रोपाइँ घट्यो, उत्पादनमा नकारात्मक असर पर्न सक्ने



काठमाडौं । यस वर्षको धान रोपाइँ क्षेत्र घट्दा उत्पादनमा नकारात्मक असर पर्ने देखिएको छ। ६ साउनसम्म देशभर करिब ८० प्रतिशत रोपाइँ भएको छ । गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ ८ दशमलब ८ प्रतिशतले कम हो।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्कअनुसार गत वर्ष सोही अवधिमा ८८ दशमलब ८ प्रतिशत रोपाइँ भएको थियो। धान रोपाइँको तथ्याङ्क हेर्दा यस वर्ष उत्पादनमा नकारात्मक असर पर्ने देखिन्छ।

गत वर्ष १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदा ५१ लाख ३० हजार ६२५ मेट्रिक टन उत्पादन भएको थियो। आर्थिक वर्ष २०७७/०७८ वर्षको तुलनामा गत वर्ष ८ दशमलब ७४ प्रतिशतले धान उत्पादन घटेको थियो।

बेमौसमी वर्षाका कारण उत्पादन भएको धान बाढीले बगाउँदा उत्पादनमा कमी आएको मन्त्रालयले जनाएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा १४ लाख ७३ हजार ४७४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदा ५६ लाख २१ हजार ७१० मेट्रिक टन उत्पादन भएको थियो।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षरण केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठ अहिलेको धान रोपाइँको तथ्याङ्क हेर्दा उत्पादनमा नकारात्मक असर पर्छ भनेर यकिनसाथ अनुमान गर्न नसकिने बताउँछन्। पछिल्लो समय जलवायु परिवर्तनका कारण मौसम सक्रिय नहुँदा समग्र कृषिको उत्पादन घट्दै गएको उनले बताए।

‘नेपालमा सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ’, उनले भने, ‘मौसमले साथ दिएन भने धान उत्पादनमा नकारात्मक असर पर्न सक्छ। मौसमले साथ दियो र आवश्यक मल र सिँचाइ उपलब्ध भएमा भने उत्पादन बढ्न पनि सक्छ।’तर, अहिले नै धानको उत्पादनमा नकारात्मक असर पर्छ भनेर अनुमान गर्न नसकिने प्रमुख श्रेष्ठको भनाइ छ। आउने साता दिनमा धान रोपाइँ क्षेत्रफल बढ्न सक्ने उनले बताए।

कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले प्रदेश १, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण धान रोपाइँमा कमी देखिएको बताए। उनले अन्य प्रदेशहरूमा मनसुन सक्रिय रहेको र रासायनिक मलको उपलब्धतामा पनि क्रमशः सुधार आएको जानकारी दिए।

प्रवक्ता सन्जेलले १५ असारसम्म अहिले कम रोपाइँ भएका प्रदेशमा रोपाइँ बढ्ने अनुमान भएको हुँदा मन्त्रालयले विगत वर्षहरूमा जस्तै लगभग सत प्रतिशत रोपाइँ हुने प्रारम्भिक अनुमान रहेको बताए। कृषि मन्त्रालयको तथ्याङ्कअनुसार ६ साउनमा सुदूरपश्चिम प्रदेशमा ९२ दशमलब ८ प्रतिशत धान रोपाइँँ भएको छ। गत वर्ष सोही अवधिमा ९६ दशमलब ७ प्रतिशत रोपाइँ भएको थियो।

यसैगरी कर्णाली प्रदेशमा ७८ दशमलब ३ प्रतिशत धान रोपाइँँ भएको छ। गत वर्ष सोही अवधिमा यस प्रदेशमा ९३ दशमलब ८ प्रतिशत रोपाइँ भएको थियो । यस्तै, लुम्बिनी प्रदेशमा ७४ दशमलब ७ प्रतिशत धान रोपाइँ भएको छ। गत वर्ष सोही अवधिमा यहाँ ९२ दशमलब २ प्रतिशत रोपाइँ भएको थियो।

गण्डकी प्रदेशमा ८४ प्रतिशत रोपाइँ भएको छ भने गत वर्षको सोही अवधिमा यहाँ ८७ प्रतिशत रोपाइँ भएको थियो। यसैगरी बाग्मती प्रदेशमा ४ साउनसम्म ७६ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यस प्रदेशमा ९० प्रतिशत रोपाइँ भएको थियोे।

मधेस प्रदेशमा ६ साउनसम्म जम्मा ६३ प्रतिशत मात्र धान रोपाइँ भएको छ। गत वर्ष यस अवधिमा यहाँ ८८ प्रतिशत रोपाइँ भएको थियो । गत वर्षको तुलनामा मधेस प्रदेशमा यस वर्ष २५ प्रतिशत कम रोपाइँ भएको हो। यसैगरी प्रदेश १ मा ७७ प्रतिशत मात्र धान रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा यहाँ ८० प्रतिशत रोपाइँँ भएको थियो।

प्रतिक्रिया दिनुहोस्