आफूले दिएको चुइंगम नलिएपछि पतिले पत्नीलाई दिए डिभोर्स



एजेन्सी : भारतको लखनउमा एक पतिले पत्नीलाई चुइंगम चपाउन दिएकोमा उनले अस्वीकार गरेपछि तलाक दिएका छन्। सिम्मी र उनका पति सईद राशिद सोमवार देवानी अदालतमा सुनुवाइमा उपस्थित थिए। पत्नीले आफ्नो वकिलसँग सल्लाह गरिरहेकी थिइन्।

पति सईदले उनलाई चुइंगम दिएपछि उनले स्वीकार गरिनन् अनि त्यही झोंकमा उनले तलाक तलाक तलाक भने। सईद र उनका मातापिताविरुद्ध दाइजो यातनाका विषयमा सिम्मीले मुद्दा हालेपछि त्यसमा सुनुवाइ भइरहेको थियो। ट्रिपल तलाक भारतमा केही मुसलमानहरूले अझै पनि उपयोग गर्ने गरेका छन्। 

यस्तो तलाक बोलेर, लेखेर वा विद्युतीय माध्यमले दिन सकिन्छ अनि यसमा इस्लामिक अदालतको फैसला पनि कुरिरहनुपर्दैन। महिलाले चाहिँ इस्लामिक अदालतको मध्यस्थतामा पारपाचुके लिनुपर्छ। भारतमा ट्रिपल तलाकलाई अवैध घोषित गरेर यसरी दिइएको तलाक मान्य नहुने कानून लागू भइसकेको छ। 

ट्रिपल तलाक दिने व्यक्तिलाई तीन वर्षको कारावास वा जरिवाना सजाय दिने व्यवस्था छ। लखनउका एक अनुसन्धान अधिकारीले सईदलाई यस ऐनअन्तर्गत अनुसन्धान गरिरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्