बागमती प्रदेशमा कोरोना संक्रमण बढ्दै



हेटौंडा । पछिल्लो दिनहरूमा बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि हुनेको संख्या दिनानु दिन बढ्दै गएको छ। नेपालमा पछिल्लो २४ घण्टामा ७ सय १० जनामा कोरोना पुष्टि हुँदा बागमती प्रदेश भित्रका ४१५ जना छन्।

बागमती स्वास्थ्य मन्त्रालयका आयुर्वेद चिकित्सक डा. रबिन भुषालका अनुसार प्रदेशमा बिहीबार २ हजार ४१८ जनामा गरिएको परीक्षणमा ४१५ जनामा अर्थात परीक्षण गरिएका मध्ये १७.१६ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । प्रदेशमा पुष्टि हुने ४१५ जनामा सबैभन्दा बढी काठमाडौं उपत्यका भित्रका रहेका छन्।

बिहीबार उपत्यकाको काठमाडौंमा २९१ जना,ललितपुरमा ६६ जना र भक्तपुरमा २१ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरि, प्रदेशको मकवानपुर,चितवन र काभ्रेपलान्चोकमा ९/९ जनामा संक्रमण पुष्टि हुदाँ धादिङमा ४ जना,नुवाकोट र सिन्धुपाल्चोकमा २/२ जना रहेको प्रदेश स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै,प्रदेशको सिन्धुली र दोलखामा एकएक जनामा संक्रमण पुष्टि हुँदा रसुवा र रामेछापमा भने शून्य जनामा अर्थात एक जनामा पनि संक्रमण पुष्टि भएको छैन् । यसअघि, बुधबार प्रदेशमा ३ हजार ७१७ जनामा गरिएको परीक्षण मध्ये ३२९ जनामा अर्थात ८.८५ जनामा कोरोना पुष्टि भएको थियो । मंगलबार पनि प्रदेशमा २ हजार ३८३ जनामा गरिएको परीक्षणमा ३९९ जना १६.७४ प्रतिशतमा कोरोना पुष्टि भएको थियो ।

बिहीबार प्रदेशमा थप २ सय ८६ जनामा संक्रमण निको हुँदा कोरोनाको कारण थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भक्तपुरका ४९ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । यो संगै बागमतीमा हालसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ५ हजार ३३३ जना पुगेको छ। प्रदेशमा हाल करिब ३ हजारको संख्यामा सक्रिय संक्रमित उपचाररत रहेका छन्।

जसमा २ हजार ७४८ जना होमआइसोलेसनमा उपचाररत रहेका छन् भने समग्र संस्थागत आइसोलेसनमा १११ ,जेनेरल आइसोलेसनमा ४२ जना, एचडीयुमा ४० जना,आइसीयुमा २५ जना र भेन्टिलेटरमा ४ जना उपचाररत रहेको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्