सांसद यादवको प्रश्न : आरोप लगाएकै भरमा कसैलाई थुन्न पाइन्छ ?



काठमाडौं : पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको सत्यतथ्य बाहिर ल्याउन सांसदले माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा मुक्ताकुमारी यादवले आत्महत्या गर्ने व्यक्तिले आरोप लगाएकै भरमा कसैलाई थुन्न पाइन्छ कि पाइँदैन भन्नेबारे स्पष्ट कानून आउनुपर्ने बताएकी छिन् ।

उनले  दिनदिनै आत्महत्याका घटना बढिरहेको भन्दै सरकारलाई यस विषयमा गम्भीर हुन आग्रहसमेत गरिन् । उनले भनिन् ‘आत्महत्याको कारण के हो, सरकारले पत्ता लगाउनु पर्छ कि पर्दैन ?’  पत्रकार शालिकराम पुडासैनीको मृत्युका बारेमा समेत प्रश्न उठिरहेको भन्दै उनले पुडासैनीको हत्या हो या आत्महत्या भन्नेबारे सत्यतथ्य बाहिर ल्याउन मागसमेत गरिन् ।

उनले प्रश्न गरिन् , ‘कसैले आरोप लगाउँदैमा थुन्न पाइन्छ कि पाइँदैन ?’ किटानी जाहेरी नपरी रवि लामिछानेसहित तीन जनालाई पक्राउ गरिएको भन्दै उनले सोधपुछका लागि उनीहरुलाई बोलाउन सक्ने अवस्था रहँदा रहँदै कार्यालयमै गएर पक्राउ गर्न जरुरी नरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्