समाजवादी र कांग्रेसका सांसदले गरे विद्रोह



जनकपुरधाम : प्रदेश २ को नाम र राजधानीको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र सत्तारुढ समाजवादी पार्टी नेपालका केही प्रदेश संसदले आफ्नै दलको निर्णयको विरोध गरेका छन् । यी दुवै पार्टीका संसदीय दलको बैठकले प्रदेश २ को राजधानी जनकपुरधाम क्षेत्रमा राख्ने निर्णय गरेपनि बारा र पर्सा जिल्लाका सांसदले आफ्नै दलको निर्णयको विरोध गर्दै राजधानी विरगञ्ज महानगरपालिका आसपासमा राख्न छुट्टै प्रस्ताव दर्ता गरेका छन् ।

नेपाली काँग्रेस पर्साका सांसद राजेश्वरप्रसाद साहले वीरगञ्ज महानगरपालिकालाई २ नम्बर प्रदेशको राजधानी बनाउनुपर्ने प्रस्ताव प्रदेश सभामा दर्ता गराएका छन् । तर , उनको पार्टीले आधिकारिक रूपमा जनकपुरधामलाई राजधानी बनाउने प्रस्ताव दर्ता गरेको छ । विद्रोही सांसदको उक्त प्रस्तावमा साहसहित शंकरप्रसाद चौधरी, ओमप्रकाश शर्मा र असियादेवी थरुनीको हस्ताक्षर छ । यी विद्रोही सांसदले प्रदेशको नाम मध्यमधेश प्रदेश राख्न प्रस्ताव गरेका छन् ।

सत्तारुढ समाजवादी पार्टीका सांसद सिंहासन शाह कलवार, प्रह्लाद गिरी गोस्वामी, करिमा बेगम, जनत अन्सारी, अञ्जु यादव, भीमा यादव र रागिनीदेवी बर्णवालले समेत पार्टीको निर्णय विपरीत प्रदेशसभामा छुट्टै प्रस्ताव दर्ता गराएका छन् । प्रदेशको नाममा पार्टीकै निर्णय मान्य भएपनि राजधानीको सन्दर्भमा यी विद्रोही सांसदको फरक मत छ ।

समाजवादी विद्रोही सांसदले प्रदेशको राजधानी विरगञ्ज महानगरपालिकादेखि बिन्ध्यबासिनी, पोखरिया, सखुवा, जितपुर, निजगढ हुँदै सिम्रौनगढसम्म हुनुपर्ने प्रस्ताव गरेका छन् । 

राष्ट्यि समाजवादी पार्टी नेपालले प्रदेशको राजधानी धनुषादेखि महोत्तरीसम्म र नाम ‘मधेस’ राख्नु पर्ने प्रस्ताव दर्ता गरेको छ  भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशको राजधानी बृहत्तर जनकपुर क्षेत्र र नाम ‘जानकी’ राख्नु पर्ने प्रस्ताव पेश गरेका छन् । त्यस्तै काँग्रेसले प्रदेशको  राजधानी जनकपुरधाम र नाम ‘मिथिला भोजपुरा’ राख्न प्रस्ताव पेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्