अँध्यारो दरबारडाँडा : टुकीको उज्यालोमा ट्रान्सफर्मरको रखवारी



  • सुमन दाहाल

हेटौँडा । देश सङ्घीयतामा गएपछि पहिलो पटक २०७४ सालमा स्थानीय तहको निर्वाचन सम्पन्न भयो। निर्वाचन हुनुअघि राजनीतिक दलका नेताहरूले ‘अब गाउँका जनताले भीर, पाखा, जङ्गल, गोरेटो बाटो हिँड्ने दिन गयो, गाउँगाउँमा सिंहदरबार आयो, हाम्रो पार्टीलाई जिताउनुहोस्, ५ वर्षमै सडक, खानेपानी, बिजुली ल्याएर भोग्दै आएको कष्टकर दुःख मेटाउनेछौँ’ भनेर हरेक गाउँगाउँमा भाषण गरे।

‘गाउँमा सिंहदरबार आएको’ ५ वर्षसम्म जनताले अपेक्षा गरेअनुसारका र नेताले बाचा गरेअनुसारका काम भने गर्न सकेनन्। जनताका अपेक्षा भनेका सजिलै हिँड्नका लागि बाटो, खानेपानी, बिजुली र बिरामी पर्दा सजिलै नजिकै स्वास्थ्य संस्था पुगेर उपचार गर्न पाइयोस् भन्ने हुन् ।

पहिलो स्थानीय तहका जनप्रतिनिधिको ५ वर्षको कार्यकाल सम्पन्न भएर दोस्रो कार्याकालका लागि निर्वाचन सम्पन्न भइसक्दा पनि मकवानपुरको बकैया–७ को विकट गाउँ दरबारडाँडाबासीको दैनिकी ५ वर्षअघि जस्तो थियो, आज पनि त्यस्तै छ । अर्थात् ६५ घर धुरी भएको दरबारडाँडामा न गाउँमा सडक पुग्यो, न त बिजुली बत्तीनै बल्यो । तर, सडक नपुगे पनि बिजुलीका लागि भने पोल र ट्रान्सफर्मर भने पुगेका छन् ।

बिजुलीका लागि पोल गाडिएको १ वर्ष नाघिसकेको छ भने ट्रान्सफर्मर भने दोस्रो स्थानीय निर्वाचन हुनुभन्दा ३ महिनाअघि मात्र स्थानीय राजनीतिक दलका नेताहरूले निर्वाचन लक्षित गरेर २ लाख रुपैयाँ भाडा तिरेर हेलिकोप्टर चार्टर्ड गरेर पुर्‍याएका थिए। तर, ट्रान्सफर्मर पुर्‍याएर फर्केका उनीहरूले उक्त स्थानमा बिजुली बल्यो कि बलेन भनेर चासोसम्म दिएनन्।

स्थानीय सञ्चलाल लुङ्वालाई अझै याद छ, निर्वाचनको समयमा गाउँमा नेताहरूले गर्ने ती आश्वासनका भाषणहरू । तर, उनी ती भाषण भन्दा पनि गाउँको पीडा नै बढी सुनाउन चाहन्छन्। द नेपालटपसँग कुरा गर्दै उनले नेताहरू निर्वाचनका बेलामा मात्र गाउँ आएर आश्वासन बाँड्ने तर जितेर गएपछि काम गर्न भने फर्केर नआउने गरेको गुनासो गरे।

‘२०२८ सालदेखि यहाँ बस्ती बसेको छ। अहिलेसम्म बाटो आउन सकेको छैन। बाटो भएको ठाउँसम्म पुग्न हामी स्थानीयलाई साँढे २ घन्टा लाग्छ भने । पहिलो पटक आउनेहरूलाई करिब ४ घन्टा नै लाग्छ’, लुङ्वाले भने, ‘अहिलेसम्म दलहरूले आश्वासन मात्र देखाइरहे।’ उनले गाउँमा रातको समयमा बत्तीका लागि सोलार, टुकी, मैनबत्तीलगायतको प्रयोग हुँदै आएका बताए।

‘यदि बत्ती समयमै आउँदो हो त गाउँमै साना स्वरोजगारमूलक व्यवसाय गर्न सकिन्थ्यो, पानीको सुविधा हुन्थो। चाहेको काम गर्न सकिन्थ्यो। सोलारको बत्ती पनि वर्षा र घाम नलागेको दिन बल्न गाह्रो मान्छ’, उनले भने, ‘चामल, मकै पिस्नकै लागि १ दिनको समय छुट्याउनुपर्छ। धेरै जङ्गल र गोरेटो बाटो हिँड्नुपर्छ । झन यो बर्खाको बेला हिँड्न कहालीलाग्दो हुन्छ। पहिरो आउँछ, रूखहरू ढल्छन्, मरिन्छ कि भन्ने धेरै डर लाग्छ । तर, के गर्नु, खानुपर्‍यो, पेट पाल्नका लागि परिस्थितिसँग लड्नुपर्छ । समस्या हुन्छ नि !’

साढे २ दशक नाघ्दासम्म पुगेन बिजुली
बाग्मती प्रदेशको राजधानी हेटौँडाबाट डेढ घन्टामा मदन भण्डारी राजमार्ग हुँदै बकैया गाउँपालिकाको कार्यालय पुग्न सकिन्छ भने पालिकाको कार्यालयबाट करिब १० किलोमिटरको दूरीमा बकैया– ७ को हर्दासम्म सवारी साधनमा पुग्न सकिन्छ।

हर्दाबाट गोरेटो जङ्गलको बाटो हुँदै करिब ३ घन्टाको पदैल यात्रापछि दरबारडाँडा गाउँमा पुग्न सकिन्छ। तत्कालीन श्रीपुर छतिवन गाविसमा आजभन्दा साढे २ दशकअघि विद्युत् पुगेको थियो। तर, सोही तत्कालीन गाविसको ४ नम्बर वडामा पर्ने दरबारडाँडामा भने आजसम्म पनि बिजुली पुग्न सकेको छै।

गाउँपालिकाकाले आर्थिक वर्ष २०७७/०७८ मा दरबारडाँडा ग्रामीण विद्युत्का लागि १४ लाख ५५ हजार बजेट छुट्याएर काम पनि सुरु गरेको थियो । तर, बजेट अभावका कारण काम अघि बढ्न नसकेको र १ वर्षदेखि रोकिएको उक्त दरबारडाँडा विद्युत् लाइन उपभोक्ता समितिका अध्यक्षसमेत रहेका लुङ्वा बताउँछन्।

उनले ४ किलोमिटर दूरीको बस्तीमा बिजुलीको तार र पोल पुर्‍याउनुपर्ने हुँदा अझै पोल र तारको अभावका कारण पुर्‍याउन नसकिएको र बिजुली ल्याउन नसकिएको बताए। उनले ल्याइएका पोलहरू गाडेर तारहरू पनि टाँगिसकेको सुनाए। अझै तार र १०० भन्दा बढी बिजुलीका पोलहरू आवश्यक रहेको लुङ्वाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्