधा पार्ट टाइम र पूर्णकालीन काम गर्छन् । पूर्णकालीन काम गर्नेहरुलाई करार सेवा अन्तर्गत मासिक १५ हजार र पार्टटाइम काम गर्नेलाई ८ हजार पारिश्रमिक दिइन्छ ।

फोहोर व्यवस्थापन गरे बापत विराटनगर महानगरपालिकाले ठेकेदार कम्पनीलाई मासिक ११ लाख ४० हजार रुपैया दिँदै आएको छ ।

तर, चाडपर्वमा फोहोर व्यवस्थाप नभएपछि बिकल्प खोज्ने अवस्था आएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । ‘तत्काल समस्या सामधान गरेर फोहोर उठाउन भनेका छौं’ उनले भने, ‘काम नगरे महानगरले विकल्प खोज्छ ।’

ठेकेदार कम्पनीबाट चित्त बुझ्दो काम नभएको उनले बताए । विराटनगरमा सामान्य अवस्थामा दैनिक ३० देखि ३५ टयाक्टर सम्म फोहोर संकलन हुन्छ । चाडवाडको समयमा भने ५० ट्याक्टर भन्दा बढी फोहोर संकलन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्