आरोपितले प्रतिरक्षक वकिललाई मुक्का हिर्काए (भिडियो सहित)



एजेन्सी : अमेरिकाका एरिजोनामा रहेको एक अदालतकक्षमा आरोपितले आफ्नै प्रतिरक्षक वकिललाई मुक्का प्रहार गरेका छन्। ती आरोपितले जेलका अधिकारीलाई टोकेको आरोपमा पुर्पक्षको सामना गरेका थिए। 

लमोन्ट पेन नामक ती आरोपितले पुर्पक्ष चलिरहेको बेलामा न्यायाधीशको कुरा सुनेर उभिरहेका थिए। न्यायाधीशले उनलाई अदालतबाट बाहिर जान भनेपछि पेन उठे अनि आफ्ना कागजात मिलाउन लागेको जस्तो गरे। अचानक उनले भ्लादिमिर गागिकलाई अनुहारमा मुक्का हिर्काए। 

गागिक त्यतिखेर बसिरहेका थिए। उनले छेउतिर गएर आफ्नो घाउ सुम्सुम्याएका थिए भने पेनलाई दुईजना सुरक्षाकर्मीले समातेका थिए। पेनले सन् २०१६ मा मारिकोपा काउन्टी जेलमा एक अधिकारीको घुँडामा टोकेको आरोप छ। 

गागिकलाई मारिकोपा काउन्टी कार्यालयले उनको प्रतिरक्षाका लागि नियुक्त गरेको थियो। गागिकले आफूलाई खासै चोटपटक नलागेको बताए। उनले भने, ‘मैले लगभग २० वर्षदेखि वकालत गर्दै आएको छु र सबै किसिमका पक्ष भेटेको छु तर कसैले पनि पेनको जस्तो व्यवहार देखाएको थिएन।’

गागिकको नाकबाट रगत आएको थियो र अनुहार सुन्निएको थियो। उनले पेनविरुद्ध मुद्दा दर्ता गरेका छन्। पेनलाई अदालतमा आउन अनुमति दिइएको छैन। गागिक अहिले मारिकोपा काउन्टी सार्वजनिक प्रतिरक्षा सेवामा काम गर्दैनन्।

प्रतिक्रिया दिनुहोस्