आजदेखि पोखरामा राष्ट्रिय दोहोरी गीत प्रतियोगिता



पोखरा । पोखरामा आजदेखि सर्वाधिक धनराशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ। ‘लोक संस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’को नारासहित स्थापना भएको कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालको आयोजनामा साउन १४ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ।

प्रतियोगितामा देशभरबाट गरी ४६ समूहको सहभागिता रहेको र सबै तयारी पूरा भएको प्रतिष्ठानले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन दाहालका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले रु छ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

जुन पुरस्कार नेपालमा दोहारीतर्फको अहिलेसम्मकै सर्वाधिक राशिको रहेको उनको भनाइ छ। यसैगरी द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः रु चार लाख, रु दुई लाख र रु एक लाख पुरस्कार पाउनेछन्। उत्कृष्ट गायक, गायिका र अनुशासित समूहलाई रु ५० हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

कार्यक्रमबाट रु ५५ लाख आम्दानी भई खर्च रु ३९ लाख ५० हजार कटाएर रु १५ लाख ५० हजार बचत हुने अनुमान आयोजकको छ। प्रतियोगिताको पुरस्कारमा मात्र रु १४ लाख ५० हजार खर्च हुनेछ । एक समूहमा महिला र पुरुष एक-एक जना गरी दुई जना रहने र समूहको वाद्यवादनलगायत टोलीको व्यवस्था आयोजकले नै गर्ने कार्यक्रम संयोजक दाहालले बताए।

लोकगायक, स्रष्टा, शिल्पी कल्याण शेरचनको स्मरणमा उहाँको जन्मजयन्तीका अवसर पारेर प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष क्या पूर्णबहादुर गुरुङ‘ह्योल्मो’ले बताए । उनका अनुसार प्रतियोगिताको उद्देश्य पोखरामा नेपाली लोक बाजा सङ्ग्रहालय निर्माण गर्नु रहेको छ।

प्रतिक्रिया दिनुहोस्