हिरासतभित्र के गरिरहेका छन् रविले ?



काठमाडौं : चितवन प्रहरीले पत्रकार शालिकराम आत्महत्या प्रकरणका आरोपी रवि लामिछानेका समर्थकविरुद्ध अभद्र दुर्व्यवहार अन्तर्गत मुद्दा चलाएको छ । रविको रिहाइका लागि भएकोे प्रदर्शनमा खराब आचरण र व्यवहार देखाएको भन्दै चितवन प्रहरीले अहिलेसम्म २२ जना विरुद्ध मुद्दा चलाएको हो । 

रविका चारजना समर्थक जनही पाँच सय धरौटीमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालाले साउन ३२ गते गिरफ्तार भई मुद्दा चलाइएका चारजना जिल्ला प्रशासन कार्यालय चितवनबाट पाँच सय रुपैयाँ धरौटीमा छुटेको जानकारी दिए ।

रिहा हुनेमा भरतपुर–४ की ३५ वर्षीया कोपिला न्युरे, भरतपुर १० का ४० वर्षीय गीता भुजेल, भरतपुर–८ का २४ वर्षीय गोविन्द बास्तोला र भरतपुर–७ का १८ वर्षीय प्रवीण गैरे रहेका छन् । 

त्यस्तै, प्रहरीले भदौ २ गतेको प्रर्दशनबाट रवि समर्थक १० जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार भएकालाई अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइएको छ । गिरफ्तार हुनेमा गोरखा भीमसेन गापा–२ वस्ने वर्ष २९ की संगीता पोखरेल, रत्ननगर १३ की वर्ष ३८ की मीरा लामिछाने, भरतपुर १२ की वर्ष ३८ की तारा बराल, भरतपुर–८ की वर्ष २९ की मीरा सुवेदी, भरतपुर–७ की वर्ष २० की समीक्षा ढकाल, सोही ठाउँकी वर्ष ३८ की शर्मिला ढकाल, भरतपुर–१३ का वर्ष २२ को सुरज श्रेष्ठ, भरपतुर–११ को वर्ष ३२ को अर्जुन पन्त, भरतुर–४ को वर्ष ४० को मोहन खतिवडा र भरतपुर–१० को वर्ष ४० को अजय गहतराज रहेको प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताए । उनीहरूविरुद्ध म्याद थप भई अनुसन्धान भइरहेको छ । 

त्यस्तै, साउन ३ गतेको प्रदर्शनमा थप आठजना गिरफ्तार भएका छन् । गिरफ्तार हुनेमा रामचन्द्र पाण्डे, अरुण बानियाँ, बिम्बा कोइराला, लीला सापकोटा, अर्जुन जोशी, प्रकाश जैसी, पार्वता अधिकारी र लक्ष्मी तिमिल्सिनाविरुद्ध बुधबार सात दिनको म्याद थप भएको छ । आरोपितका आफन्त, सहकर्मीसँग सोधपुछको काम भइरहेको प्रहरीले जनाएको छ ।

सात प्रहरी घाइते 

रवि समर्थकको प्रदर्शनमा सातजना प्रहरी घाइते भएको डिएसपी कोइरालाले बताए । प्रहरी जवानहरू चन्द्रभूषण मिश्र, सुवास राणा, दुर्गा बोहरा, कामेश्वर यादव, प्रहरी हवल्दार टेमप्रसाद तिमिल्सिना तथा असइहरू राजेशकुमार मिश्र र सुशिला मिश्र घाइते भएका हुन् । घाइतेमध्ये प्रहरी जवान सुवास राणाको हात भाँचिएकोे छ ।

हिरासतमा पुस्तक पढ्छन् रवि 

सीधा कुरा जनतासँग कार्यक्रमका सञ्चालक रवि लामिछाने साउन ३० गते देखि चितवन प्रहरीको हिरासतमा छन् । हिरासतभित्र रवि के गरिरहेका छन् भन्ने धेरैको चासोको विषय हुन सक्छ । रवि आराम गर्नुका साथै पढ्ने र खेल्ने गर्छन् । भेटघाटबाहेकका समयमा रवि हिरासतमै रहेका अन्य थुनुवासँग समय बिताइरहेका छन् ।  बयान लिन थालेपछि छुट्टाछुट्टै बसेका रवि र युवराज बयान सकिएपछि पुनः एउटै कोठामा बस्न थालेका छन् । नयाँ पत्रिका दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस्