जडिबुटी बेचेर समृद्ध नेपालको कोरा सपना



  • डा. रामदेव पण्डित

काठमाडौं । वनस्पति र मानवबीचको अन्तक्र्रियासम्बन्धी अध्ययन गर्ने विज्ञानलाई ‘इथ्नोबोटनी’ भनिन्छ । कुनै पनि स्थान विशेषमा पाइने वनस्पतिहरूको तथ्य एवं तथ्याङ्क सङ्कलित पुस्तकलाई ‘फ्लोरा’ भनिन्छ । उपलब्ध भएजति सबै वनस्पति ‘औषधीय वनस्पति’ (जडिबुटी)का रूपमा प्रयोग हुँदैनन् । आधुनिक अनुसन्धानबाट स्थापित, परम्परागत अभ्यास (शास्त्रहरूमा उल्लेखित) एवं लोकजीवनमा औषधिका रूपमा प्रयोग हुने वनस्पतिहरूलाई मात्र जडिबुटीको रूपमा प्रयोग गरिन्छ ।

परम्परागत अभ्यास (शास्त्रहरूमा उल्लेखित) एवं लोकजीवनमा औषधिको रूपमा विभिन्न जाति, जनजाति विशेषले प्रयोग गर्ने वनस्पतिहरूको जैवरसायनिक औषधीय तत्वसँग तुलनात्मक अध्ययन गर्नुलाई ‘इथ्नोमेडिसिन’ भनिन्छ । हिजोआज आयुर्वेदीय ग्रन्थहरूमा उल्लिखित औषधीय वनस्पतिहरूको ‘इथ्नोमेडिसिनल’ पक्षको अध्ययन व्यापक रूपमा भइरहेको छ ।

पृथ्वीमा लगभग १० लाखभन्दा बढी जनावर र लगभग ५ लाखभन्दा बढी प्रकारका वनस्पति पाइन्छन् । पृथ्वीको ० दशमलब ०३ प्रतिशत र एसिया महादेशको ० दशमलब ३ प्रतिशत भूभाग ओगटेको नेपालमा ३५ प्रकारका वन जङ्गल र ११८ प्रकारका पारिस्थितिक प्रणाली (इकोसिस्टम)को विविधता पाइन्छ ।

दक्षिण–पूर्वी तराईको ५९ मिटर (मुखियापट्टी गाउँपालिका, धनुषा जिल्ला) उचाइको समथर जमिनदेखि पूर्वी हिमालको ८ हजार ८५४ मिटर (खुम्बू पासाङल्हामु गाउँपालिका, सोलुखुम्बू जिल्ला) उचाइको भगौलिक विविधता नेपालको विशेषता हो । यही विविधता नेपालको वानस्पातिक विविधताको प्रमुख कारण हो ।

औषधीय वनस्पतिहरूको प्रयोग, खेती एवं व्यापारलाई समृद्ध नेपालको आधारको रूपमा धेरै स्थानमा तथ्य एवं तथ्याङ्कको रूपमा प्रस्तुत गरिएको छ । यस आधारको सत्य जाँच व्यावहारिक रूपमा गरिनु जरुरी छ । जडिबुटीको विविधता भए पनि भूगोल सानो भएकाले व्यापारका लागि नेपालमा पर्याप्त परिमाणको जडिबुटी छैन । थोरै बेचेर समृद्धि सम्भव छैन । थोरै भएका जडिबुटीहरूलाई खेती गरेर बढाउन सकिन्छ होला नि ! त्यो सम्भव छैन किनभने दैनिक रूपमा खाइने भातका लागि चामल त नेपालले विदेशबाट खरिद गरिरहेको छ ।

खेतीयोग्य जमिनमा नेपालीका लागि मात्र आवश्यक धान पनि उत्पादन भएको छैन । वास्तविकता यस्तो भएको अवस्थामा व्यापार गर्न सकिने गरी जडिबुटी खेती गर्न सकिन्छ भन्ने तर्क कल्पना मात्र हो । कुनै बेला प्रशस्त पाइने, प्राकृतिक रूपमा उम्रिने र हुर्किने जडिबुटीहरूको निर्बाध सङ्कलन एवं व्यापार गरिएकाले अहिले ती जडिबुटीहरू लोपोन्मुख वनस्पतिको सूचीमा परेका छन् । देशको वानस्पतिक विविधता नाश गरेर समृद्धिको कल्पना गर्नु मूर्खता हुन्छ ।

नेपालमा औषधीय वनस्पतिहरूको अधिकता १ हजारदेखि माथि २ हजार ५०० मिटरसम्ममा पाइन्छ । उच्च मूल्यका वनस्पतिहरू ४ हजार मिटरभन्दा माथिको भूभागमा पाइने गर्छन् । कम मूल्य भएका वनस्पतिहरू २ हजार मिटरभन्दा तलकै भू-भागमा पाइन्छन् । नेपालमा वनस्पतिको अनुसन्धान सन् १८०२-१८०३ मा ब्रिटिसहरूबाट भएको मानिन्छ । २२० वर्षको अन्तरालमा नेपालबाट १ हजार ६०० नयाँ फूल दिने (एन्जियोस्पर्म) पत्ता लगाउने काम गरिएको छ ।

