थारुको सम्मेलनमा सुरक्षाको चिन्ता



कैलाली : आगामी भदौ ७, ८ र ९ गते टीकापुर हुने थारुवान-थरुहट सम्मेलनमा सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने भएको छ ।

४ वर्षअघि टीकापुरमा भदौ ७ गते भएको टीकापुर हत्या काण्डकै दिन टीकापुरमै गर्न लागिएको सम्मेलनमा सबै खाले सुरक्षा सतर्कता अपनाउने रणनीति सुरक्षा निकायले लिएको छ ।

यसकै सन्दर्भमा जिल्ला सुरक्षा समिति कैलालीको बैठक बसी सुरक्षा सतर्कताका लागि आफ्नो रणनीति तयार गरेको बुझिएको छ ।

जिल्ला सुरक्षा समिति कैलालीको बैठकले आयोजकले कार्यक्रम शान्तिपूर्ण र सामाजिक सद्भाव कायम गर्ने गरी र सो का लागि आयोजकले कार्यक्रममा सहभागिहरुलाई परिचय खुल्ने प्रवेश पासको व्यवस्था गर्ने तथा कार्यक्रमका सहभागिलाई सोही प्रवेश पासका आधारमा सुरक्षा चेकजाँच गरेर मात्र प्रवेश गराउने र आयोजक तर्फका स्वयं सेवकहरुलाई सुरक्षा निकायसँग समन्वय गरेर परिचालन गर्ने निर्णय गरेको बुझिएको छ ।

सुरक्षा समितिले कार्यक्रमका सहभागिले सामाजिक सद्भाव खलबलिने र शान्ति सुरक्षामा असर पर्ने गरी कार्यक्रम अबधिभर कुनै किसिमका नारा जुलुस वक्तव्य र सम्बोधन नगर्ने÷नगराउने कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

कार्यक्रमलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भदौ ६, ७, ८ र ९ गते टीकापुरमा मदिरा सेवन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाउने निर्णय समेत सुरक्षा समितिले गरेको छ ।

कार्यक्रमको सुरक्षा सम्बेदनसिलतालाई ध्यानमा राखेर कार्यक्रम स्तल, आसपासको क्षेत्र र बजार एरियामाकसैले पनि लाठ्ठी, भरेलु हतियार र अन्य हातहतियार बोक्न, प्रयोग गर्न तथा प्रदर्शन गर्न नपाउने र यसो गरेमा सुरक्षाकर्मीहरुले कानुन बमोजिम कारबाही गर्ने समेत निर्णय गरेको छ ।

सुरक्षा समितिको बैठकले शान्ति सुरक्षा कायम गर्न सुरक्षा सुरक्षा निकायले सबै उपाय अबलम्बन गर्ने समेत निर्णय गरेको छ ।

सुरक्षा समितिको बुधबार धनगढीमा बसेको बैठकमा सबै राजनैतिक दलका प्रतिनिधि तथा आयोजकका प्रतिनिधिको समेत उपस्थिती रहेको थियो ।

बैठकले जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्न जिल्ला स्थित सबै राजनैतिक दलहरुले स्थानिय प्रशासनलाई सहयोग गर्ने निर्णय समेत गरेको छ ।

यस्तै बैठकले टीकापुरमा हुने कार्यक्रम शान्ति र सद्भावपूर्ण बनाउन सबै राजनैतिक दलले सहजिकरण गर्ने र आयोजकले स्थानिय प्रशासनलाई पूर्ण सहयोग गर्ने निर्णय समेत गरिएको थियो ।

भदौ ७, ८ र ९ गते टीकापुर हुने थारुवान-थरुहट सम्मेलनमा शान्ति सुरक्षा कसरी कायम गर्ने भन्ने विषयमा जानकारी गराउन तथा सो विषयमा छलफल गर्न आज (बिहीबार) इलाका प्रशासन कार्यालय टीकापुरले एक सर्वपक्षिय बैठक समेत गरेको छ ।

बैठकमा इलाका प्रशासन कार्यालयका प्रमुख हिरालाल चौधरी, टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावल, इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपि मनोहर भट्ट, सशस्त्र प्रहरी बलका एसपी नरेन्द्र सेन, राष्ट्रिय अनुसन्धानका प्रतिनिधि, सबै पार्टीका प्रतिनिधिहरु, टीकापुर उद्योग वाणिज्यका प्रतिनिधि, पत्रकारहरु, होटेल व्यवसायी संघ, रेडक्रस, खानेपानी लगाएतका संस्थाका प्रतिनिधिहरु र थारुवान÷थरुहट सम्मेलनका आयोजकहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्