कहिले आमा बन्लिन् लजालु पान्डु ?



ललितपुर । जावलाखेलस्थित सदर चिडियाखानाका मुख्य आकर्षक जन्तुमध्ये पर्छ रेड पान्डा (हाब्रे)। एकान्त मन पराउने लजालु स्वभावको यो जन्तुलाई प्राकृतिक वातावरणकै झल्को दिन वातानुकूल (एसी) सहितको खोरमा राखिएको छ। विगत ७ वर्षदेखि प्रदर्शनीमा राखिएका हाब्रेको जोडीलाई चिडियाखानाले नाम दिएको छ, ‘पान्डा’ र ‘पान्डु’।

पान्डा (भाले) र पाण्डु (पोथी) ७ वर्ष उमेरका भए। प्राणीशास्त्रीहरू ३ वर्ष पार गरेपछि रेड पान्डालाई प्रजनन्योग्य मान्ने गर्छन्। तर, पान्डा र पाण्डु वयस्क उमेर (७ वर्ष) पार गर्न लाग्दासमेत सन्ततिविहीन छन्।

अन्तर्राष्ट्रिय अभ्यासअनुसारकै वासस्थान (खोर), आहार र हेरचाहमा कमीकमजोरी हुन नदिँदा पनि पान्डा र पाण्डुले सन्तान नपाएका चिडियाखानाकी सूचना अधिकारी लिना चालिसेले बताइन्। उनले भनिन्, ‘वासस्थानका लागि आवश्यक वातावरणसहितको पूर्वाधार छ, उमेर परिपक्व भइसक्यो, प्रजनन् क्रियाकलाप पनि देखाउँछन्।

तर बच्चा भएको छैन।’ रेड पान्डाको प्राकृतिक उमेर अधिकतम् १३ वर्ष हाराहारी मान्ने गरिएकाले पान्डा र पाण्डुले वयस्क उमेर पार गरेका छन्। चिडियाखानाका प्राविधिकले ५ माघ, २०७२ मा पान्डा र पाण्डुलाई रोल्पाबाट ल्याएका थिए । त्यसबेला यो जोडी ६ महिना हाराहारीका थिए। मध्य मंसिरदेखि मध्य माघ रेड पान्डाको प्रजनन् समय हो।

३–४ वर्षअगावै पान्डा–पाण्डुले बच्चा जन्माउने प्राविधिकहरूको अनुमान थियो। त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्रका सह–प्राध्यापक डा. हरि शर्मा नेतृत्वको टोलीले विगत ३ वर्षदेखि यो जोडीको आनीबानी र प्रजनन् प्रक्रियाबारे सूक्ष्म निगरानी गर्दै आएको छ। ‘हामीले भाले–पोथीलाई छुटाछुट्टै राखेर प्रजनन्को उपयुक्त समयमा सँगै राख्यौँ,’ शर्मा भन्छन्, ‘सँगै राखेपछि अपेक्षाअनुसारका गतिविधि पनि पाइयो, तर सफल भएको छैन।’

यो वर्ष पोथीले प्राकृतिक वातावरणमाझैँ गुँडमा पात–पतिङ्गर, झिँजा सङ्कलन गर्न थालेकाले बच्चा हुने सम्भावना बलियो देखिएको उनले बताए । कोरोना सङ्क्रमणका बेला चिडियाखाना बन्द भएर मानवीय क्रियाकलाप शून्य भएपछि शर्माको टोलीले बच्चा हुने अपेक्षा गरेको थियो ।

रेड पान्डाले वर्षमा एकपटक बढीमा ४ वटा बच्चा जन्माउँछ। नेपालमा वन्यजन्तु अनुसन्धाताले २ वटासम्म बच्चा जन्माएको भेटेका छन्। माउ र बच्चा २ वर्ष हाराहारी सँगै रहन्छन्। ताप्लेजुङदेखि कालिकोटसम्म विभिन्न २४ जिल्लामा यो जन्तुको उपस्थिति पाइएको छ।

रेड पान्डा नेटवर्क लगायत सरोकारवाला सङ्घ/संस्थाको अध्ययनअनुसार २ हजार २०० मिटरदेखि ४ हजार ८०० मिटरको उचाइ हाराहारीसम्म रेड पान्डा अभिलेख भएको छ। नेपालभर यसको सङ्ख्या ५०० हाराहारी भएको अनुमान गरिएको छ। नेपाल, भारत, चीन, भुटान र म्यानमारसहित विश्वका ५ देशमा मात्र रेड पान्डा पाइएको छ।

अन्तर्राष्ट्रिय संरक्षण सङ्घ (आइयुसिएन)ले रेड पान्डालाई सङ्कटापन्न सूचिमा सूचीकृत गरेको छ । दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस)ले यो जन्तुको अवैध व्यापार र ओसारपसारमा रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्