बाघको सङ्ख्या दोब्बर पार्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतामा नेपाल पहिलो



काठमाडौं । १० वर्षभित्र बाघको सङ्ख्या दोब्बर बनाउन नेपालले गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा भएको छ। १ दशकभित्रै बाघको सङ्ख्या दोब्बर गर्ने प्रतिबद्धता जनाएको नेपाल लक्ष्यभन्दा माथि उक्लिएको छ।

१२ वर्षमा बाघको सङ्ख्या झन्डै ३ गुणा बढी वृद्धि भएको छ। १२ वर्षअघि सन् २०१० मा नेपालमा १२१ वटा बाघ थिए । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा ३५५ वटा वयस्क बाघ छन्। शुक्रबार अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा नयाँ तथ्याङ्क सार्वजनिक गरिएको हो ।

यससँगै बाघको सङ्ख्या दोब्बर गर्ने अन्तर्राष्ट्रिय सङ्कल्प गरेका १३ वटा देशमध्ये नेपाल पहिलो बनेको छ। सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा बाघ पाइने विभिन्न १३ वटा देशका राष्ट्राध्यक्ष र सरकार प्रमुख संलग्न पहिलो विश्व बाघ सम्मेलनले सन् २०२२ भित्र बाघको सङ्ख्या दोब्बर गर्ने प्रतिबद्धता गरेको थियो।

नेपालले २०२२ सम्ममा बाघको सङ्ख्या २५० पुर्‍याउने प्रतिबद्धता गरेकामा लक्ष्यभन्दा बढी (१०५ वटा) वयस्क बाघ बढेका छन्। प्रधानमन्त्री एवं राष्ट्रिय बाघ संरक्षण समितिका अध्यक्ष शेरबहादुर देउवाको उपस्थितिमा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै १२८ वटा बाघ पाइएका छन् । त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ छन् ।

४ वर्षको अवधिमा शुक्लाफाँटा र पर्सामा बाघको सङ्ख्या दोब्बर वृद्धि भएको छ । सन् २०१८ को गणनामा २३५ वटा बाघ फेला परेका थिए । सो वर्ष चितवनमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ भेटिएका थिए। त्यसअघि सन् २०१३ को गणनामा नेपालका निकुञ्ज र संरक्षित क्षेत्रमा वयस्क बाघको सङ्ख्या १९८ थियो ।

दक्षिण एसियामा नेपालका अतिरिक्त भारत, बंगलादेश र भुटानमा मात्र बाघ पाइन्छ। त्यसैगरी चीन, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, रुस, थाइल्यान्ड र भियतनामका प्राकृतिक बासस्थानमा मात्र बाघको उपस्थिति पाइएको छ। सेन्ट पिटर्सवर्ग सम्मेलनताका १३ देशमा बाघको सङ्ख्या ३ हजार २०० हाराहारी रहेको थियो ।

सो सम्मेलनले सङ्ख्या बढाएर सन् २०२२ मा ६ हजार हाराहारी पुर्‍याउने प्रतिबद्धता जनाएको थियो । अहिले विश्वभर बाघको सङ्ख्या ३ हजार ९०० हाराहारी रहेको अनुमान गरिएको छ।

सन् १९७३ मा चितवन राष्ट्रिय निकुञ्जको स्थापनापछि नेपालमा बाघबारे अध्ययन, अनुसन्धान हुँदै आएको छ। पिटर्सवर्ग सम्मेलनमा सहभागी भएपछि सरकारले यो दुर्लभ जन्तुका लागि विशेष कार्यक्रम र संरक्षणका अभ्यास थालेको हो।

विश्व बाघ सम्मेलनमा सहभागी भएपछि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा राष्ट्रिय बाघ समिति गठन भएको थियो । २०६७ सालमा गठन भएको समितिमा अर्थ, गृह, रक्षा, वन, कानुनमन्त्रीहरूसहित मुख्य सचिव सदस्य र वन तथा वातावरण मन्त्रालयका सचिव सदस्य सचिव रहने प्रावधान छ ।

समिति गठन भएपछि तत्कालीन सरकारले बाघ, हात्ती, गैँडा जस्ता ठूला र लापोन्मुख जन्तुको सङ्ख्या सुधारका लागि बाँके राष्ट्रिय निकुञ्जको स्थापना र वन्यजन्तु आरक्षको क्षेत्र बढाएर पर्सालाई निकुञ्ज बनाएको थियो । बाघ दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बाघका लागि पर्याप्त आहार र विचरण क्षेत्र नहुँदा मानव बस्तीमा पसेर दुःखद् घटना हुने गरेका बताए।

