कृषि क्षेत्रमा प्लास्टिक : स्वास्थ्य एवं पर्यावरणमा जोखिम



  • डा. केदार कार्की

काठमाडौं । कृषि पशुपालन प्रणालीको आपूर्ति शृङ्खलामा प्रतिवर्ष करिब १ करोड २५ लाख टन प्लास्टिकको प्रयोग भइरहेको अभिलेख पाइन्छ । यसबाहेक ३ करोड ७३ लाख टन प्लास्टिकको उपयोग प्रतिवर्ष खाद्यान्न उत्पादनहरूको भण्डारण एवं प्याकेजिङका लागि गरिन्छ । खाद्य कृषि सङ्गठनले हालै जारी गरेको प्रतिवेदनमा यो तथ्य उल्लेख छ, जसका अनुसार प्लास्टिकले खाद्य सुरक्षा, स्वास्थ्य एवं पर्यावरणका लागि ठूलो चुनौती सिर्जना गरेको छ ।

प्रतिवेदनका अनुसार जहाँ फसल उत्पादन एवं पशु धनमा प्रतिवर्ष १ करोड २ लाख टन प्लास्टिक उपयोग हुँदै छ । माछा पालन एवं एक्वाकल्चरमा करिब २१ लाख टन प्लास्टिकको प्रयोग प्रतिवर्ष गरिन्छ, जबकि वन, जङ्गलसँग सम्बन्धित गतिविधिहरूमा प्रतिवर्ष २ लाख टन प्लास्टिकको प्रयोग हुने गर्छ । विचारणीय कुरा यो पनि छ कि विश्वभर जसरी समुद्री तटहरू एवं महासागरहरूमा प्लास्टिक फोहोरको मात्रा बढ्दो छ, त्यसले पछिल्ला केही वर्षहरूमा सबैको ध्यान आकर्षित गरेको छ ।

तर, खाद्य कृषि सङ्गठनका अनुसार जुन भूमिको उपयोग हामीले आफ्नो भोजन एवं बालीनाली लगाउन गरिरहेका छौँ, त्यो महासागरभन्दा धेरै बढी मात्रामा प्लास्टिकबाट दूषित हुँदै छ । महासागरहरूको तुलनामा कृषि क्षेत्रमा उपयोग गरिने प्लास्टिकको सूक्ष्मीकरण, जसलाई माइक्रोप्लास्टिकका रूपमा चिनिन्छ, ती माटोमा विलीन भइसकेका छन् । प्रतिवेदनअनुसार प्लास्टिकको सबैभन्दा बढी उपयोग एसियाली क्षेत्रमा हुने गरेको छ, जुन विश्वस्तरमा कृषिका क्षेत्रहरूमा उपयोग गरिएको कुल प्लास्टिकको आधा हो । माइक्रोप्लास्टिकबाट कुनै पनि ठाउँ सुरक्षित छैन ।

सन् १९५० को दशकमा प्लास्टिकको उपयोग सुरु भएपछि आफ्नो अनगिन्ती विशेषताका करण यसको उपयोग प्रतिवर्ष बढ्दै गयो । सन् २०१५ सम्मको तथ्याङ्कअनुसार विश्वमा करिब ६३० करोड टन प्लास्टिकको उत्पादन भइसकेको थियो, जसमध्ये ८० प्रतिशतको विसर्जन सही तरिकाबाट भएन ।

यसको अर्थ यस प्लास्टिकको केही न केही अंश आज पनि हाम्रो वातावरणमा अवस्थित छ, जसले जल, माटो एवं वायुलाई प्रदूषित गर्दै छ । आफ्ना गुणहरूका कारण कृषि क्षेत्रमा प्लास्टिकको उपयोग बढ्दो छ । यसबाट बनेका औजार एवं उपकरण, जसले कृषि उत्पादकत्व बढाउनमा सहयोग गरेका छन् । मौसमको मार अनि किरा, फट्याङ्ग्रा तथा झारपातबाट बचाउन पनि किसानले प्लास्टिक सिटको प्रयोग गर्छन्, जसले गर्दा तिनको बालीनाली सुरक्षित रहोस् एवं उत्पादनमा वृद्धि होस् ।
यति मात्र कहाँ हो र ? बालीनालीलाई जङ्गली जनावरहरू एवं छाडा गाईवस्तुहरूबाट बचाउनका लागि पनि खेतबारीको चारैतिर जालीको रूपमा प्लास्टिकको उपयोग गरिन्छ । यसरी हेर्ने हो भने कृषिका लागि प्लास्टिकको प्रयोग सहयोगी नै जस्तो देखिन्छ तर जब यसबाट उत्पन्न हुने फोहोरमैलालाई उचित तरिकाले विसर्जन वा व्यवस्थापन गरिँदैन, यसले एउटा विशाल समस्या सिर्जना गर्छ, जुन मानवीय स्वास्थ्य एवं वातावरण तथा समग्र पर्यावरणसम्मलाई जोखिममा पार्न सक्ने रहेछ ।

