अमेरिकी प्रतिबन्ध थपिएपछि ह्वावेको आपत्ति



पइचिङ : अमेरिकी प्रशासनले आफूमाथि प्रतिबन्ध थपेपछि चिनियाँ दूरसञ्चार कम्पनी ह्वावेले अन्यायपूर्ण कदम भन्दै आपत्ति जनाएको छ। चीनका लागि गुप्तचरी गरेको भन्दै ह्वावेलाई प्रविधि र अन्य सामान बिक्री गर्न अमेरिकी कम्पनीमाथि रोक लगाइएको छ।

अमेरिकाले ह्वावेलाई अमेरिकी सेवा र वस्तु बिक्री गर्न यसअघि लगाइएको प्रतिबन्ध तीन महिना थपेको छ। अमेरिकी वाणिज्य मन्त्रालयले अमेरिकी कम्पनीमाथि ह्वावेको सेवा र वस्तु खरिद बिक्रीमा रोक लगाएको यो दोस्रोपटक हो। पहिलोपटक लगाइएको तीनमहिने प्रतिबन्ध समाप्त भएलगत्तै तीन महिना थप गरिएको हो।

वाणिज्य मन्त्रालयले ह्वावेसँग कारोबार गर्ने ४६ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ। ह्वावेसँग कारोबार गर्ने एक सयभन्दा बढी कम्पनी रहेका छन् र अरूमाथि पनि यस्तै रोक लगाइने सम्भावना रहेको छ।

अमेरिकी अधिकारीहरूले यसै वर्षको शुरुमा पहिलोपटक प्रतिबन्ध घोषणा गरेका थिए। ह्वावेले चिनियाँ गुप्तचर निकायलाई गोप्य सूचना संकलन गरी उपलब्ध गराउने र त्यसबाट राष्ट्रिय सुरक्षामै खतरा उत्पन्न हुने अमेरिकी तर्क छ। ह्वावेले अमेरिकी तर्क हास्यास्पद भन्दै आफू विशुद्ध व्यावसायिक संस्था रहेको दाबी गर्दै आएको छ।

पछिल्लो अमेरिकी प्रतिबन्धका बारेमा विज्ञप्ति जारी गर्दै ह्वावेले भनेको छ, ‘प्रस्टै छ कि यो निर्णय राजनीतिक प्रेरित छ र यसको राष्ट्रिय सुरक्षासँग कुनै सम्बन्ध छैन। अमेरिकी कदमले खुला बजार प्रतिस्पर्धाका आधारभूत सिद्धान्त उल्लंघन गरेको छ।’

ह्वावेले अमेरिकी प्रतिबन्ध कसैको हितमा नभएको र यो अमेरिकी कम्पनीको पक्षमा पनि नभएको स्पष्ट पारेको छ। ह्वावेको व्यवसायलाई दबाउने अमेरिकी कदमले अन्ततः अमेरिकालाई नै हानि गर्ने र प्रविधि क्षेत्रको अगुवा हुने अमेरिकी चाहनालाई ठेस पुर्‍याउने उसले बताएको छ। सोमवारको अमेरिकी कदमपछि पनि ह्वावेले अमेरिकामा निर्मित सेमिकन्डक्टर्स र स्मार्टफोन एवं नेटवर्क उपकरणमा आवश्यक सामग्री खरिद गर्न सक्नेछ। अमेरिकी दूरसञ्चार कम्पनीहरूले ह्वावेका नेटवर्किङ उपकरण किन्न सक्नेछन्।

यसै महिनाको शुरुमा ह्वावेले आफ्नै हार्मोनीओएस अपरेटिङ सिस्टम सार्वजनिक गरेको थियो। अमेरिकी प्रतिबन्धका कारण गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम ह्वावेका स्मार्टफोन र अन्य उपकरणमा प्रयोग गर्न नपाउने सम्भावना बढेपछि ह्वावेले आफ्नै अपरेटिङ सिस्टम प्रयोगमा ल्याउन थालेको हो। अन्नपूर्णपोष्ट दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस्