नेकपा सचिवालय बैठक बिना निर्णय सकियो 



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निर्णय सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठक केही तयारी नै नगरिएकाले बिना निर्णय सकिएको हो  । 

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले महानगर, प्रवास, आयोगसहित एकताको बाँकी काम टुंगो लगाउने विषयमा छलफल भएको बताए । तर, तयारी नपुगेको बैठक भोली (बिहीबार) बिहान बस्ने गरी सकिएको बताए । 

‘महानगर, प्रवास, आयोग लगायतका कमिटीको एकता टुंगो लगाउने विषयमा आजको बैठकमा छलफल भयो’ प्रवक्ता श्रेष्ठले भने, ‘आवश्यक गृहकार्य नभएकाले भोली बिहान पुनः बैठक बस्नेछ ।’

बैठकमा स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठक बोलाउने विषयमा समेत छलफल भए पनि निर्णय केही हुन सकेन् । 

बिहीबार नै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर जादैछन् । सिंगापुर जानुअघि बिहान ८ बजे बैठक बोलाइएको छ । आजै साझ नेकपा वरिष्ठ नेता झलनाथ खनाल चीन भ्रमणमा जादैछन् । 

तत्कालिन एमाले र माओवादी केन्द्रको बीचमा पार्टी एकता भएको १४ महिना पुगे पनि अहिलेसम्म पोलिटव्युरो कमिटी, आयोग, महानगर कमिटीहरुको टुंगो लाग्न सकेको छैन । 

नेकपाका नेताले पार्टी एकताको बाँकी काम टुंगो लगाउदै देशैभरी जागरण अभियान सञ्चालन गर्ने तयारी गरेका छन् । जागरण अभियानमा पार्टी एकता, सरकारका राम्रा काम लगायतका विषयमा केन्द्रत हुनेछ । 

प्रतिक्रिया दिनुहोस्