अनुमानअनुसार प्रत्येक वर्ष करोडौँ टन प्लास्टिक बिनाविसर्जन र बिनाव्यवस्थापन त्यतिकै समुद्र एवं धर्तीमा फ्याँकिन्छ, जुन साना टुक्रा माइक्रोप्लास्टिकका रूपमा टुटेर हावाको माध्यमबाट समुद्रहरू एवं खेतबारीमा पुग्छ । यदि सन् २०१८ को तथ्याङ्कलाई हेर्ने हो भने प्रतिवर्ष करिब ३५ दशमलब ९ करोड टन प्लास्टिक उत्पादन भइरहेको छ । यी माइक्रोप्लास्टिक हाम्रो सास, पिउने पानी एवं भोजनको माध्यमबाट हाम्रो शरीरमा पुगिरहेका छन् र क्षति पु¥याउँदै छन् ।

हालसालै ‘इन्भाइरोमेन्टल इन्टरनेसनल जर्नल’मा प्रकाशित एक अध्ययनअनुसार पहिलो पटक नजन्मिँदैका शिशुहरूको गर्भनालमा अवस्थित माइक्रोप्लास्टिकका बारे थाहा भएको छ, जुन एउटा ठूलो चिन्ताको विषय भएको छ । यस्तै खाले अन्य अनुसन्धानअनुसार माइक्रोप्लास्टिकले शरीरको कोशीय कार्य प्रणालीलाई प्रभावित गर्न सक्नेछ ।

अनुसन्धानकर्ताहरूका अनुसार एक पटक जब माइक्रोप्लास्टिक सास वा अन्य तरिकाले शरीरमा पुग्छ भने केही दिनमा नै फोक्सोका कोशिकाहरूको मेटाबोलिज्म एवं विकासमा असर पुर्‍याउन सक्छ एवं सुस्त बनाउन सक्छ । साथै, त्यसको आधारमा परिवर्तन गराउन पनि सक्छ ।

समाधान के त ?

संयुक्त राष्ट्रसङ्घीय नियोगहरूका अनुसार हालसम्म प्लास्टिक सम्बन्धमा गरिएका धेरैजसो अध्ययन समुद्रहरूमा केन्द्रित छन् तर विश्वमा कृषिसँग सम्बन्धित ९३ प्रतिशत गतिविधिहरू जमिनमा हुने गर्छन् । यसैले यस क्षेत्रमा अझ बढी अध्ययन, अनुसन्धान हुनु आवश्यक छ ।

खाद्य कृषि सङ्गठनका अनुसार उचित विकल्पहरूको अभावमा प्लास्टिकको प्रयोग पूरै बन्द गर्नु लगभग असम्भव छ । यस्तोमा प्रतिवेदनमा यसको बढ्दो जोखिमबाट बच्न विभिन्न धेरैखाले समाधान प्रस्तुत गरिएको छ, जसमा यसको उपयोग गर्नुदेखि लिएर यसबाट बनेका उत्पादनहरूको पुनः उपयोग गर्ने एवं बिग्रेपछि पुनर्चक्रीकरण गर्नेजस्ता उपाय उल्लेख छन् ।

साथै, खाद्य शृङ्खलामा प्लास्टिकको उपयोगलाई लिएर स्वेच्छिक स्तरमा एउटा व्यापक आचारसंहिता बनाउनुपर्ने एवं लागू गर्नुपर्ने हुन्छ । यति मात्र होइन, प्लास्टिकका सूक्ष्म कणहरूबाट जनस्वास्थ्यमा पर्ने प्रभावहरूबारे बुझ्नका लागि अझ बढी अध्ययन, अनुसन्धान गर्नुपर्ने नितान्त आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्