सर्वदलीय बैठक : गणतन्त्रमाथि प्रहार गर्नेविरुद्ध एकजुट हुन प्रधानमन्त्री ओलीको आग्रह



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठक सकिएको छ। मंगलबार (आज) साँझदेखि बसेको बैठक सकिएको हो।

बैठकमा प्रधानमन्त्री ओलीले देशले प्राप्त गरेको उपलब्धिमाथि प्रहार गर्ने तत्वव र शक्तिहरू सक्रिय भएको भन्दै चिन्ता जनाएका थिए।  

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अुनसार प्रधानमन्त्रीले बैठकको सुरुमै दलहरूबीच सहकार्यको आवश्यकता औँल्याएका थिए। ‘हामी लामो समयसम्म एउटै उद्देश्यले हिँडेका हौँ। समझदारी र सहकार्य अघि बढाउन यो बैठक बोलाएको हुँ’, ओलीको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले मुख्यतः तीनवटा विषयमा केन्द्रित भएर आफ्ना भनाइ राख्नुभएको थियो।’

ओलीले गणतन्त्र, संविधान, लोकतन्त्र र संघीयतामाथि आक्रमण भइरहेको भन्दै एकजुट हुन बैठकमा उपस्थित सबैमा आग्रह गरे। प्रधानमन्त्री ओलीले गणतन्त्रमाथि विभिन्न समूहबाट आक्रमणको प्रयत्न भएकाले यस यसविरुद्ध एकजुट हुन र देशमा हिंसात्मक गतिविधि हुन नदिन सबै एक भएर अघि बढ्नुपर्ने बताए।

प्रधानमन्त्रीले बोलेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित अन्य नेताले पनि प्रधानमन्त्रीको भनाइमा सहमति जनाएका थिए। 

प्रतिक्रिया दिनुहोस्