लिटरमै ७० रुपैयाँ घट्यो खाने तेल



काठमाडौं । दुई महिनाअघि बजारमा आकासिएको खाने तेलको मूल्य पछिल्लो समय ह्वात्तै घटेको छ। रुस–युक्रेन युद्धको कारण देखाउँदै उद्योगी–व्यापारीले खाने तेलमा उच्च मूल्यवृद्धि गरेका थिए।

२ महिनाको अन्तरालमा खाने तेलमा प्रतलिटर ७० रुपैयाँले घटेको छ। बजारमा खाने तेलको मूल्य घट्दा सर्वसाधारण उपभोक्तालाई भने राहत भएको छ। खानेतेलको मूल्य उच्च वृद्धि हुँदा सर्वसाधारण उपभोक्तालाई भान्सा चलाउन समेत सकस भएको थियो।

नेपाल खुद्रा व्यवसायी सङ्घका महासचिव अमूल तुलाधरले २ महिनाअघि रुस र युक्रेनबीच युद्धको बहाना बनाएर उद्योगीहरूले खानेतेलमा उच्च मूल्यवृद्धि गरेको भन्दै अहिले खाने तेल भारत निर्यात हुन बन्द भएपछि ह्वात्तै मूल्य घटेको बताए। यसअघि पनि बजारमा तेलको भाउ बढ्नुपर्ने कुनै कारण नभएको उनको दाबी छ।

‘तेल उद्योगीहरूले रुस र युक्रेनबीच भएको युद्धको बहानामा मनपरी मूल्यवृद्धि गरेका हुन्। अहिले भारत निर्यात बन्द हुँदा खपत घटेपछि स्वदेशी बजारमा खानेतेल सस्तो बनाएको मात्र हो’, उनले भने, ‘यसअघि पनि तेलको मूल्य वृद्धि हुनुपर्ने कुनै कारण थिएन ।’

उद्योगीले उपभोक्तालाई मर्कामा पर्ने गरी आफूखुसी मूल्यवृद्धि गरेको उनी बताउँछन् । उनले खाने तेलको मूल्य अझै घट्न सक्ने जानकारी दिए । पछिल्लो समय ढुवानी भाडा पनि घटेको हुँदा अन्य खाद्य वस्तुको मूल्य पनि घटेको उनले बताए । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार जेठ महिनाको तेलको मूल्य र १५ साउन सम्मको तथ्याङ्क हेर्दा भटमासको तेलमा प्रतिलिटर ७० रुपैयाँ घटेको छ। १५ जेठमा भटमास तेल प्रतिलिटर ३३५ रुपैयाँमा कारोबार भएको थियो।

अहिले घटेर २६५ रुपैयाँ लिटर पुगेको छ। यसैगरी सनफ्लावर तेलमा पनि प्रतिलिटर ३५ रुपैयाँले घटेको छ। २ महिनाअघि सनफ्लावर तेलको मूल्य प्रतिलिटर ३३० रुपैयाँ पुगेको थियो । अहिले प्रतिलिटर २९५ रुपैयाँमा कारोबार भइरहेको छ।

सङ्घको तथ्याङ्कअनुसार तोरी तेलको मूल्य भने सामान्य मात्र घटेको छ। भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर १० रुपैयाँ मात्र घटेको छ भने काँचो तोरीको तेल प्रतिलिटर ५ रुपैयाँ मात्र घटेको छ।

१५ जेठमा भुटेको तोरीको तेल प्रतिलिटर ४१० रुपैयाँ थियो भने अहिले प्रतिलिटर १० रुपैयाँ घटेर ४०० रुपैयाँ पुगेको छ। यस्तै १५ जेठमा काँचो तोरीको तेल प्रतिलिटर ३८० रुपैयाँ थियो भने अहिले प्रतिलिटर ५ रुपैयाँ घटेर ३७५ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्