विप्लव, ज्ञानेन्द्र र राप्रपाको कनेक्सन



काठमाडौं : माओवादी हिंसात्मक विद्रोहताका तात्कालीन माओवादीले ‘दुश्मनको फौजी नियन्त्रण भएको क्षेत्र राजधानी’मा प्रत्याक्रमणको रणनीति अघि सा-यो । सो रणनीति अन्तर्गत ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ फौजी एक्सन चालिने भयो । तात्कालीन माओवादीका अध्यक्ष एवं सर्वोच्च कमाण्डर प्रचण्डले आफ्ना दाहिने हात मानिने नेत्रविक्रम चन्द विप्लवलाई राजधानी हान्ने अभियानको नेतृत्व लिन आग्रह गरेका थिए, तर विप्लवले त्यसलाई स्वीकार गरेनन् । 

विप्लवको अस्वीकृतीले प्रचण्डको मनमा चिसो पस्यो । गाउँगाउँमा जनताका छोराछोरी मार्दासम्म सक्रिय सहभागिता जनाउने विप्लवले सभ्रान्त, दरबारिया र हुनेखानेको बसोबास भएको राजधानीमा आक्रमण गर्ने अभियानको नेतृत्व लिन अस्वीकार गर्नुको कारण पक्कै दरबारियाहरुसँग विप्लवको हिमचिम हुनसक्छ भन्ने आशंका उत्पन्न भयो ।

आफु ‘विरामी परेको’ भन्दै विप्लवले रणनीतिक प्रत्याक्रमणको जिम्मा नलिएपछि प्रचण्डले त्यसको जिम्मा अर्का डेपुटी कमाण्डर वर्षमान पुन (अनन्त)लाई दिए र अनन्तले थानकोट आक्रमणदेखि २०६२/०६३ को आन्दोलनसम्मको फौजी एवं शान्तिपूर्ण आन्दोलनको नेतृत्व कुशलतापूर्वक निर्वाह गरे । यही कारण अनन्त अहिले पनि प्रचण्ड निकट छन् । 

त्यो बेलादेखि प्रचण्डबाट टाढिएका विप्लव भने शान्ति प्रकृया सुरु हुनासाथ पार्टीबाट अलग भए । आफ्नै नयाँ पार्टी खोले । यति मात्र हैन, प्रचण्डका कुनैबेलाका ‘धर्म पुत्र’ सरह मानिने विप्लव अचेल पूर्व राजा ज्ञानेन्द्रसँग नजिक हुन थालेको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ । केही समययता बढ्दै गएको राजावादी र विप्लव समूहको सक्रियताबीच कुनै न कुनै कनेक्सन हुनसक्ने आशंकाले बल पाउँदै गएको छ । 

उग्र बाम र दक्षिणपन्थी चलखेल

केही समययता मुलुकमा राजावादीहरुको सक्रियता बढ्न थालेको छ । पूर्व राजा ज्ञानेन्द्र र पूर्व रानी कोमलका तस्वीर अंकित सेतो टिसर्ट लगाएका युवाहरु ‘राजा आउ देश बचाउ’ भन्दै हाकाहाकी नारावाजी गर्न थालेका छन् । टिभी प्रस्तोता रवी लामीछानेको बचाउ या समर्थनका नाममा चितवनमा कोकोहोलो मच्चाइरहेको भीडदेखि पूर्व रानी कोमल थाइल्याण्ड प्रस्थानका क्रममा काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा जम्मा भएको भीडसम्मले राजतन्त्र फर्काउने नाराबाजी गरेको देखियो । 

केही महिनाअघिसम्म विशुद्ध भ्रष्टाचारविरोधी अभियानको मात्र नेतृत्व गर्दै आएको दाबी गरिरहेका ज्ञानेन्द्र शाही, सुरेन्द्र भण्डारी र डा. सुरेन्द्र केसीसम्मले परोक्ष/अपरोक्ष राजतन्त्रको पक्षमा वकालत गर्न थालेका छन् । चर्का कुरा गरेर ‘यूट्यूबमा भाइरल भएका’ यी पात्रहरुले पूर्व राजासँग भेटघाटसमेत गरिसकेका छन् । अधिवक्ता बालकृष्ण न्यौपानेदेखि पूर्व सैनिक प्रेमसिंह बस्न्यातसम्मले राजतन्त्रको पक्षमा उत्तेजक धारणा राख्दै आएका छन् । 