वनस्पति विभागले सन् २०१३ सम्म २८२ बटा इन्डेमिक एन्जियोस्पर्म वनस्पतिको रिपोर्ट प्रकाशन गरेको छ । सन् २०१६ मा राजभण्डारी एवं समूहले ३२४ वटा इन्डेमिक एन्जियोस्पर्म वनस्पतिको रिपोर्ट प्रकाशन गरेको छ, जसलाई परिमार्जन गरी सन् २०१७ मा ३१२ बनाइएको थियो । नेपालमा जम्मा १३ हजार वनस्पतिका प्रजाति रहेका अध्ययनहरूले बताउँछन् । बोटानिकल सोसाइटी अफ नेपालद्वारा प्रकाशित ‘प्लान्ट डाइभर्सिटी इन नेपाल’ जर्नलको २०२० अप्रिलको अङ्कमा सङ्गीता राजभण्डारी एवं समूहको अनुसन्धानअनुसार हाल नेपालमा १ हजार १ प्रजातिका अल्गी (१२ प्रजाति इन्डेमिक), २ हजार ८२ प्रजातिका फन्जी (१३१ प्रजाति इन्डेमिक), ८५० प्रजातिका लाइकेन (४८ प्रजाति इन्डेमिक), १ हजार २१३ प्रजातिका ब्रायोफाइट्स (३० प्रजाति इन्डेमिक), ५५० प्रकारका टेरिडोफाइट्स र ४१ प्रकारका जिम्नोस्पर्म पाइन्छन् ।

अल्गी, फञ्जी, लाइकेन, ब्रायोफाइट्स र टेरिडोफाइट्सहरू औषधीय दृष्टिकोणले कम महत्वपूर्ण मानिन्छन् । फूल दिने (एन्जियोस्पर्म) वनस्पतिहरू औषधीय दृष्टिकोणले बढी महत्वपूर्ण मानिन्छन् । उपर्युक्त अध्ययनकै अनुसार नेपालमा फूल दिने (एन्जियोस्पर्म) वनस्पतीय प्रजातिहरूको तथ्याङ्क ५ हजार १६० देखि ६ हजार ९७३ बताएको छ ।

सन् १९७८, १९७९ र १९८३ मा हरा एवं समूहले गरेको अध्ययनमा ५ हजार १६०, सन् १९९४ मा कोबा एवं समूहले गरेको अध्ययनमा ५ हजार ८३३, सन् २०००, २००१ र २००५ मा प्रेस/विष्ट/श्रेष्ठ एवं समूहले गरेको अध्ययनमा ५ हजार ३४५ , सन् २००० र २०१४ मा ग्रुमब्रिज एवं समूह/एमफस्फीले गरेको अध्ययनमा ६ हजार ९७३, सन् २०१० मा कुँवर एवं समूहले गरेको अध्ययनमा ६ हजार ६५३ र सन् २०१७ मा राजभण्डारी एवं समूहले गरेको अध्ययनमा ५ हजार ३०९ यसको सङ्ख्या उल्लेख गरिएको छ ।

निरन्तर रूपमा नयाँ नयाँ प्रजातिहरू पत्ता लगाउने काम भइरहेको छ । अतः नेपालमा फूल दिने (एन्जियोस्पर्म) वनस्पतिको यो सङ्ख्या पनि बढ्ने आशा गरिएको छ । ‘जर्नल अफ इथ्नोबायोलोजी एन्ड इथ्नोमेडिसिन’मा सन् २०२२ अप्रिल अङ्कमा प्रकाशित रिपु कुँवर एवं समूहद्वारा गरिएको अध्ययनअनुसार नेपालमा १ हजार ५१५ देखि २ हजार ३३१ प्रजातिका औषधीय एवं सुगन्धित वनस्पतिहरू पाइन्छन् ।

सन् १९७५ देखि २०२१ जुलाईसम्म प्रकाशित २७५ वटा अनुसन्धानहरूको अध्ययन एवं नेपालका २३ स्थानमा २०१७ देखि २०२० सम्म जनजाति बस्तीहरूमा गरिएको स्थलगत भ्रमणबाट निकालिएको निषकर्षअनुसार नेपालमा १ हजार ७६२ वटा जडीबुटीहरू ८ हजार ७३७ प्रकारका विभिन्न स्वास्थ समस्यामा प्रयोगमा छन् ।

अध्ययनकै अनुसार घोडतापे्र नेपालका ५७ जिल्लामा, बोजो ५६ जिल्लामा, कुरिलो ४९ जिल्लामा, आकाशबेली ४७ जिल्लामा र अपामार्ग ४६ जिल्लामा प्रयोग गरिन्छ । ‘मेडिसिनल एन्ड एरोमैटिक डाटाबेस अफ नेपाल’का अनुसार नेपालमा १ हजार ६२४ थरी औषधीय वनस्पति पाइन्छन्, जसमध्ये १०० प्रजातिको वार्षिक रूपमा किनबेच हुनेगर्छ । १०० मध्ये पनि २३ प्रजातिहरू वार्षिक रूपमा अधिक मात्रामा किनबेच हुने गरेका छन् । देशमा सङ्कलन गरिने औषधीय वनस्पतिहरूमध्ये ८५ प्रतिशत मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रबाट सङ्कलन हुने गर्छ ।

जडिबुटी नेपाली समाज, संस्कार, संस्कृतिको अभिन्न पक्ष हो । नेपाल जडिबुटीको धनी देश हो तर जडिबुटी बेचेर देशको आर्थिक समृद्धि सम्भव देखिँदैन । उपलब्ध जडिबुटीजन्य सम्पदाबाट नेपालीले आफ्नो उपचार गर्न भने सक्नेछन् साथै त्यसैलाई पर्यटनको आधार बनाउने सम्भावना पनि उत्तिकै छ । विभिन्न कारणले धेरै जडीबुटीहरू लोप हुने अवस्थामा पुगेका छन्, जसको संरक्षणमा देश सचेत हुनुपर्छ । भविष्यका पुस्ताहरूका लागि जडिबुटीहरूको संरक्षणका लागि यो अति नै संवेदनशील समय हो ।

प्रतिक्रिया दिनुहोस्