सामूहिक बलात्कार मुद्दाप्रति अदालत कमजोर, आठौँपटक पेसी स्थगित



काठमाडौं : गौरीगंगा नगरपालिका–११ की युवती माया विकको सामूहिक बलात्कार गरी हत्या गरेकोसम्बन्धी मुद्दाको पेसी आठौँपटक स्थगित भएको छ । बिहीबार तोकिएको पेसी प्रतिवादीका कानुन व्यवसायीको आग्रहमा स्थगित भएको हो । बिरामी भएर औषधी सेवन गरिरहेकाले उपस्थित हुन नसक्ने भनेर प्रतिवादीमध्येका एक गणेश बडुवालका तर्फबाट वकालत गरिरहेका विद्यासुन्दर शाहीले निवेदन दिएकाले पेसी स्थगित भएको कैलाली जिल्ला अदालतले जनाएको छ । 

हालसम्म चारपटक सरकारी वकिल र चारपटक प्रतिवादीका कानुन व्यवसायीका आग्रहमा पेसी स्थगित भएको जिल्ला अदालतका स्रेस्तेदार भुवन गिरीले जानकारी दिए । पछिल्लोपटक गत १२ असारमा प्रतिवादीतर्फका वकिलको आग्रहमा पेसी स्थगित भएको थियो । 

उच्च अदालत दिपायलले गत १७ माघमा पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतकै निर्णयलाई सदर गरेको थियो । अभियुक्तहरू गौरीगंगा–११ का गणेश बडुवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र तपेन्द्र बोगटी पुर्पक्षका लागि थुनामा छन् ।

मुद्दाको पेसी सरेको खबर पाएपछि निराश भएर अदालतबाट फर्केका मायाका बुबा हर्कबहादुरले एक वर्षसम्म सुनुवाइ नहुँदा न्यायको अनुभूति गर्न नपाएको बताए । ‘पटक–पटक पेसी स्थगित हुँदा दोषीलाई उम्काउन खोजिएको हो कि भन्ने शंका उब्जिएको छ,’ उनले भने, ‘मेरी छोरीलाई बलात्कार गरी हत्या गर्नेलाई कारबाही भएको हेर्न चाहना छ ।’ 

१३ महिनासम्म फैसला हुन सकेन

जिल्ला अदालतमा दर्ता भएको बलात्कारसम्बन्धी मुद्दा अंग पुगेको (सबै साक्षी प्रमाण पुगेको) भए एक वर्षभित्रै फैसला गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । तर, सामूहिक बलात्कार गरी हत्या गरिएकी माया विकको मुद्दा भने १३ महिनासम्म फैसला हुन सकेको छैन ।

मायाको मुद्दामा पाँचजनाविरुद्ध जबर्जस्ती करणी, अपहरण र कर्तव्य ज्यानअन्तर्गत गत वर्ष १३ साउनमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । सोही १५ साउनमा अदालतले पाँचैजनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । वादी र प्रतिवादीका तर्फबाट दुई–दुईपटक गरी चारपटक पेसी स्थगित गर्ने व्यवस्था भए पनि यो मुद्दामा आठपटक पेसी स्थगित भएको छ । स्रेस्तेदार गिरीले व्यावहारिकता हेरेर प्रतिवादीको आग्रहमा चारपटक पेसी स्थगित गरिएको बताए ।    

प्रतिवादीको आग्रहमा स्थगित चारवटा पेसीमध्ये मिसिल अध्ययन गर्न नपाएको भनेर एकपटक, बिरामी भएको कारण देखाएर एकपटक र उच्च अदालतमा बहस परेकाले उपस्थित हुन नसक्ने भनेर दुईपटक पेसी स्थगित भएको अदालतले जनाएको छ । ‘कानुनतः सरकारी वकिलका तर्फबाट दुईपटक र प्रतिवादीका तर्फबाट दुईपटक पेसी स्थगित गर्न पाउने हो ।

एउटै प्रतिवादी भए समस्या पनि हुने थिएन,’ गिरीले भने, ‘तर यो मुद्दामा पाँचजना प्रतिवादी छन् र पाँचैजनाले छुट्टाछुट्टै कानुन व्यवसायीले कहिले मिसिल अध्ययन गर्न नपाएको, कहिले स्वास्थ्य स्थिति ठीक नभएको र कहिले बहस गर्न अन्य अदालतमा जानुपर्ने कारणले लम्बिएको हो ।’

फैसलाअघि प्रतिवादी सबैका कुरा पनि सुन्नुपर्छ भन्ने मान्यताले व्यावहारिकता हेरिएको उनले बताए । यस्तै, पुर्पक्षको निर्णयविरुद्ध उच्च अदालतमा रिट परेकाले सरकारी वकिलको आग्रहमा तीनपटक पेसी स्थगित भएको गिरीले जानकारी दिए । मुद्दाको सक्कली मिसिल उच्च अदालतमा पठाइएकाले वादीका तर्फबाट तीनपटक पेसी स्थगित भएको छ । नयाँपत्रिका दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस्