हिल्साबासीको पीडा : नेपाली भूमि, चिनियाँ सिमकार्ड



सिमकोट : चीनसँग सीमा जोडिएको हुम्ला जिल्लाको उत्तरी नाका हिल्सा क्षेत्रमा चिनियाँ मोबाइल नम्बरबाट हुम्लाबासीले टेलिफोन सुविधा पाएका छन् । नेपाल टेलिकमले नारा लेकमा टावर स्थापना गर्ने कार्यक्रम रहे पनि प्राविधिक कारणले अहिलेसम्म स्थापना गर्न नसकेकाले यस्तो परिस्थिति आएको हो ।

हिल्सामा हालसम्म नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन नहुँदा हिल्सामा रहेका कर्मचारी, व्यापारी र स्थानीय चिनियाँ सिम प्रयोग गर्न बाध्य भएको होटेल मानसरोवरकी पेमा लामाले बताउनुभयो ।

अहिलेको जमानामा हाम्रो देशको मोबाइल नेटवर्क नभए पनि चिनियाँ सिमबाट भए पनि आफन्त तथा अन्य काम परेका बेला सम्पर्क भैरहेको र यसले हिल्साको सञ्चारको आवश्यकता पूर्ति गरेको उहाँ बताउनुहुन्छ ।

हिल्सामा कुल ८० घरधुरीले यस्ता सिम प्रयोग गरिरहेको सीमा प्रहरी पोष्ट हिल्साका प्रहरी सहायक निरिक्षक दलबहादुर श्रेष्ठले बताउनुभयो । प्रहरीले पनि आफ्ना सेटले काम नगरेको बेला जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रयोग भइरहेको छ । प्रहरी, व्यापारी, कर्मचारी र अरु सर्वसाधारणले पनि यसै सिम मार्फत् सम्पर्क गर्ने गरेको उहाँले बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्