साइपाल हिमाल अाराेहणमा किर्तिमानी अाराेही पनि असफल



काठमाडाैं : पश्चिमी हिमाल अाराेहणका लागि याे समय उपयुक्त हाे तर साइपाल र अपी हिमालमा कात्तिकमै हिउँ पर्न थालिसकेकाे छ । अर्काे मुख्य बाधक चीन तर्फ रहेकाे भू-भाग मरुभूमी जस्ताे भएकाले त्यहाँकाे हावाकाे बेग साइपाल र अपी हिमाल तर्फ लागिरहने हुन्छ ।

 

हावा र हिउँ पर्ने क्रम शुरु भएकाले अाराेहणलार्इ प्रभावित बनाएकाे छ । अहिले साइपाल हिमालकाे अाधार शिविरमै बस्न निकै गाह्राे हुने गरेकाे अाराेही दलका सदस्यहरु बताउँछन् ।

 

उचाइले अन्य हिमालभन्दा कम भए पनि साइपाल र अपी निकै ठुला चट्टानले बनेका हुँदा अाराेहण गर्न नसकिने अाराेही बताउँछन् । ६० डिग्रीभन्दा बढी भिरालाेमा राेप हान्नै नसकिने भएकाले अहिलेसम्म साइपाल हिमाल अाराेहण हुन नसकेकाे अाराेही टाेलीका सदस्य बताउँछन् ।

 

गत कात्तिक १४ गते अमेरिकी नागरिक र्फोरेस्ट सि कोट्सको नेतृत्वमा रहेको टाेली पहिलाे अाधिकारिक अाराेहण गर्ने प्रयास गरेकाे थियाे । तर अक्टोबर २७ तारिखको बिहान आरोहण दलका सदस्य मध्ये ट्यालेर जोन र वेनार्ड स्ट्राग्लेवस्की ६ हजार ७ सय मिटरसम्म पुगेर फर्किए ।

 

अप्रत्यासित रुपमा तापक्रम घटेको र तिव्र गतिमा हावा चलेका कारण याे टाेली चुचुराेमा नपुगेरै फर्किएकाे थियाे ।


विश्व किर्तिमान ताेडेका अाराेही नै असफल

संसारभर रहेका आठ हजार मिटरभन्दा बढी उचाइका सबै १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गरिसकेका गिनिजबुक रेकर्डधारी स्पेनिश नागरिक डा. जर्ज इगोचेएगा र आठ हजार मिटरभन्दा माथिकै सबै हिमाल चढिसकेकी संसारकी प्रथम महिला एडुर्ने पासावनलगायत १२ जना विदेशी आरोहीको टोली र बझाङ्गी चार युवती पनि अन्तत: अाराेहण गर्न असफल भएका छन् ।

 

कार्तिक १८ गतेदेखि ७ हजार ३१ मिटर उचाईमा रहेको साइपाल हिमालको दक्षिणी मोहडाबाट आरोहण सुरु गरेकाे याे दलका सदस्यहरुमध्ये दुईजना विदेशी र चारजना शेर्पाको टोली साइपाल हिमालको ६ हजार ८ सय मिटरको उचाइसम्म र बझाङकी चार युवती ५ हजार ४ सय मिटर उचाइसम्म पुगेर फर्किएका छन् ।

 

मिसन साइपालका संयोजक भोजराज भाट भन्छन्, 'चिसाे अति नै बढ्याे । हिमपात हुन थालेपछि हिमाल चढ्न समस्या भयाे । साइपाल अरु हिमालभन्दा निकै गाह्राे पनि रहेछ ।'

 

हालसम्म कसैले पनि आरोहण नगरेको साइपाल हिमालमा बझाङ्गी चेलीहरुले देखाएकाे शाहस भने सम्मानयाेग्य छ । पहिलोपटक साइपाल गाउँपालिकाकाकी लक्ष्मी बुढा, संगीता रोकाया, सुर्मा गाउँपालिकाकी पवित्रा बोहरा र तल्कोट गाउँपालिकाकी सरस्वती थापाले हिमाल चढ्ने शाहस गरेकाेमा सबैले खुसी व्यक्त गरेका छन् । यस अाराेहणकाे नाम मिसन साइपाल दिइएकाे थियाे । यसकाे नाममा मिसन साइपाल चलचित्र पनि बन्ने छ । जुन चलचित्र विदेशमा देखाइने संयाेजक भाटले बताए । 

प्रतिक्रिया दिनुहोस्