राजपा जिल्ला अध्यक्ष यादवमाथि ठगी धन्दाको आरोप



वीरगन्ज : राष्ट्रिय जनता पार्टी नेपाल पर्साका अध्यक्ष विरेन्द्र यादवले राजनीतिक आडमा ठगी धन्दा चलाएको खुलासा भएको छ। गाउँघरका सोझा साझा व्यक्तिलाई प्रभावमा पारी आफ्नो पहुँच माथिसम्म रहेको भन्दै यादवले ठगी गरेको खुलासा भएको हो।

अध्यक्ष यादवले वीरगन्ज महानगरपालिका–२७ उदयपुर घुर्मिका राजेश्वर यादवसँग १० हजार रुपैयाँ ठगी गरेको राजेश्वरले खुलासा गरेका हुन। आफ्नो भाई शक्तिप्रसाद यादवलाई औषधी उद्योगमा काम लगाइदिने प्रलोभनमा अध्यक्ष यादवले २५ हजार नगद माग गरेको उनले बताए।

राजेश्वरले भने, ‘भाईलाई काम लगाएबापत पहिले नै २५ हजार हातमा चाहिने डिमान अध्यक्ष यादवले गरेका थिए। तर, मैले उनलाई १० हजार रुपैयाँ मात्र दिँदै बाँकी रहेको रकम उद्योगमा नियुक्त भएपछि दिने आश्वासन दिए।’ अध्यक्ष यादवलाई १० हजार दिएको धेरै समय भइसके पनि भाईले जागिर नपाएको उनले गुनासो गरे।

उनले भने, ‘पैसाको लागि ताकेदा गर्दा अध्यक्ष यादवले आज दिन्छु भोली दिन्छु भनि आलटाल गर्दै आएका छन्। तर, आजकल फोन समेत उठाउँदैन्।’ पैसा नदिएपछि यादव गाउँमा गएको बेला उनको मोटरसाइकल समेत खोस्न लाग्दा अहिले आफूसँग रकम छैन, दुई तीन दिनमा दिने भन्दै भन्दै गएका यादवले अहिलेसम्म मुख समेत नदेखाएको पीडित राजेश्वरले बताए।

उनले भने, ‘म जस्तो कयौ सोझा साझा युवाहरुलाई काम लगाइदिने, अन्य कुनैपनि समस्या समाधान गरिदिने भनि आश्वासन दिएर अध्यक्ष यादवले कयौंलाई ठगि गरेका हुन सक्ने उनले आशंका गरे। अध्यक्ष यादवले २–४ दिनभित्र आफ्नो रकम उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिने तयारी गरेको उनले बताए।

अध्यक्ष यादव महेन्द्र यादव नेतृत्वको तत्कालिन तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष हुन्। छ वटा मधेशवादी पार्टीहरूको सहकार्यमा बनेको राजपामा समेत उनको सहभागिता रहेको छ। प्रत्येक दुई–दुई महिनामा अध्यक्ष मण्डलका अध्यक्ष चुनिने सहमति भए अनुसार अध्यक्ष यादवलाई अध्यक्ष मण्डलको अध्यक्ष बनाइएको छ।

यता अध्यक्ष यादवसँग प्रतिकृया लिदा आफूले कुनै राजेश्वर भन्ने व्यक्तिलाई नचिनेको बताए। उनले भने, ‘मलाई बदनाम गराउन खोजिएको छ, मैले कुनै पनि व्यक्तिसँग रकम ठगी गरेको छैन।’

प्रतिक्रिया दिनुहोस्