‘काउन्टर’ गठबन्धनको गृहकार्यमा ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ दलीय गठबन्धनलाई ‘काउन्टर’ दिन चाहेका छन् । उनले त्यसका लागि साना वाम दलहरूलाई एकताबद्ध गर्न प्रयास गरिरहेका छन् । एकताबद्ध गरेर जाँदा गठबन्धनलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनौती दिन सकिने ओलीको अड्कल हुन सक्ने विश्लेषण पनि हुन थालेको छ ।

सोही विश्लेषणमा बल पुग्नेगरी मङ्गलबार ओलीले २०४० को दशकका आफ्ना नेतासमेत रहेका माले महासचिव सीपी मैनालीलाई भने, ‘अलग बस्नुपर्ने कुनै कारण छैन ।’ यो एकता प्रक्रियामा आउन घुमाउरो शैलीमा मैनालीलाई गरिएको ओलीको आह्वान हो । मैनाली नातामा ओलीका आफन्त पनि हुन् ।

१९ कात्तिक २०७२ मा ओलीकै मन्त्रिपरिषद्मा मैनाली उपप्रधान तथा महिलामन्त्री भएका थिए । उनै मैनालीसँग एउटै आन्दोलनबाट आएको भन्दै ओलीले निर्वाचनमा तालमेल मात्र गर्न नहुने भन्दै एकतामा जोड दिए । ‘ए बाबा ! ठूलो भाँडामा पकाएको ढिँडो खाऔँ न फेरि यत्रो भाँडो के… आउनुहोस् । सँगै मिलेर काम गरौँ र यत्रो चुनौती प्रतिक्रियावादीले खडा गरेका छन्’, कम्युनिस्ट नेता तुलसीलाल अमात्यको स्मृति दिवसमा ओलीले भने, ‘के हामीले उनीहरू जस्तो चुनावी तालमेल गर्ने हो र ?’
मैनाली मालेका संस्थापक महासचिव हुन् । उनकै नेतृत्वको मालेमा केन्द्रीय सदस्य रहँदा भूमिगत भएको सम्झिँदै एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य भन्छिन्, ‘उहाँ मेरो महासचिव हुनुहुन्थ्यो । आज अध्यक्ष ओलीसँग मञ्चमा सँगै देख्दा गज्जब लाग्यो । यस्तै उठबसले भावनात्मक एकता हुने हो ।’उपाध्यक्ष शाक्यले पनि माले मात्र नभई अन्य साना वाम दलहरूलाई पनि एकतामा आउन ओलीले जसरी नै आग्रह गरेकी छन् ।

‘समाजवादी क्रान्तिको आधार खडा गर्न समाजवाद गन्तव्य हुने वाम दलहरू एक ठाउँमा हुनुपर्छ’, उनले द नेपालटपसँग भनिन्, ‘निर्वाचनअघि नै एमालेसँग सबै वाम दलहरू एकताबद्ध हुनुपर्छ ।’ एमालेको सातौँ महाधिवेशनदेखि मैनाली अलग छन् अर्थात् महाकाली सन्धिप्रति विमति जनाउँदै २०५४ सालदेखि एमालेसँग मैनाली छैनन् ।

उनै मैनाली नेतृत्वको मालेलाई मात्र होइन, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि एकता प्रक्रियामा जोड्न ओलीले चाहेका छन् । ओली ती नेता हुन्, जसले २१ फागुन २०७७ मा सशस्त्र विद्रोह गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’को नेकपालाई ३ बुँदे समझदारी गर्दै शान्तिपूर्ण राजनीतिक प्रक्रियामा ल्याएका थिए ।

ओली २८ असार २०७८ मा प्रधानमन्त्री छँदा ओली–विप्लव भेटघाट बाक्लो थियो । स्थानीय निर्वाचनअघि पनि भेट नभएको भने होइन । उपाध्यक्ष शाक्यले विप्लव एकता प्रक्रियामा तत्काल आउन नचाहे पनि उनका कार्यकर्ताहरू भने धमाधम एमालेमा आइरहेको बताइन् । उनले भनिन्, ‘नवलपुरतिर पुगेर हालै काठमाडौं आएँ । यो क्षेत्र विप्लव कमरेडकै हो । मैले उहाँका पार्टीका थुप्रै नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराएर आएँ ।’

चन्द नेतृत्वको नेकपा र मैनाली नेतृत्वको माले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पनि सहभागी भएका थिए । तर, एउटा पनि स्थानीय तह जितेनन् । यिनै २ दललाई ओली एकता प्रक्रियामा ल्याएर ५ दलीय गठबन्धनविरुद्ध खडा हुने देखिएका छन् । नेपाली काङ्ग्रेस नेतृत्वको ५ दलीय गठबन्धनमा जनता समाजवादी पार्टी र ३ कम्युनिस्ट पार्टी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा छन् ।

यी सबै दलबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने समझदारी भइसकेको छ । यसअघि स्थानीय निर्वाचनमा पनि यिनीहरूबीच तालमेल भएको थियो । तालमेलकै कारण एमाले स्थानीय तहमा दोस्रोमा खुम्चियो । र, फेरि गठबन्धन दलहरू दुवै तहको निर्वाचनमा तालमेल गर्ने समझदारीमा पुगेपछि ओलीले पनि साना वाम दलहरूलाई एकतामा ल्याउन जोडबल गरिरहेका हुन् । उनी नेतृत्वको एमाले प्रतिनिधिसभामा पहिलो दलको हैसियतमा छ ।

प्रतिक्रिया दिनुहोस्