बाघको संरक्षणबाट पर्यटकीय क्रियाकलाप र आर्थिक उपार्जन बढ्ने उल्लेख गर्दै उनले बाघको बासस्थान व्यवस्थापन गरेर मानव–वन्यजन्तु द्वन्द्व घटाउँदै स्थानीयबासीको जीविकोपार्जनमा जोड दिए। बाघ जस्ता जन्तुबाट मानवीय क्षति बढेको बताउँदै देउवाले भने, ‘यसबाट सचेत हुनुपर्ने समय आएको छ, जनता ठूलो कि जनावर ठूलो भन्ने बहस चलेको छ।’

१२ वर्षअघि समिति स्थापना, पर्सा र बाँके निकुञ्जको स्थापना, चोरी सिकारी नियन्त्रणमा सुरक्षा निकायसहित सबै सरोकारवाला निकायबीचको हातेमालोले बाघलगायत लोपोन्मुख जन्तुको सङ्ख्या सुधार हुन थालेको संरक्षणकर्मी बताउँछन् । मांसहारी जन्तुको विचरण क्षेत्र पहिचान भएका क्षेत्रमा आहारा प्रजातिको वृद्धि, घाँसे मैदान, पानी र बासस्थानको सुधार भएकाले पछिल्ला वर्षहरूमा लोपोन्मुख अवस्थामा पुगेको बाघको सङ्ख्या बढेको उनीहरूको ठहर छ।

सङ्ख्या बढेसँगै आहारा प्रजाति, बासस्थान, मानव र समुदायसँगको द्वन्द्व व्यवस्थापन, चोरी सिकारी नियन्त्रण जस्ता पक्षमा अझ मिहिनेत गर्नुपर्ने वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाल बताउँछन् । ‘भएका बासस्थानको गुणस्तरयुक्त व्यवस्थापन, चुरेलगायतका अन्य सम्भावित बासस्थान क्षेत्रको पहिचान गर्दै संरक्षणका क्रियाकलाप अघि बढाउनुपर्छ’, उनले भने ।

निकुञ्ज र संरक्षित क्षेत्रका अतिरिक्त दाङ, कपिलवस्तु आसपासका भेगमा बाघको उपस्थिति पाइएको छ । २ वर्षअघि डडेल्धुराको चुरे क्षेत्र, इलामको सन्दकपुर गाउँपालिकाको ३ हजार १६५ मिटर उचाइमा बाघ फेला परेका थिए । उच्च भेगमा बाघको चहलपहल र विचरण क्षेत्र विस्तार भइरहँदा संरक्षणकर्मीले संरक्षणका विविध पाटाबारे अनुसन्धानको खाँचो औँल्याउन थालेका छन् ।

द्वन्द्व न्यूनीकरण जरुरी : डा. चिरञ्जीवीप्रसाद पोखरेल, बाघ विज्ञ

विगत ४ वर्षमा नेपालमा बाघको सङ्ख्या निकै उत्साहजनक ढङ्गले वृद्धि भएको छ । सङ्ख्या बढ्दै गर्दा वन्यजन्तु–मानव द्वन्द्व बढिरहेका छन् । बाघको सङ्ख्या बढ्नु मात्र सफलता होइन, मानवसँगको द्वन्द्व बढ्न नदिनुचाहिँ सफल संरक्षण अभ्यास हो।

बाघको सङ्ख्यामा बढेको उत्साहजनक नतिजासँगै बाघ र मानवबीचको द्वन्द्व न्यूनीकरण महत्वपूर्ण पक्ष हो । यसका लागि सरकार, संरक्षणसँग जोडिएका सबै सङ्घसंस्था र समुदायबीच समन्वय हुनु जरुरी छ। मानवसँगको द्वन्द्व घटाउँदै बाघलाई उसको बासस्थानमै सीमित गर्न बासस्थानको सुधार, आहारा प्रजातिको वृद्धिमा ध्यान दिन सक्यौँ भने संरक्षण सफल बन्छ।

बाघ, गैँडा, हात्ती जस्ता हिंसात्मक जन्तुको बासस्थान आसपासमा मानवीय क्रियाकलाप घटाउँदै बाघले मान्छेलाई आक्रमण गर्ने खास कारण पहिचान गर्नुपर्छ । बासस्थान सुधार गर्दै कुन क्षेत्रमा कति बाघ राख्न उपयुक्त हुन्छ भन्ने ठहर पनि गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्