माओवादी र एसमा चुनावी छटपटी



काठमाडौं । गठबन्धन सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोक्न दलहरूबीच छलफल गरिरहेको छ। मिति कहिले तोक्ने भन्नेमा भने गठबन्धन दलहरू अझै निष्कर्षमा पुगेका छैनन्। निर्वाचन आयोगले भने २ मङ्सिरलाई मिति तोक्न सरकारलाई सुझाव दिएको २२ असारमै हो।

निर्वाचन मिति नतोकिए पनि सत्तारूढ गठबन्धनमा रहेका २ दल छटपटीपूर्ण अवस्थामा छन्। ती दल हुन्-नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल घरि समाजवादी केन्द्र निर्माण गर्ने भन्दै छन् त घरि वाम एकता भन्दै छन् ।

५ दलीय गठबन्धनलाई अझ सुदृढ गरेर लाने भन्ने त छँदै छ। यी २ दलको छटपटीपूर्ण गतिविधिप्रति गठबन्धनकै एउटा दल राष्ट्रिय जनमोर्चाका नेता मनोज भट्टको टिप्पणी छ-‘समाजवादी केन्द्र निर्माण गर्ने भन्ने र वामपन्थी दलको एकताको कुरा काङ्ग्रेससँग घुर्की लगाउन हो। अरू केही होइन।’

२ साउनमा सकिएको काङ्ग्रेस केन्द्रीय समिति बैठकले एकल बहुमत प्राप्त गर्ने गरी निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल गर्ने निर्णय गरेको थियो। काङ्ग्रेसको यही निर्णयपछि समाजवादी केन्द्र निर्माणको बहस सतहमा आएको हो।

एकीकृत समाजवादीका नेता झलनाथ खनालका अनुसार तत्कालीनरूपमा निर्वाचनमा वामपन्थी शक्तिहरूको उपस्थिति सशक्त बनाउन र दीर्घकालीनरूपमा वामपन्थी दलहरूलाई एकठाउँमा ल्याउने लक्ष्य समाजवादी केन्द्रको हो। यसो भने पनि उनले सिट प्राप्त गर्न ‘बार्गेनिङ’ संयन्त्रको रूपमा समाजवादी केन्द्र निर्माण गर्ने स्वीकारे।

‘बार्गेनिङ भनेको आफैँमा सङ्घर्ष हो। बार्गेनिङ भन्ने कुरालाई कुनै अनर्थ लिन जरुरी छैन,’ खनालले द नेपालटपसँग भने, ‘एमालेले अरू विभिन्न पार्टीहरूसँग मिल्नुपरे पनि बार्गेनिङ नै हुन्छ। ५ पार्टीभित्र आपसमा तालमेल गर्दा पनि बार्गेनिङ हुन्छ।’ माओवादी अध्यक्ष दाहालको चाहना फेरि प्रधानमन्त्री बन्ने छ।

पार्टीलाई पनि दोस्रो बनाउने भन्ने छ। यतिसम्म कि माओवादीलाई दोस्रो दलको हैसियतमा पुर्‍याउन काङ्ग्रेस जिम्मेवार हुनुपर्ने आशयबाट उनका अभिव्यक्ति सार्वजनिक हुन थालेका छन्। अघिल्लो साता भारत भ्रमण गरेर फर्केलगत्तै आगामी निर्वाचनपछि पार्टीको नेतृत्वमा सरकार बन्नेसमेत भन्न भ्याए प्रचण्डले।

जो सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुन्। तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवाल प्रकरणका कारण राजीनामा दिएका उनको नेतृत्वमा २०७४ मा स्थानीय तह निर्वाचन भएको थियो।

त्यसबेला भन्दा ३० वैशाखमा भएको निर्वाचनपछि पार्टीले १६ स्थानीय तह जितेपछि हौसिएका प्रचण्डमा अस्वाभाविक रूपमा छटपटी बढेको गठबन्धनकै एक दल जनता समाजवादी पार्टी (जसपा) का एक नेताले बताए।

‘उहाँको कुरा सुन्छु, मानौँ यो देशको ठूलो शक्ति नै माओवादी भए जसरी प्रस्तुत हुँदै हुनुहुन्छ। म चाहिँ यो चुनावी छटपटी भन्छु,’ ती नेता भन्छन्। पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराई र नेकपा एकता राष्ट्रिय अभियान पार्टीका नेता वामदेव गौतमलाई साथै लिएर प्रचण्ड र एकीकृत समाजवादीका नेता नेपालले समाजवादी केन्द्र निर्माणको बहस चलाएका हुन्।

समाजवादी केन्द्रलाई वामपन्थी दलहरूलाई एकता प्रक्रियामा ल्याउने मोर्चाको रूपमा विकास गरिने उनीहरूको भनाइ छ। तर, केन्द्र निर्माणमा न प्रगति भएको छ, न त वामपन्थी दलहरूबीच निर्वाचनमा तालमेल, कार्यगत एकता वा पार्टी एकता गर्ने विषयमा नै।

बरु, समाजवादी केन्द्र अन्योलमा परेको छ। वाम एकता त अलपत्र नै छ। ५ दलीय गठबन्धनबीच तालमेल गर्ने निश्चित भए पनि दलहरू पर्ख र हेरको अवस्थामा छन्।

प्रतिक्रिया दिनुहोस्