नेपाल चिनाउँदै विदेशी दूतहरू



काठमाडौं । हिजो मङ्गलबार नाग पञ्चमी । प्रकृति पूजा गर्ने समुदाय र नेपालसहित विश्वभर छरिएका हिन्दूले आ-आफ्नै परम्परा र विधिअनुसार नाग पूजा गरे । नेपालका आमसञ्चार माध्यमले सधैँझैँ नाग पञ्चमीबारेका समाचार प्रकाशन/प्रसारण गरे । परम्परा, जात्रा, धर्म संस्कृतिको प्रचारमा सञ्चारकर्मी र सञ्चार माध्यमभन्दा कम सक्रिय छैनन् नेपालस्थित अमेरिका, अष्ट्रेलिया, चीनसहित विभिन्न देशका राजदूत र दूतावास ।

नाग पञ्चमीबारे नेपालस्थित अमेरिकी दूतावास र अष्ट्रेलियाली दूतावासले आफ्ना सामाजिक सञ्जालमार्फत प्रचार र प्रशंसा गरेका छन् । काठमाडौंको ठमेलमा आफैँले खिचेको तस्वीर दूतावासको सामाजिक सञ्जालमा शेयर गर्दै राजदूत फिलिसिटी भोल्कले भनेकी छन्, ‘ठमेल भ्रमणको क्रममा मैले आफैँ खिचेको पूजास्थलको तस्वीर, आज मनाउने सबैलाई नागपञ्चमीको शुभकामना ।’

त्यसैगरी नेपालस्थित अमेरिकी दूतावासले नक्सालस्थित नागपोखरीमा भइरहेको पूजाआजाबारेका तस्वीर अपलोड गरेको छ । ‘शुभ नागपञ्चमी’, तस्वीर शेयर गरिएको दूतावासको ट्वीटर ह्याण्डलमा उल्लेख छ । प्रसङ्ग नाग पञ्चमीको मात्र होइन नेपालका चाडबाड, धर्म, संस्कृति र परम्पराको प्रचारमा दूतावास र राजदूत ‘अघोषित सद्भावना दूत’झैँ सक्रिय छन् ।

यही साता (१५ साउन)को खिर खाने दिनमा शुभकामना व्यक्त गर्दै अमेरिकी दूतावासले यस दिनको महŒवबारे चर्चा गरेको थियो । ‘तपाईं र तपाईंको परिवारमा खिरको मिठाससँगै यो अवसरलाई किसानहरूको मेहनत र परिश्रमको कदर गर्ने दिनका रूपमा लिने वातावरण बनोस’, दूतावासले भनेको छ ।

नेपालस्थित चिनियाँ दूतावास यस वर्ष नेपालबारेको प्रचारमा केही निष्क्रिय देखिएको छ । तर, अघिपछि नेपाली परम्परा, रहनसहन र जनजीविकाबारे दूतावासले चासो व्यक्त गर्दै आएको छ । गत वर्ष (१८ चैत)मा फागु पूर्णिमाबारेको तस्वीरसहित शुभकामना व्यक्त गर्दै चिनियाँ राजदूत होउ यान्छीले भनेकी थिइन्, ‘नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्न चाहन्छु ।’

अहिले केही निष्क्रिय बने पनि राजदूत होउले २ वर्षअघि नेपाल भ्रमण वर्ष घोषणाताका नेपालका पर्यटकीय क्षेत्र चिनाउने गरेको पहल निकै प्रशंसनीय बनेको थियो । इतिहास, विविधता र प्रकृतिका कारण सुन्दर नेपाल घुम्नलायक रहेको भन्दै राजदूत होउ, पूर्व अमेरिकी राजदूत र्‍यान्डी बेरी र अन्य देशका राजदूतले नेपाली परिकार, आफू पदयात्रामा गएका तस्वीर र भिडियो प्रचार गरेका थिए ।

नेपालको संस्कृति र पर्यटन प्रवद्र्धनमा नेपाली राजदूतहरू र सद्भावना दूतहरूको भूमिकाम हत्वपुर्ण मान्ने गरिन्छ । विदेशस्थित नेपाली दूतावास र नियोगले नेपालबारेको प्रचारमा प्रभावकारी भूमिका नखेलेका भनेर आलोचनासमेत हुने गर्छ । कार्य अवधि अगावै राजदूतहरूलाई फिर्ता बोलाइँदा, दूतावास र नियोगलाई पर्याप्त स्रोत, साधन उपलब्ध नहुँदा विदेशमा नेपाली संस्कृति र पर्यटनबारे पर्याप्त प्रचार नभएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूको स्वीकारोक्ति छ ।

तर, संस्कृति र पर्यटनसँग सम्बद्ध निजी क्षेत्रका व्यक्तिहरू भने उपयुक्त पात्र राजदूत नियुक्त नहुँदा, राजदूतको व्यक्तित्व र सञ्चार कौशलको कमजोरीले नेपालबारे यथोचित प्रचार नभएको बताउँछन् । पर्यटन व्यवसायी योगेन्द्र शाक्य भन्छन्, ‘विदेशका नेपाली दूतावासहरूले जनसम्पर्क सुधार्न ध्यान दिएका पाइँदैन, सही मान्छे सही ठाउँमा राजदूत र सद्भावना दूत नियुक्त नहुँदा रिजल्ट राम्रो हुन सकेको छैन ।’

विषय बुझेका, कूटनीतिक कौशल भएका राजदूतहरूले नियमित बजेटमै नेपालबारे प्रचारप्रसार गर्ने भए पनि धेरै राजदूतहरूका लागि बजेट र स्रोत, साधन आफ्ना कमजोरी ढाकछोप गर्ने बहानाबाजी बन्ने उनको बुझाइ छ । बरु, नेपालस्थित विदेशी नियोग र दूतावासले प्रत्यक्ष/अप्रत्यक्ष ढङ्गमा नेपालको संस्कृति र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएका श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्