१ लाख ९० हजार भारतीय नोटसहित वीरगञ्जबाट दुई जना पक्राउ 



वीरगञ्ज : जिल्ला प्रहरी कार्यालय पर्साले भारतीय जाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । 

प्रहरीको अपराध नियन्त्रण टोलीले वीरगञ्ज २ छपकैया ईदगाहा चौकबाट भारतीय २ हजार दरको ९५ थान जाली नोटसहित उनीहरुलाई बिहीबार बेलुका पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । 

पक्राउ पर्नेमा वीरगञ्ज २ छपकैयाकै बसिर मियाँ सिद्धिकीको ४८ वर्षीय छोरा जमिल अख्तर सिद्धिकी र पर्साको बहुदरमाई नगरपालिका २ वैरिया विर्ताका मोति साहको ३४ वर्षीय छोरा दिलिप कुमार साह रहेको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताए । 

नक्कली (जाली) भारतीय नोटको कारोबार भइरहेको भनि आएको विशेष सूचनाको आधारमा उनीहरुलाई छपकैयाको ईदगाहा चौकबाट पक्राउ गरेको प्रहरी उपरिक्षक राठौंरले बताए । उनीहरुको साथबाट २ हजारको दरले ९५ थान (१ लाख ९० हजार) भारतीय नक्कली नोट बरामद भएको छ । 

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत पर्साबाट नक्कली नोटको कारोबार सम्बन्धी मुद्दामा म्याद थप गराई आवश्यक अनुसन्धानको प्रकृया अगाडि बढाइएको छ । जमिल र दिलिप विगत लामो समयदेखि भारतीय नक्कली नोटको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ । 

‘पर्सा जिल्लाबाट भारतीय नक्कली नोटको कारोबार गर्ने ठूलो गिरोह नै सक्रिय छन्’, प्रहरी उपरीक्षक राठौंरले भने, ‘अहिले दुई जनालाई पक्राउ गर्न सफल भएको छौ । हाम्रो अनुसन्धानको प्रकृया सुरु भइसकेको थप यसमा संलग्न व्यक्तिलाई छिटो पक्राउ गरी सार्वजनिक गर्ने छौं ।’ 

प्रतिक्रिया दिनुहोस्