पूर्व युवराज्ञी हिमानी शाहले केही साताअघि पूर्व राजा ज्ञानेन्द्रका सन्देशहरु समेटिएको पुस्तक ‘सन्देश संग्रह’ सार्वजनिक गरेर राजावादीहरुको हौसला बढाइदिएकी थिइन् भने पूर्व रानी कोमल थाइल्याण्ड प्रस्थान गर्ने क्रममा छोरा हृदयेन्द्रको अपमान गरेको दाबी गर्दै पूर्व युवराज पारसले डियूटीमा रहेका सईमाथि हातपात र अभद्र व्यवहार गरेर आफ्नो ‘राजतन्त्रकालीन तुजुक’ स्मरण गराइदिएका थिए । 

सत्तारुढ नेकपा, प्रतिपक्षी नेपाली कांग्रेसलगायतका दृष्टिमा ‘प्रतिगामी, पुनरुत्थानबादी र उग्र दक्षिणपन्थी’मानिने राजावादीहरुको सक्रियतासँगै ‘उग्रवामपन्थी अतिवादी शक्ति’ मानिने नेत्रविक्रम चन्दका हिंसात्मक गतिविधि दुवै यतिबेला परिवर्तनकारी शक्तिहरुका लागि चिन्ताको विषय भइरहेको छ ।

उग्रबाम र उग्रदक्षिणपन्थी दोहोरो अतिवादका कारण कतै संविधानसभाबाट प्राप्त उपलब्धी गुम्ने त हैन भन्ने सुर्ता मुलुकका प्रमुख दलहरुमा छाइरहेको छ । र सँगसँगै एउटा प्रश्न पनि उब्जिएको छ, कतै संविधानले सुनिश्चित गरेका संघीयता, धर्म निरपेक्षता र गणतन्त्रलाई समाप्त गर्न विप्लव समूह र पूर्व राजा ज्ञानेन्द्रबीच कुनै सहकार्य त भइरहेको छैन ?

राजावादी र विप्लव समूहको गतिविधि एकसाथ बढ्दै गइरहेको बेला स्वास्थोपचारका लागि सिंगापुर भ्रमणमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजना गरेको सर्वदलीय बैठकमा यसविषयमा गम्भीर छलफल भएको थियो । प्रधानमन्त्री ओलीले राजावादी र विप्लव समूहका अराजक गतिविधि बढ्दै जान थालेकाले संविधान ल्याउन योगदान दिएका परिवर्तनकारी शक्ति एक हुनुपर्ने आग्रह गरेका थिए ।

राज्यलाई कमजोर पार्ने र व्यवस्था नै उल्टयाउने नियतले दक्षिणपन्थी र उग्रवामपन्थी कोणबाट प्रहार भइरहेकोप्रति सर्वदलीय बैठकमा सहभागि सबै नेता सहमत थिए । प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, अर्का अध्यक्ष डा. बाबुराम भट्टराई, राजपाका नेता महन्थ ठाकुरगायतका नेताहरु प्रिवर्तनविरोधी शक्तिहरुका पछिल्ला गतिविधिप्रति सचेत रहँदै त्यसविरुद्ध एकताबद्ध हुन सहमत भएका थिए । 

विप्लव–राजावादी कनेक्सन

माओले भनेका थिए, ‘शत्रुको शत्रु मित्र हुन्छ ।’ 

यतिबेला विप्लव र पूर्व राजा ज्ञानेन्द्रलाई यही सुत्रले नजिक ल्याएको राजनीतिक विश्लेषकहरु बताउँछन् । राजनीतिक आस्था अलगअलग भएपनि विप्लव र ज्ञानेन्द्र दुवै अहिलेको व्यवस्थाको पक्षमा छैनन् । विप्लवका लागि यो दलाल पुँजीवादीहरुको व्यवस्था हो भने ज्ञानेन्द्रका लागि यो गणतन्त्र रुचीकर व्यवस्था हुने कुरै आएन । यही समानताले दुवैलाई एउटै बिन्दुमा ल्याएको हो ।

यही कारण विप्लव समूह र राजावादीहरुबीच अघोषित सहकार्य भएको देखिन्छ । जस्तै, राजावादीहरुले विप्लव समूहको आलोचना गरेको कतै सुनिदैन भने राजावादीहरुको सक्रियतालाई पनि विप्लवले खासै अवरोध पु-याइरहेको देखिदैन । यही कारण पूर्व राजा मुलुकका विभिन्न क्षेत्रमा निर्वाध भ्रमण गरिरहेकै छन् । 

