दलित महिलाहरूले अघि सारे बजेट सार्वजनिक सहितका विभिन्न माग



जनकपुरधाम : धनुषाको धनौजी गाउँपालिकाका दलित महिलाहरूले गाउँपालिका अध्यक्षसँग विभिन्न मागहरू अघि सारेका छन्।

नेकपाका नेता राजकुमार यादवको अगुवाईमा दलित महिलाहरूले दलितका लागि छुट्याइएको बजेट सार्वजनिक गर्नुपर्ने, बजेट महिलामैत्री हुनुपर्ने, पछिल्लो पटक वितरीत राहतमा भएको अनियमितताको छानबीन र विकास निर्माणमा भएको भ्रष्टाचारको अनुसन्धान लगायतका माग अघि सारेका हुन्।

गाउँपालिका अध्यक्ष बद्रीनारायण सिंहसँग भेटघाट गरी दलित महिलाहरूले आफूहरूको माग चाडै सम्बोधन नभए ज्ञापन पत्र बुझाउनेदेखि धर्ना र कार्यालयमा तालाबन्दी सहितका आन्दोलनमा जाने चेतावनी दिए।

दलित महिलाहरूले दलितको बजेटमा अनियमितता मात्र होइन शिक्षा र स्वास्थ्यको बजेटमा समेत भ्रष्टाचार हुँदै आएको आरोप लगाए।

उनीहरूले सबै औषधि निशुल्क भनिए पनि स्वास्थ्य चौकीहरूमा सिटामोल बाहेक कुनै औषधि नरहेको र बजेटमा सबै औषधि खरीद गरिएको हिसाब देखाउने गरिएको र शिक्षातर्फ दलितलाई छात्रवृत्ति सहितका विभिन्न सुविधा नदिइने गरेको आरोप लगाए।

पालिकालाई खुल्ला दिशामुक्त गर्ने तयारी भइरहेको बेला दलित महिलाहरूले सयौं दलित परिवार शौचालय विहीन रहेको समेत खुलासा गरे। दलित शौचालय निर्माणको नाममा वर्षेनी लाखौ रुपैयाँ भ्रष्टाचार गरिँदै आएको उनीहरूको भनाई छ।

प्रतिक्रिया दिनुहोस्