नेकपा नेताहरुबीच चर्काचर्की, देशभरी जागरण अभियान गर्ने



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जानुअघि पार्टी सञ्चालन सम्बन्धित सम्पूर्ण जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएका छन् । 

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र सचिवालय सदस्य माधव नेपालबीच चर्काचर्की भइरहदा ओलीले पार्टी सञ्चालनको जिम्मेवारी दाहाललाई दिएका हुन् ।   

यसैबीच नेकपाले एकता सम्बन्धीको बाँकी काम टुंगो लगाउँदै देशैभरी जागरण अभियान गर्ने भएको छ । पार्टीका अध्यक्षद्वय ओली, दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपालसहित शीर्ष नेताहरु त्यसको तयारीमा जुटेका छन् ।

नेकपाले पार्टी एकताको केन्द्रीत तहको अधिकांश काम पूरा गरिसकेको छ । केही काम मात्रै बाँकी रहेकाले त्यसलाई टुंगो लगाउँदै देशैभरी जागरण अभियान गर्ने तयारी शीर्ष नेताले गरेका हुन् । अभियानको क्रममा सरकारका राम्रा काम, पार्टी एकता, वर्तमान राजनीति अवस्था लगायतका विषयमा चर्चा हुनेछ । 

नेकपाको अहिले सम्ममा पार्टीको सचिवालय, केन्द्रीय कमिटी, प्रदेश, जिल्ला, जिम्मेवारी बाँडफाँड, जनसंगठनको एकता टुंगो लागि सकेको छ । पोलिटव्युरो, महानगर कमिटीको नेतृत्व, आयोगहरुको गठन मात्रै बाँकी रहेको छ । 

३ जेठ २०७५ मा तत्कालिन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकीकरण भएको थियो । तर एक वर्षभन्दा बढी समय बित्दा समेत पार्टीको एकता टुंगो लाग्न नसक्दा त्यसको प्रभाव पार्टीका साथै सरकार सञ्चालनमा समेत परेको छ । नेताहरुले जिम्मेवारी पाउँन नसक्दा पार्टी प्रभावकारी एवं विधान अनुसार सञ्चालन हुन सकेको छैन । टुंगो लागेको कमिटीहरुको बैठक पनि नियमित भइरहेको छैन ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीले पार्टी एकताको बाँकी काम छिटै नै टुंगो लाग्ने बताए । एकताको बाँकी काम छिट्टै नै टुंगो लाग्ने बताउँदै अब सबै कमिटी एवं नेतालाई सक्रियरुपमा देशैभरी जिम्मेवारी अनुसार कार्यक्षेत्रमा खटाइने बताए ।

नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले पार्टीको एकता सम्बन्धी बाँकी काम टुंगो लाग्न नसक्दा त्यसको प्रभाव पार्टीका साथै सरकार सञ्चालनमा समेत परिरहेको बताए । पार्टी र सरकारलाई प्रभावकारी रुपमा सञ्चालनका लागि एकता सम्बन्धी बाँकी काम टुंगो लगाउँने गरी शीर्ष नेता गृहकार्यमा जुटेको उनले बताए । एकताको काम टुंगो लागाउँदै देशैभरी जागरण अभियान सञ्चालन गरिने उनले बताए । 

‘एकताको बाँकी काम टुंगो लगाउँन ढिलाई भएकै हो, तर अब आलटाल नगरी टुंगो लगाउँने गृहकार्यमा शीर्ष नेता जुट्नुभएको छ’ साहले भने, ‘एकताको काम टुंगो लगाउँदै देशैभरी जागरण अभियान शुरु हुन्छ ।’

पार्टी एकताको काम पूर्णरुपमा टुंगो नलाग्दा समय समयमा नेताहरुले नेतृत्व प्रति आक्रोश व्यक्त गर्दै आएका छन् । केन्द्रीय कमिटी गठन हुँदा निर्वाचन आयोगमा दर्ता गर्नका लागि एक पटक बैठक भए पनि अहिलेसम्म त्यस यता बैठक बसेको छैन । नेताहरुको जिम्मेवारी बाँडफाँट अहिलेसम्म भएको छैन । पोलिटव्युरो कमिटी अहिलेसम्म गठन हुन सकेको छैन । यि विभिन्न कारणले नेतृत्वप्रति नेताहरुले आक्रोश व्यक्त गर्दै आएका छन् ।

नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेले छिटै नै एकताको बाँकी काम टुंगो लाग्ने बताए । शीर्ष नेतृत्व एकताको बाँकी काम टुंगो लगाउन गृहकार्यमा जुटेको बताउँदै उनले अब ढिला नगरी टुंगो लगाउँने र देशैभरी महाअभियानको रुपमा जागरण अभियान गरिने उलने बताए ।

‘शिर्ष नेता छलफलमै हुनुहुन्छ, एकताको बाँकी काम छिट्टै नै टुंगो लाग्छ’ पौडेलले भने, ‘दुई ठूला कम्युनिष्ट पार्टीका बीचमा एकता भएपछि सबै कुरा मिलाउन समय लागेको भए पनि सबैले जिम्मेवारी पाउने गरी टंगो लाग्ने गृहकार्य हुनुका साथै देशैभरी जागरण अभियान हुनेछ ।’

एमाले र माओवादी केन्द्रका बीचमा एकता भएपछि कुनै ठोस कार्यक्रम भएको छैन । प्रशिक्षण, भेला, बैठक, सभा लगायतका विभिन्न कार्यक्रम लिएर गाउँगाउँसम्म पुग्ने योजना नेकपाले बनाउँदै छ । केन्द्रदेखी गाउँसम्म सरकारले गरेका राम्रा कामको प्रचार, पार्टी एकताको सन्देश दिने लगायतका विषयमा जागरण अभियान केन्द्रीत हुने कार्यक्रम बन्दैछ ।

सरकारले गरेका कतिपय राम्रा काम बुझाउन नसकिएको बताउँदै सरकारका राम्रा कामका साथै पार्टी एकताका विषय लिएर जागरण अभियान सञ्चालन हुने नेताहरु बताउँछन् ।

‘हामीले पार्टी एकताका साथै सरकारका कामका बारेमा राम्रोसँग बुझाउन जागरण अभियान शुरु गर्दैछौं’ साहले भने, ‘जागरण अभियान गाउँदेखी केन्द्रसम्म हुनेछ, त्यसक्रममा प्रशिक्षण, भेला, बैठक, सभा लगायतका कार्यक्रम हुनेछ ।’

सरकारले गरेका राम्रा काम राम्रोसँग जनताका बीचमा पुग्न नसकेको बताउँदै उनले जागरण अभियानका क्रममा सो विषयमा विस्तृत जानकारी दिने बताए । यसैगरी पार्टी एकतापछि हुने जागरण अभियानले कार्यकर्तामा थप उर्जा आउने विश्वास उनले व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्