संसद बैठकमा उठे राँगादेखि ज्योतिषसम्मका विषय



काठमाडौं : भन्सार छलेर काठमाडौं भित्रिएका राँगा, ज्योतिष पेसा सञ्चालन अनुमतिपत्र र स्थानीय तहका लागि लोकसेवा आयोगले खोलेको विज्ञापनसम्बन्धी विषयले प्रतिनिधिसभाको आजको बैठकमा प्रवेश पाएको छ ।

बैठकको शून्य समयमा भाग लिँदै सांसद विरोध खतिवडाले भारतबाट लामो समयदेखि भन्सारमा नाका भएर राँगाभैंसी नेपाल नभित्रिए पनि काठमाडौंमा मम र छोयलाको अभाव नभएको देख्दा चोरी बाटो प्रयोग भएको हुन सक्नेप्रति सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘वार्षिक रूपमा भारतबाट १० हजारको संख्यामा राँगा–भैंसी नेपाल भित्रिने गरेको छ, प्रतिराँगा-भैँसी ८५६ रुपैयाँ राजस्व आउँथ्यो, त्यो गुमेको छ, त्यसतर्फ सरकारको ध्यान पुगोस् ।’

सांसद विमला विश्वकर्माले चिकित्सक, वकिल, इन्जिनियरजस्तै ज्योतिष पेसा सञ्चालनका लागि अनुमतिपत्र अनिवार्य गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराइन् ।

उनले भनिन्, ‘ज्योतिष पेसा सञ्चालन गर्नेको ठूलो आर्थिक कमाइ भएको हुँदा उनीहरूलाई राज्यले करको दायराभित्र ल्याउन जरुरी छ, त्यसका लागि पहिले व्यवसाय सञ्चालन गर्न चाहनेका लागि अनुमतिपत्रलाई अनिवार्य गर्न आवश्यक छ ।’

सांसद मीनबहादुर विश्वकर्माले लोकसेवा आयोगले पछिल्लोपटक स्थानीय तहका लागि लिएको विज्ञापन र त्यसपछिको परिस्थितिको विश्लेषण गर्ने हो भने सरकार संविधानविपरीत हिँडेको तथा नागरिक सरकारलाई संविधानको पालना गर्नुहोस् भनेर चिच्याइरहेको जस्तो देखिएको बताए । यो खबर आजको राजधानी दैनिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्