केही समययता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले खुलेरै विप्लवबारे सकारात्मक धारणा राख्दै आएका छन् । गएको जेठ २३ गते पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै थापाले पूर्व राजा ज्ञानेन्द्र र विप्लवलाई समेत राजनीतिको मुलधारमा ल्याउनुपर्ने र त्यसका लागि गोलमेच सम्मेलनको आयोजना गर्नुपर्ने माग अघि सारेका थिए । थापाले प्रस्तुत गरेको र राप्रपा केन्द्रीय समितिबाट पारित राजनीतिक कार्यदिशामा विप्लवलाई ‘माओवादीको पुनरुत्थान’को संज्ञा दिएका मात्र छैनन्, विप्लवलाई प्रतिबन्ध लगाएर दमन गरी हैन, वार्ताबाट मुलधारमा ल्याउनुपर्ने धारणासमेत अघि सारेका छन् । विगतमा माओवादी दबाउन उल्लेख्य भूमिका निर्वाह गरेका शाहीकालीन गृहमन्त्री थापाले विप्लवका हकमा शान्तिवार्ताको दुहाई दिनुले राजावादी र विप्लव समूहबीचको घनिष्ठना छर्लंग पार्छ । 

‘राष्ट्रियता’ नै मिलनबिन्दु

सुत्रका अनुसार जेठको तेश्रो साता विप्लव समूह र राजावादीका नेताहरुबीच राजधानीमा भेटवार्ता पनि भएको थियो, जसमा ‘राष्ट्रियताका सवालमा देशभक्त शक्ति मिलेर जान सकिने’बारे छलफल भएको थियो । सो छलफलमा राष्ट्रियतालाई मिलनबिन्दु बनाएर देशभक्त सबै शक्तिहरुबीच सहकार्य गर्न आफुहरु तयार भएको विप्लव समूहको धारणा थियो । 

विप्लवले आफ्नो भाषणमा विपीको राष्ट्रिय मेलमिलापको नीतिको पनि चर्चा गर्ने गरेका छन् । केही समयअघि बाहिर आएको उनको भाषणमा भनिएको थियो, ‘अहिलेका नेताहरु भारतको दलाल भए । पञ्चायतकालमा भारत निर्वासनमा रहेका विपी कोइराला तात्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको इशारामा चलेनन् । बरु उनी राजासँग मिल्छु भन्दै राष्ट्रिय मेलिमिलापको नीति लिएर स्वदेश फर्किए । राष्ट्रियता भनेको यस्तो पो हुनुपर्छ ।’

राजासँग मिल्ने विपीको मेलमिलापको नीतिको सांकेतिक रुपमा समर्थन गरेर विप्लवले आफुहरु पनि राष्ट्रियताका लागि राजावादीहरुसँग मिल्न तयार भएको सन्देश दिएपछि राप्रपाका नेता कमल थापा हौसिएर विप्लवको प्रशंसा गर्न थालेको सुत्रहरु बताउँछन् । 

यही कारण, हिन्दु राष्ट्रको पक्षमा खुलेर नबोले पनि विप्लव समूहले धर्म निरपेक्षताको भने चर्को विरोध गर्दै आएको छ । केही समयअघि विप्लव स्वयंले भनेका थिए, ‘पश्चिमा डलर र विदेशी दवावमा नेपालमा लादिएको धर्म निरपेक्षता हामीलाई स्वीकार्य छैन ।’ 

विप्लवको यो भनाइबाट पनि राजावादीहरु खुशी भएका थिए, किनकी उनीहरु पनि धर्म निरपेक्षताको विरोध गर्दै आएका छन् र हिन्दु राष्ट्र फर्काउने नारा दिइरहेका छन् । राप्रपाका एक नेताले ‘कम्बोडियामा राजा नरोत्तम सिंहानुक र कम्युनिष्टहरुबीच मिलाप भए झैँ नेपालमा पनि राजावादी र विप्लव समूहबीच मिलाप हुनसक्ने’ जिकिर गरे । 

‘विप्लव समूहमा राष्ट्रवादी भावना पायौं, हामी पनि राष्ट्रिय अखण्डताको पक्षमा छौं । यही मिलनबिन्दुमा हामी सहकार्य गर्न सक्छौं’, ति नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्