प्रधानमन्त्रीको प्राथमिकतामा छैन आफ्नै पार्टी



काठमाडौं : नेकपाको ४५ सदस्यीय स्थायी समिति छ । ढिलोमा तीन महिनाभित्र बैठक बस्नु पर्ने व्यवस्था विधानमा छ ।

पार्टी स्थायी समितिको बैठक २१ असारमा बसेको थियो । त्यसयता चार महिनामा पाँच पटक बैठक स्थगित भएका छन् । 

दुई पार्टीबीचको एकीककरण हस्ताक्षर गर्ने प्रयोजनका लागि १० जेठमा केन्द्रीय सदस्यहरुको भेला बोलाइएको थियो । तर, त्यसमा कुनै छलफल भएन ।

केन्द्रीय कमिटिमा ४४१ सदस्य भए पनि उनीहरुले कुनैपनि विषयमा बैठकमा छलफल गर्न पाएका छैनन् ।

नेकपाको विधानमा केन्द्रीय कमिटिको एकतिहाइ सदस्य रहने गरी पोलिटव्यूरो गठन गर्ने भनिएको छ । यो हिसावले १४७ जनाको पोलिटव्युरो गठन हुनसक्छ । तर, प्रदेश र जिल्ला कमिटी गठनमै विवादमा परेको नेतृत्वले पोलिटव्यूरो बनाउन सकेको छैन ।

प्रधानमन्त्री केपी ओलीले महिनामा दुईपटक पार्टी कार्यालय जाने र नेता कार्यकर्तासँग कम्तीमा दुई घन्टा छलफल गर्ने घोषणा गरेका थिए । तर १ साउनमा पार्टी कार्यालय धुम्बाराही पुगेपछि ओली पार्टी कार्यालय गएका छैनन् ।

प्रधानमन्त्री मात्र होइन, मन्त्रीहरु पनि पार्टी कार्यालय जाँदैनन् । पार्टीमा सरकारको समीक्षा नभएको चार महिना भइसकेको छ ।

नेकपाका बरिष्ठ नेता झलनाथ खनालले तीनै तहका सरकार ठिक ढंगले नचलेको भन्दै आलोचना गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्