प्रहरी समायोजन नगरिए मधेस सरकारले आन्दोलन गर्ने



जनकपुरधाम । प्रहरी समायोजनका लागि संघीय सरकार गम्भिरता नदेखाए मधेस प्रदेश सरकारले चरणबद्ध आन्दोलन गर्ने तयारी गरेको छ । प्रहरी समायोजनको विषयमा संघ सरकार आलटाल गर्दै आईरहेको भन्दै प्रदेश सरकारले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो ।

मधेस प्रदेशका गृह तथा संचार मन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीसहित राजनीतिक दलका शिर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाएपनि गम्भिरता नदेखाएको आरोप लगाए ।

उनले भने ‘आफुहरुले प्रधानमन्त्री शेरबहादुर देउवा ,गृह मन्त्री बालकृष्ण खांड सहित गठबन्धनका नेताहरुलाई ज्ञापन बुझाई सकेका छौँ तर प्रहरी समायोजनको सवालमा कोही गम्भिर छैनन् ।’

प्रहरी बिना शान्ति सुरक्षा कायम गर्न सम्भव नरहेको बताउँदै मन्त्री साहले समायोजनका लागि संघर्ष एक मात्र विकल्प बाँकी रहेको बताए । उनले साउन २२ गते प्रदेशमा रहेको सबै दलका प्रदेश सभा सदस्य सहित मन्त्रीहरुको उपस्थितिमा प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाउने निर्णय गरिएको बताए ।

साहले सात दिने अल्टिमेटम सहित दिइने ज्ञापन पछि पनि सरकार प्रहरी समायेजन नगरे संर्घषका थप कार्यक्रहरु सार्वजनिक गरिने जानकारी दिए । प्रदेशका सबै राजनितिक दलहरुको बैठकबाट नै यस्तो निर्णय गरिएको बताउँदै मन्त्री साहले आफुहरुको आन्दोलनमा प्रदेशका हरेक राजनितिक दलको समर्थन र सहयोग रहेको दावी गरे ।

मन्त्री साहले संघियताको जननी नै मधेस प्रदेश रहेकाले आफुहरुले प्रहरी समायोजनाका लागि पनि संर्घषको नेतृत्व गरिरहेको बताए । मधेस प्रदेश सरकारको अगुवाईमा गत असार २३ गते ६ वटा प्रदेशका गृहमन्त्रीहरुको भेला गरेर प्रहरी समायोजन ऐन र प्रहरी समन्वय सम्बन्धी ऐनलाई आधार बनाएर संघीय सरकारले आगामी साउन भित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्