विकृत बन्दै तीज, लोप हुँदै माईती जाने परम्परा



काठमाडौं : प्रसगं १ : कपिल्वस्तु वुद्धभुमी नगरपालिका ३ की आशा मिश्रलाई मुखैमा आएको तीजको रौनकले खासै छोएको छैन । उनी सम्झिन्छिन् ‘हाम्रो पालामा तिज आउन लाग्यो भन्दा माइती जान पाइनेभयो भनी खुसी हुन्थ्यौँ, अहिलेजस्तो टेलीफोनको सुविधा थिएन, माईतीबाट  लिन आउँथे, नत्र कसैलाई निम्तो पठाउँथे । सासु ससुराले तीज मनाउन माईत जान दिने हुनकी होइनन् भन्ने पिर हुन्थ्यो, सासुले जा बुहारी भन्दा त संसार नै जितेजस्तो हुन्थ्यो, माइतै पुगेजस्तो लाग्थ्यो ।’ 

प्रसंग २ : आफ्ना पुराना दिन सम्झदैँ नवलपुरकी लक्ष्मी पाण्डे भन्छिन् ‘ए नानी के भनौ र ! तीज आयो भनेपछि मन खुसी हुन्थ्यो तीजको अघिल्लो दिन माइती गइन्थ्यो, दर खाइन्थ्यो, गाउँका सबै संगीसँग रातभरी गीत गाउने नाच्ने गरिन्थ्यो । तर नानी अहिले त तीज आउन नपाई ड्याङड्याङ र डुङडुङ माइक बजायो बेतालमा उफ्रियो , मुखले गाउन परेन ।  तीजमा पहिलाको जस्तो रमाइलो हुन छाड्यो अचेल त ।’

हो, हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिएसँगै चहलपहल त बढेको छ तर बिगतमा जस्तो तीजको महत्व भने घट्दै गएको छ । तीजलाई हिन्दु नारीहरुले सौभाग्यको प्रतिकको रुपमा लिँदै आए पनि पछिल्लो समय तीज विकृत बन्दै गएको आभास हुन्छ ।

विवाहित नारीहरुले माइतीमा गएर यो पर्वलाई विषेश रुपमा मनाउने गर्दछन् । अविवाहितहरुले पनि तीजलाई उतिकै महत्वका साथ मनाउने गरेकाछन् । पार्वतीले महादेव स्वामी पाउँ भन्दै तीजको व्रत बसेको र फलस्वरुप महादेवलाई पतिको रुपमा पाएको विश्वासमा हिन्दु नारीहरुले सक्षम र सर्वगुणसम्पन्न पती पाउँ भन्दै तीजको व्रत बस्ने चलन छ ।

समय फेरिएसँगै तीज मनाउने शैली पनि फेरिँदै गएको छ । आफ्नो वेदना पोख्न माइती जाने परम्परा अहिले लोप जस्तै भएको छ । माईत जान छाडेर शहरबजारका पार्टीप्यालेस र रेष्टुरेण्टहरु झकिझकाउ र भरीभराउ देखिन थालेका छन् ।

पछिल्लो समय तीज परम्परा धान्ने भन्दापनि आफुसँग भएका गरगहना देखाउने पर्वको रुपमा विकास हुँदै गएको छ । यस्तैमा नेपाल सरकारले पनि तीजलाई सभ्य तरिकाले मनाउन अपिल गरेको छ । पार्टी प्यालेसमा दर खाने कार्यक्रम गर्न कतिपय स्थानीय तहले रोक समेत लगाएका छन् ।

महिना दिन अगाडिबाट नै ठूलाठूला पार्टि प्यालेसमा दर खुवाउने चलनले तीजको महत्व बढाउने भन्दा पनि धार्मिक महत्व घट्दै गएको र सामाजिक विकृति बढ्दै गएको छ ।

संस्कृतीविद डा. बेञ्जु शर्मा पछिल्लो समय तीज पर्व विकृत बन्दै गएको बताउँछिन् । डा. शर्मा भन्छिन् – ‘जनसँख्या बढ्यो, महिलालाई स्वतन्त्रता पनि बढ्यो, आयस्रोत पनि पछिल्लो समय बढेको छ , तीज विकृत बन्दै जानुको कारण यिनै हुन् ।’ विकृति विरुद्घ जनचेतना जगाउनु पर्ने धारणा डा. शर्माको छ ।

तर तीजमा विकृति बढेको कुरा मान्न तयार छैनन् ,नेपाली काँग्रेसकी नेत्री डिला संग्रौला । उनी भन्छिन्– ‘तीज खुसीको पर्व हो, महिलाहरुबीच मित्रता, शसक्ती र सबलीकरण गराउने माध्यम भएकाले यसले विकृति र विसंगती ल्यायो भन्ने कुरामा म सहमत छैन , तर घाँटी हेरी हाड चै निल्नुपर्छ ।’ 

प्रतिक्रिया दिनुहोस्