नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक : भारतीय विदेशमन्त्री आज काठमाडौं आउँदै



काठमाडौं : नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौँ बैठक आज (बुधबार) काठमाडौंमा बस्दैछ । बैठकमा सहभागी हुन भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विदेशमन्त्री डा. सुव्रमण्यम जयशंकर आजै नेपाल आउँदै छन् नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने छन् । 

भारतमा नरेन्द्र मोदी नेतृत्वको दोस्रो सरकार गठन भएपछि भारतीय विदेशमन्त्रीको यो पहिलो नेपाल भ्रमण हो । 

नेपालले पछिल्लो उच्चस्तरीय भ्रमणमा भएका सहमति कार्यान्वयनमा जोड दिनेछ । नेपालले इपिजीको प्रतिवेदन बुुझ्न भारत सरकारलाई आग्रह गर्ने, बाँधबारे प्राविधिक टोलीको प्रतिवेदन कार्यान्वयन, वाणिज्य एवं पारवहन सन्धि, सीमा, सुरक्षालगायतका विषयमा भारतको ध्यानाकर्षण गराउने तयारी गरेको छ । बैठक अपराह्न बस्दैछ ।

बैठकमा नेपालले आर्थिक विकास र कनेक्टिभिटीसँग सम्बन्धित परियोजना कार्यान्वयनलाई मुख्य एजेन्डा बनाउनेछ । 

परराष्ट्रमन्त्री ज्ञवालीले संयुक्त आयोगमा द्विपक्षीय सम्बन्धका सबै विषयलाई पाँच शीर्षकअन्तर्गत राखेर छलफल गर्ने कार्यसूची रहेको छ । उनका अनुसार राजनीतिक सुरक्षा र सीमा, आर्थिक सहयोग तथा पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत र संस्कृति तथा शिक्षाअन्तर्गत समग्र विषयमा छलफल हुनेछ । 

नेपालले दुई देशका प्रधानमन्त्रीको तहमा डुबानबारे दुईपटक छलफल भएको र दुईवटा संयुक्त प्राविधिक टोलीले स्थलगत अध्ययनपछि बुझाएको प्रतिवेदन कार्यान्वयनमा जोड दिनेछ । ‘दुवै प्राविधिक टोलीको प्रतिवेदनमा भारतले नदीको प्राकृतिक बहाव अवरुद्ध गरेका कारण डुबानको समस्या देखिएको उल्लेख गरेको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले सोमबार सञ्चारकर्मीसँग भने, ‘हामी यो प्रतिवेदन कार्यान्वयन होस् भन्ने चाहन्छौँ । यही विषय बैठकमा पनि राख्नेछौँ ।’ बैठकमा नेपालले प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन बुझ्न भारतलाई आग्रह गर्नेछ । नेपालले सार्क सक्रिय हुनुपर्ने धारणा पनि राख्नेछ । बैठकपछि ५ भदौमा संयुक्त वक्तव्य जारी हुनेछ । 

परराष्ट्रमन्त्रीस्तरीय आयोग नेपाल–भारतबीचको सबैभन्दा उपल्लो तहको द्विपक्षीय संयन्त्र हो । सन् १९८८ मा पहिलो र सन् २०१४ मा तेस्रो बैठक नेपालमा तथा सन् १९९१ मा दोस्रो र सन् २०१७ मा चौथो बैठक भारतमा भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्