भारतीय विदेशमन्त्री काठमाडौंमा  



काठमाडौं : नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री सुब्रमन्यम् जयशंकर नेपाल आइपुगेका छन् ।  बुधबार १२ः१५ बजे भारतीय विदेशमन्त्री जयशंकर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेका हुन् । 

उनलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए ।

तीन वर्षको अन्तरालपछि नेपाल–भारत दुई पक्षीय समग्र विषयमा छलफल गर्न २५ सदस्यीय उच्च अधिकारीको नेतृत्व उनी गर्दै काठमाडौं आइपुगेका छन् । बैठक दिउँसो ३ बजे बस्दैछ । 

विदेशमन्त्री जयशंकरले बैठकमा सहभागी हुनुअगावै शिष्टाचार भेट गर्नेछन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री ओलीसँग जयशंकरले नेपालको पछिल्लो राजनीतिक अवस्था र दुईपक्षीय सम्बन्धबारे छलफल गर्ने छन् ।

साथै उनले भारतीय दूतावासमा केही राजनीतिक भेटवार्तासमेत गर्ने कार्यक्रम तय भएको छ । उनी विदेश मन्त्रालयको राजनीतिक नेतृत्वमा आएपछि पहिलोपटक नेपाल भ्रमणमा आएका हुन् । 

बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा नेपालका तर्फबाट ३५ जना सहभागी हुने छन् ।

दुवै मुलुकका परराष्ट्रमन्त्रीहरू ज्ञवाली र एस जयशंकरले आआफ्नो धारणा प्रस्तुत गर्नेछन् । त्यसपछि प्रस्तुत एजेण्डामा विषयगत छलफल हुनेछ । 

बैठकपछि ५ भदौमा संयुक्त वक्तव्य जारी हुनेछ ।

परराष्ट्रमन्त्रीस्तरीय आयोग नेपाल–भारतबीचको सबैभन्दा उपल्लो तहको द्विपक्षीय संयन्त्र हो । सन् १९८८ मा पहिलो र सन् २०१४ मा तेस्रो बैठक नेपालमा तथा सन् १९९१ मा दोस्रो र सन् २०१७ मा चौथो बैठक भारतमा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्