रोकिएन सिधे नुनको बाङ्गो कारोबार



काठमाडौं । सिधे नुनको अवैध व्यापारलाई सरकारले नै संरक्षण गरेको पाइएको छ। बजारमा विभिन्न कम्पनीले सिधे नुन अवैध रूपमा प्याकेजिङ गरी महँगो मूल्यमा बिक्री वितरण गर्दै आएका छन्।

तर, सरकारी निकायले अवैध कारोबारलाई नियन्त्रणमा नलिई थाहा नपाएझैँ गरी संरक्षण गरिरहेको छ। बजारमा उपभोक्तालाई ठग्ने गरी महँगो मूल्यमा सिधे नुनको अवैध कारोबार भइरहेको द नेपालटपले केही समयअघि समाचार लेखेको थियो ।

सिधे नुनको अवैध व्यापार भइरहेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले कारबाहीका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरीसमेत दिएको थियो। कारबाहीका लागि उजुरी दिएको पनि महिना दिन बितिसकेको छ । तर, सम्बन्धित सरकारी निकाय भने अवैध कारोबारलाई नियन्त्रण नगरी बेवास्ता गरेर बसेको छ ।

खाद्य ऐन, २०२३ बमोजिम कुनै पनि उद्योगले खाद्य वस्तु प्रशोधन, उत्पादन तथा प्याकेजिङ गरी बिक्री वितरण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनिवार्य रूपमा अनुज्ञापत्र लिनुपर्ने व्यवस्था छ। तर, सो ऐनको व्यवस्थाविपरीत विभिन्न कम्पनीले बजारमा अनलाइनमार्फत अवैध रूपमा व्यापार गरिरहेका छन् ।

खाद्य ऐनविपरीत सिधे नुनको अवैध कारोबार काठमाडौं अर्गानिक कम्पनी र हिमालयज् पिक कम्पनीले गर्दै आएका छन्। यी कम्पनीले सिधे नुनलाई प्रशोधन तथा प्याकेजिङ गरी अनलाइनमार्फत विक्री वितरण गर्ने गरेका छन् ।

काठमाडौं अर्गानिक कम्पनीका अध्यक्ष भुवन केसीले खाद्य प्रविधि गुण नियन्त्रण विभागबाट लिनुपर्ने कुनै पनि प्रमाणपत्र नलिई ५ वर्षदेखि सिधे नुन अनलाइनमार्फत बिक्री वितरण गर्दै आएको स्वीकारेका छन् ।

अध्यक्ष केसीले आफू जस्ता ठूलाठूला व्यापारीहरूले समेत सिधे नुनको अवैध रूपमा व्यापार गर्दै आएको समेत दाबी गरे। आफुले बिक्री वितरण गर्ने गरेको सिधे नुन अवैध भए भन्सारबाट बोराका बोरा आउने सिधे नुनलाई सरकारले किन नरोकेको ? भन्दै उनले प्रश्नसमेत गरे ।

उनले द नेपालटपलाई आयातीत सिधे नुनलाई प्रशोधन गरी प्याकेजिङ गरेर प्रतिकिलो ३०० रुपैयाँमा बिक्री गर्ने गरेको यसअघि नै जानकारी गराएका थिए । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा अनुगमन गर्दा सिधे नुन नपाएको भन्दै पन्छेर बसेको छ ।

विभागका प्रवक्ता हरि पंगेनीले बजार अनुगमन गर्दा कुनै ठाउँमा नभेटिएको बताए । सिधे नुन बजारमा नपाउँदा विभागले केही गर्न नसकेको उनको भनाइ छ । कम्पनीका सञ्चालकले अनुज्ञापत्रबिना नै बजारमा सिधे नुनको कारोबार गर्दै आएको बताउँदा पनि विभाग कानुनी दायरामा ल्याउन छाडेर चुपचाप बसेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक किशोर खत्रीले सिधे नुनको अवैध कारोबार भइरहेको विभागले जानकारी पाएको बताए । तर, अनलाइनमार्फत बिक्री वितरण गर्ने गरेको हुँदा कारबाही गर्न समस्या भएको उनको भनाइ छ।

उनले खाद्य ऐन, २०२३ बमोजिम विभागबाट अनिवार्य रूपमा अनुज्ञापत्र लिनुपर्ने र आयात गर्नुपर्दासमेत आयातको अनुमति लिनुपर्ने बताए । अनुज्ञापत्रबिना नै बजारमा प्याकेजिङ गरी जो कुनै कम्पनीले खाद्य वस्तु बिक्री वितरण गरेको छ भने खाद्य ऐनअनुसार काबाही हुने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्