प्रधानमन्त्री ओलीको स्वास्थ्य अस्वथा कस्तो छ ?



७१ प्रतिशत अर्थात् प्रत्यक्षतर्फ इतिहासमै सबैभन्दा बढी सिट पाएर ओली प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्, आफ्ना प्रधानमन्त्रीको स्वास्थ्यप्रति तीन करोड जनताको सरोकार, स्नेह र आशीर्वाद छ, तर चिकित्सक र सल्लाहकारले प्रधानमन्त्रीको स्वास्थ्यलाई व्यक्तिगत र खुद्रा विषय बनाइदिएका छन्  

काठमाडौं : १२ वर्षअघि प्रत्यारोपण गरेको मिर्गौलाको काम गर्ने क्षमतामा ह्रास आएपछि प्रधानमन्त्री केपी ओली उपचारका लागि पुनः सिंगापुर जाँदै छन् । नौ दिनसम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरेर फर्किएको १० दिनपछि बिहीबार उनी त्यसतर्फ जान लागेका हुन् । 

यसअघि १८ साउनमा सिंगापुर गएका प्रधानमन्त्री २७ साउनमा फर्किएका थिए । एक हप्ताका लागि गएका उनको बसाइ उपचारकै कारण केही दिन लम्बिएको थियो । त्यसो त उपचार भएको नेसनल युनिभर्सिटी अस्पतालका चिकित्सकले अर्को एक साता बस्न भनेका थिए । मिर्गौलामा समस्या देखिएको र नयाँ औषधि चलाएर हेर्नुपर्ने चिकित्सकले बताएका थिए ।

तर, प्रधानमन्त्री ओली देशमा राजनीतिक व्यवस्थापन गर्नुपर्ने भन्दै छिटै उपचारमा फर्किने वचन दिएर चिकित्सकसँग बिदा भएका थिए । ०६४ साउनमा दिल्लीस्थित एपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

एक सातामा धुँवाधार राजनीतिक निर्णय

सिंगापुरबाट २४ साउनमा फर्किने सुरुको कार्यतालिका भएकाले प्रधानमन्त्रीले २६ साउनमा सचिवालय बैठक डाकेका थिए । तर, २७ साउमा फर्किएपछि बैठक २८ गतेका लागि सारियो । तर, आवश्यक गृहकार्य नपुगेको भन्दै २८ साउनमा ओलीले सचिवालयको होइन, पूर्वएमाले समूहका नेताहरूको छुट्टै बैठक बालुवाटारमा बोलाए । बैठकमा आफ्नो स्वास्थ्य उपचारबारे ब्रिफिङ गर्नुका साथै केन्द्रीय विभाग गठन र एकताका बाँकी काम टुंग्याउने विकल्पमा सुझाब लिए । 

स्वदेश फर्किनासाथ १५ महिनादेखि अल्झिएको एकताको काम छिटो टुंग्याउन अग्रसर देखिएका ओलीले २९ र ३० साउनमा अर्का अध्यक्ष प्रचण्डसँग लगातार आठ घन्टाभन्दा बढी छलफल गरे । दुई अध्यक्षबीचको छलफलपछि ३१ साउनमा बसेको बैठकले ३२ केन्द्रीय विभागको कार्यविभाजन टुंग्याउनुका साथै प्रदेश कमिटीमा केही नेताहरूलाई सहइन्चार्जको जिम्मेवारी दियो । 

लामो समयदेखि आफूसँग चिढिएका नेता वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्ताव गराउन ओली सफल भए । ३२ साउनको गृहकार्यपछि १ भदौमा बसेको सचिवालय बैठकले झलनाथ खनालको असन्तुष्टि सम्बोधन गर्दै वरीयता सच्याउँदै जनवर्गीय संगठन, विशेष प्रदेश कमिटी तथा सम्पर्क विशेष कमिटी गठन र एकीकरणको काम टुंग्यायो । केन्द्रीय निकाय, सल्लाहकार परिषद् र प्रवास कमिटीबाहेक नेकपाको एकीकरण र कार्यविभाजनले पूर्णता पाएको छ । 

अब बाँकी काम पनि बुधबार बस्ने बैठकबाट टुंगो लगाएर ओली बिहीबार पुनः सिंगापुर जाने तयारीमा छन् । अब डेढ साताका लागि सिंगापुर जान लागेका हुन् । सिंगापुर प्रस्थान गर्नुअघि सोमबार मन्त्रिपरिषद् बैठक राखेका ओलीले आइतबार संसद् बैठकलाई सम्बोधन गरेका थिए ।

सिंगापुरमा प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ गर्ने तयारी, आवश्यक परे मिर्गौला प्रत्यारोपण

प्लाज्मा फेरेसिस के हो ?

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा. ऋषिकुमार काफ्लेको भनाइ

 

हामी सबैलाई थाहा छ, प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपण गरिएको हो । मिर्गौला प्रत्यारोपण गरेको पनि १२ वर्षभन्दा बढी भएको छ । मिर्गौला अथवा कुनै पनि अंग प्रत्यारोपण गरिएपछि शरीरको रोग प्रतिरोधात्मक क्षमता अर्थात् एन्टिबडिज कमजोर बनाइन्छ । किनकि, प्रत्यारोपण गरिएको अंगलाई शरीरले अस्वीकार नगरोस् भनेर औषधि दिइएको हुन्छ । त्यो औषधि प्रयोग भएपछि शरीरमा आएका अन्य कीटाणुलाई चिन्ने र अस्वीकार गर्ने क्षमता पनि कमजोर हुन्छ । अर्काको मिर्गौला राखेको शरीरले नचिन्दासम्म निरन्तर काम गरिरहन्छ । तर, चिनेपछि समस्या देखिन थाल्छ । प्रधानमन्त्री ओलीको शरीरले अर्काको मिर्गौला प्रत्यारोपण गरेको १० वर्षपछि चिनेको छ । अर्काको मिर्गौला हो भन्ने चिनेपछि शरीरले अस्वीकार गर्न एन्टिबडिज बनाउन थाल्छ । अहिले प्रधानमन्त्रीको पनि त्यही भएको हो । 

एन्टिबडिज हटाउन ‘प्लाज्मा फेरेसिस’ गर्नुपर्छ । यो प्रक्रियामा रगतबाट एन्टिबडिज निकालिन्छ अथवा एन्टिबडिज बढ्न नदिने औषधि प्रयोग गरिन्छ । यो उपायले कसैलाई फाइदा पनि गर्छ, कसैलाई नगर्न सक्छ । एक–दुईपटक गर्दा सुधार भए थप केही पटक गर्नुपर्छ । एक–दुईपटकमा सुधार नभए थप प्रयास गरिँदैन । तर, मिर्गौलामा सुधार भए/नभएको दुई सातामै स्पष्ट हुन्छ । प्लाज्मा फेरेसिसबाट सुधार नभए मिर्गौला प्रत्यारोपण वा डायलाइसिसमै जानुपर्छ । मिर्गौलाले पिसाबबाट फाल्न नसकेर रगतमा जाम भएको फोहोर डायलाइसिस गरेर हटाइन्छ । डायलाइसिसमा रगत क्रमशः बाहिर निकालिन्छ, सफा गरिन्छ र पुनः राखिन्छ । यसको चक्र हुन्छ । नेपालमा पनि एउटै व्यक्तिमा दुईपटकसम्म मिर्गौला प्रत्यारोपण भएका छन् । दोस्रोपटकको प्रत्यारोपण आयु पनि सामान्यतया पर्याप्त हुन्छ ।  नयाँपत्रिका दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस्